काठमाडौं – कोकाकोलाले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)सँग प्रायोजनको साझेदारी गरेको छ।
कोकाकोला विश्वव्यापी रणनीतिक साझेदारका रूपमा ५ वर्षका लागि आइसिसीको आधिकारिक पेय पदार्थ पाटर्नर बनेको कम्पनीले जनाएको छ। कोकाकोलाले त्यस अवधिमा आइसिसी क्रिकेटको विश्वव्यापी सम्पूर्ण गतिविधिमा प्रायोजन गर्नेछ। कोकले २०१९ मा इङ्ल्यान्ड र वेल्समा आयोजना हुने आइसिसी पुरुष विश्वकप, २०२० मा अस्ट्रेलियामा आयोजना हुने पुरुष तथा महिला ट्वान्टी–२० विश्वकप, न्युजिल्यान्ड र भारतमा क्रमशः २०२१ र २०२३ मा आयोजना हुने आइसिसी महिला विश्वकप र आइसिसी पुरुष विश्वकप प्रायोजन गर्नेछ।
कोकाकोलाले उपभोक्तासँग जोडिनका लागि कस्टुमर सेन्ट्रिक पोटफोलियो बनाउँदैे लामो समयदेखि विश्व खेलकुद गतिविधिमा साझेदारी गर्दै आएको छ। कोकले ८० वर्षदेखि ओलम्पिकमा, २५ वर्षदेखि विश्वकप रग्बीमा र ५० वर्षदेखि फिफामा साझेदारी गरेको छ।
नेपालको खेलकुद विकासका लागि कोकाकोलाले एभरेस्ट प्रिमियर लिग, ट्वान्टी–२० क्रिकेट प्रतियोगिता आयोजना गरेको थियो। त्यसबाहेक कोकले विगत १० वर्षदेखि युवा तथा खेलकुद मन्त्रालय र अखिल नेपाल फुटबल एसोसिएसन एन्फासँग सहकार्य गरेर धेरै जिल्लास्तरीय र अन्तरस्कुल फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ।
प्रकाशित: २२ माघ २०७५ ०२:४९ मंगलबार