७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

महिलामैत्री छैन रंगशाला

मोरङ – नेपालको फुटबल इतिहासमा पूर्व क्षेत्रको महत्त्वपूर्ण योगदान  रहेको छ। नेपालबाट आधिकारिक रूपमा पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल ‘म्याच’ खेल्न जाने अधिकांश खेलाडी पूर्व क्षेत्रकै थिए।

त्यसमा पनि विराटनगरले अग्रणी भूमिका निभाएको थियो। पहिलो टिमका कप्तानदेखि अधिकतर खेलाडी विराटनगरकै थिए। ६७ वर्षअघि (सन् १९५१) फुटबल खेलको विकासका लागि स्थापित  भएको थियो अखिल नेपाल फुटबल संघ (एन्फा)। 

तर, नेपालमा स्थापना भएको २१ पछि (सन् १९७२)मा ‘फेडे«सन इन्टरनेसनल डे’ फुटबल एसोशिएसन (फिफा)ले अन्तर्राष्ट्रिय स्तरको मान्यता एन्फालाई दिएको थियो। नेपाली फुटबलको इतिहास बोकेको विराटनगरले पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता गर्ने मौका पाएको छ। 

विराटनगरस्थित सहिद रंगशालामा ५औं साफ महिला फुटबल च्याम्पियनसिप फागुन २८ गतेदेखि हुँदैछ। 
विराटनगर हरेक क्षेत्रबाट चर्चित मात्र होइन यसले सबै क्षेत्रको इतिहास बोक्दै अघि बढेको ठाउँ हो। यहाँबाट राजनीतिक क्रान्तिको सुरुवात मात्र होइन, देशकै पहिलो उद्योग, सञ्चारको ऐतिहासिक थलोसमेत हो। सबै क्षेत्रको इतिहास बोकेको विराटनगरले जुन गतिमा विकास पाउनुपर्ने हो, त्यो गति भने शून्य नै रहेको छ। न त विराटनगरले राजनीतिक मै अगाडि रह्यो, न त खेलकुदमै अघि रहेको छ। 

तथापि पनि विराटनगरले देशको सबैभन्दा बढी प्रधानमन्त्री र मन्त्री पनि न त खेलकुदको विकास नै गर्न सके, न त अन्य क्षेत्रको जुन गतिमा विकास हुनपर्ने हो त्यो नै गर्न सके नेताहरूले। पूर्व अर्थात् झापा, मोरङ र सुनसरी सबै खेलको अहिलेसम्मकै उर्वर क्षेत्र हो। यस क्षेत्रमा कुनै खेलको पूर्ण रूपको भौतिक संरचना, पर्याप्त प्रशिक्षक र खेलाडीलाई प्रोत्साहनका पूर्णकालीन ठोस योजना नहुँदा पछिल्लो समय खेलाडीको खडेरी पर्न थालेको छ।

सरकारले न त यस क्षेत्रको खेलकुद विकास गर्न सक्यो, न  खेलको विकास गर्ने भनेर खुलेका संघसंस्थाले नै विकास गर्ने चासो नदिँदा अहिले नयाँ खेलाडी उत्पादन हुन छाडेका छन् भने भएका केही खेलाडी कामको खोजीमा विदेशिनु परेको छ। 
अहिलेसम्मको सबै खेलको तथ्यांक हेर्न हो भने सबैभन्दा बढी खेलाडी पूर्वकै रहेको पाइन्छ। पछिल्लो समय यस क्षेत्रमा कुनै ठूलो प्रतियोगिता नहुने र पर्याप्त प्रशिक्षक नहुँदा नयाँ खेलाडी आउने क्रम घटेको छ।

सरकार र खेलको विकास गर्ने जिम्मा लिँदै खुलेको संघसंस्थाले खेलको विकास खाल्डो अर्थात् उपत्यकाभित्र सीमित पारे। उनीहरूले देश र खेलाडी उत्पादन हुने थलो उपत्यका मात्रै ठानेर त्यहाँ मात्र सबै कुराको चाँजोपाँजो मिलाउँदै अघि बढे। 

नेपालको फुटबल इतिहासमा पहिलो पटक काठमाडौं बाहिर विराटनगरमा फागुन २८ देखि चैत ८ गतेसम्म अन्तर्राष्ट्रिय स्तरको ५औं साफ महिला फुटबल प्रतियोगिता सहिद रंगशालामा हुँदैछ। विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले एन्फासँग विराटनगरमा कुनै पनि अन्तर्राष्ट्रिय स्तरको फुटबल प्रतियोगिता गर्न आग्रह गर्दै आयोजना गर्न दबाब दिँदै आएका थिए।

प्रदेश १ को सरकारले पनि विराटनगरमा ठूलो खेलको आयोजना गर्न खेल संवद्ध संघसंस्थालाई भन्दै आएको थियो। प्रदेश १ सरकार र विराटनगर महानगरपालिकाका पदाधिकारीबीच छलफलपछि यहाँ तत्कालै एउटा अन्तर्राष्ट्रिय स्तरको फुटबल खेल आयोजना गर्ने सहमति भयो। 

महानगरपालिका प्रमुखले एन्फालाई लिखित पत्र पठाउँदै नेपाल हुन लागेको महिला साफ खेल विराटनगरमै गर्ने चाहना, प्रदेश सरकार र महानगरपालिकाको रहेकाले हामी दुवै तहबाट सहयोग गर्छौं भनेका थिए। ‘महानगरले एन्फालाई पत्र पठाउँदै, हामी महिला साफ प्रतियागिता गर्न तयार छौं’, विराटनगर महानगरका प्रमुख पराजुलीले भने, ‘त्यसका लागि के के गर्नुपर्छ सम्पूर्ण सहयोग गर्न महानगरले तयार छ, एन्फाले यहाँ प्रतियोगिताको स्थान तोक्नु प¥यो।’

महानगरपालिको आग्रहअनुसार एन्फाका प्रतिनिधि र एसियन फुटबल कन्फिडेरेसन (एएफसी) का प्रतिनिधिले स्थलगत अवलोकन गरेका थिए। उनीहरूले यहाँको भौतिक संरचना, सुरूक्षालगायत अन्य सम्पूर्ण प्राविधिक कुराको अध्ययन र अवलोकन पश्चात विराटनगरमा साफ आयोजना गर्न अनुमति दिएको हो।

त्यसअघिदेखि नै महानगरपालिकाले फुटबलको विकासका लागि सहिद रंगशाला मर्मत र त्यहाँ अति आवश्यक परिरहेको खेलाडी ‘चेन्जिङ रुम’ बनाउँदै आएको थियो। विराटनगरमा महिला साफ आयोजना गर्ने निश्चित भएपछि महानगरपालिकाले नगरसभाबाट १ करोड रूपैयाँ बजेट पास भएको छ।

‘हामीले छुट्टाएको बजेटबाट त्यहाँ आवश्यक परेका भौतिक संरचना बनाउनका लागि खर्च गर्ने छौं’, विराटनगर महानगरपालिकाका प्रमुख पराजुलीले भने।  त्यसो त प्रदेश सरकारले पनि खेल विकासका लागि बजेट विनियोजन गरेको बताएको छ। खेलकुदको विकास बिनाको अन्य विकास अधुरो हुने भन्दै प्रदेश सरकारले प्रदेशलाई खेलकुदमय बनाउने भएको छ। त्यस अनुरूप प्रदेश सरकारले एन्फासँगको सहकार्यमा विराटनगरमा दुई ठूलो फुटबल प्रतियोगिता आयोजना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ। 

विराटनगरमा हुने साफ महिला फुटबलमा बंगलादेश, नेपाल, भुटान, भारत, श्रीलंका र माल्दिभ्सको सहभागिता रहेको छ। 

पाकिस्तानले सुरुमा सहभागिता जनाउने भने पनि अन्तिम समयमा आएर नखेल्ने बताएपछि आयोजकले पाकिस्तानलाई तालिकाबाट हटाएको छ। २०१६ मा भारतमा हुँदासमेत पाकिस्तान फुटबल एशोसिएसनभित्र आन्तरिक कलहले गर्दा पाकिस्तानले प्रतियोगितामा भाग लिएको थिएन। प्रतियोगिताको समूह ‘क’ मा बंगलादेश, भुटान र नेपाल तथा समूह ‘ख’ मा भारत, श्रीलंका र  माल्दिभ्स रहेका छन्।

साफ प्रतियोगिता हुन ८ दिन बाँकी रहँदासमेत प्रदेश १ मा कुनै रौनक देखिएको छैन। महानगरपालिकाको आर्थिक सहयोगमा मैदान, खेलाडीको चेन्जिङ रुम, प्लेयर बक्स धमाधम बनिरहेको छ। 

‘रंगशालाभित्र खेलाडीका लागि बनेको नयाँ चेन्जिङ रुम ३/४ दिनभित्र बनिसक्छ’, जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख देवराज कट्वाले भने, ‘रंगशाला बाहिर रहेको सडक बन्ने क्रम तीव्र रहेको छ। सडकको काम पनि अन्तिम चरणमै रहेकाले केही दिनभित्र कालो पत्र भइसक्छ होला।’

प्रतियोगिता हुन एक साता बाँकी हुँदासमेत तयारी पूर्ण भएको छैन। खेलाडी आवतजावतका लागि पिच सडक, चेन्जिङ रुमलगायतको भौतिक संरचना बनिरहेको छ। महिला साफ प्रतियोगिता आयोजना हुने भए पनि रंगशाला पूर्णरूपमा महिलामैत्री छैन। महिलाको प्रतियोगित हेर्न महिला दर्शक आउने भए पनि उनीहरूका लागि पर्याप्त शौचालयपनि छैन। 
रंगशाला उत्तरपट्टि रहेको दुर्य कोठे शौचालयमा कसरी पूरै रंगशालाका दर्शकले शौच गर्ने हुन्। पुरुष दर्शकका लागि दक्षिण पूर्वपट्टिको कुनामा पुरुषका लागि शौच गर्ने ठाउँ रहेको छ। 

महानगरपालिका र एन्फाबीच पुस १५ गते महिला साफ प्रतियोगिताका लागि आवश्यक भौतिक संरचना तयार पार्ने सम्झौता भएको थियो। उनीहरूबीच प्रतियोगिता हुनु १५ दिन अगाडि सम्पूर्ण भौतिक संरचना तयार पारिसक्ने सम्झौता भए पनि अहिलेसम्म संरचनाले पूर्ण गति पाउन सकेको छैन। 

‘डेढ महिना अघि मात्रै मैदान व्यवस्थापनको जिम्मेवारी पाएका हामीलाई मैदानका बारेमा अनुभव पनि कम थियो’, प्रतियोगिता हुने मैदान बनाइ रहेका फिफा असिस्टेन्ड रेफ्रि मधुसुदन खनालले भने, ‘समय र अनुभव कम हुँदा–हुँदै धेरै मिहिनेत गरेर मैदान तयार गर्न सकियो। जथाभावी प्रयोगले बिग्रिएको मैदानलाई खेल्न योग्य बनायौं।’ 

साफ महिला फुटबल तयारी समितिका संयोजक पंकज नेम्बाङले सम्पूर्ण  तयारी केही दिनभित्र सक्ने बताए।‘हामी २५ गतेभित्र सम्पूर्ण काम सम्पन्न गर्छौं। खेलाडीको चेन्जिङ रुम तयार भइसकेको छ,’ नेम्बाङले भने, ‘हाम्रो रुट अनुसारको सडक पनि २/३ दिनभित्रै पिच भइसक्छ। महिला र पुरुष दर्शकका लागि अलग अलग स्थानमा शौचालय हुन्छ। मैदानको उत्तरीपट्टि रहेको शौचालय महिला र दक्षिणपट्टि रहेको पुरुषले प्रयोग गर्न सक्छन्।’ 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App