२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

डाफिन्सको जितमा एन्जमा नायक

प्रतिस्पर्धा गर्दै क्यामरुनको डाफिन्स र एपिएफ (सेतो)का खेलाडी।  तस्बिर : रोहित राई

धरान – एन्जमा यानिकको दुई गोल मद्दतमा बुधबार एपिएफलाई २–० ले पराजित गर्दै क्यामरुनी क्लब डाफिन्स धरानमा जारी बुढासुब्बा गोल्डकपको सेमिफाइनलमा  प्रवेश गरेको छ। हारपछि  एपिएफ  पहिलो खेलबाटै बाहिरिएको छ। 

एन्जमाले खेलको नवौं मिनेटमा टोलीका लागि पहिलो गोल गरेका थिए। अर्नेल अहन्डाको लामो थ्रो पासमा डी बक्सबाट एपिएफले क्लियर गर्न नसकेको बललाई उनले जाली चुमाएका थिए। खेलको ४९औं मिनेटमै  पाएको बल एक्लै अघि बढाउँदै उनले दोस्रो गोल गरे। खेलको म्यान अफ दी म्याच हुँदै उनले नगद १५ हजार र ट्रफी हात पारे। डाफिन्सले फागुन ३ गते सेमिफाइनलमा नेपाल पुलिस क्लबको सामना गर्नेछ।

शारीरिक रूपमा बलिया क्यामरुनी खेलाडीले सुरुदेखि नै एपिएफको पोस्टमा आक्रमण गरे। खेलको पहिलो मिनेटमै एन्जमा वान भर्सेस वानमा गोल गर्न चुकेका थिए भने १८औं मिनेटमा डिडेर टिनाको प्रहार अकासिएको थियो। ३९औं मिनेटमा यानिक ओवानाले एक्लै बल ल्याएर गरेको प्रहार पोलमा ठोकिएर फर्किएको थियो। एपिएफले खेल अवधिभर थुपै्र अवसर पाएर पनि गोल गर्न सकेन। पहिलो हाफको १४औं मिनेटमा रोमन रसाइलीको क्रसलाई डाफिन्सका डिफेन्स वियिक वियिकले क्लियर गरिदिए। १५औं मिनेटमा रूपबहादुर लामाको प्रहार डाफिन्सका गोलकिपरले समाते भने लगत्तै १७औं मिनेटमा रूपबहादुरकै प्रहार गोलकिपरले मोस्सीले पन्च गरेर बचाए। ३८ औं मिनेटमा महेश लामाले दिएको पास रवि थिङले नभेट्दा अवसर गुम्यो भने इन्जुरी समयमा युवराज खड्काको पासलाई हरि कार्कीले वान भर्सेस वानमा प्रहार गर्दा अकासियो। 

दोस्रो हाफको खेल नियन्त्रणमा लिँदै एपिएफले थुप्रै अवसर पाए पनि गोल गर्न सकेन। खेलको ५४औं मिनेटमा हरि कार्कीले डी बक्सभित्र पाएको बल प्रहार गर्न सकेनन् भने ६९औं मिनेटमा उनको प्रहार गोलकिपरले पन्च गरे। यस्तै, ७६औं मिनेटमा प्रदीप लामाको कर्नरमा राजेन्द्र रावलको फ्रि हेडले पनि पोस्टको दिशा लिएन। ७७औं मिनेटमा डी बक्समा पाएको पास विकु लामाले प्रहार गर्दा डाफिन्सका गोलकिपरले अवरोध गरे। इन्जुरी समयमा पनि विकुको पासमा हरि कार्कीको हेड अकासिएको थियो। 

डाफिन्सका प्रशिक्षक ओरेल इनेमले पहिलो हाफमा कठिन भए पनि दोस्रो हाफमा सहज रूपमा खेल्न सकेको प्रतिक्रिया दिए। ‘पहिलो हाफको २५ मिनेट जति त वार्मअपमै बित्यो, त्यसपछि मात्र हामीले राम्रो खेल्न सक्यौ। खेल जित्यौं, यसैमा खुसी छाैं,’ उनले भने। एपिएफका प्रशिक्षक रत्न महर्जनले खेल राम्रो खेले पनि फिनिसिङ कमजोर भएको बताए। ‘शारीरिक रूपमा अग्ला र बलिया  क्यामरुनी खेलाडी हुँदा उनीहरूलाई लाभ भयो,’ प्रशिक्षक रत्नले थपे, ‘खेलमा हाम्रो नियन्त्रण थियो, तर फिनिसिङ कमजोर भयो, सेट नहुँदै गोल खायाैं।’ बिहिबार पहिलो सेमिफाइनल  आयोजक धरान फुटबल क्लब र लिग उपविजेता संकटा क्लबबीच हुनेछ।

प्रकाशित: २ फाल्गुन २०७५ ०२:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App