मेलबर्न – दोस्रो वरीयताका स्पेनिस स्टार राफाइल नाडालले पनि ग्रिकका स्टार स्टेफानोस सितसिपासलाई हराउँदै पाचौं पटक अस्ट्रेलियन ओपनको फाइनलमा स्थान बनाएका छन्। ३२ वर्षे नाडालले २० वर्षे स्टेफानोसविरुद्ध ६–२, ६–४ र ६–० को जित निकालेका थिए। त्यस क्रममा नाडालले १४औं वरीयताका सितसिपासमाथि एक घन्टा ४६ मिनेटमा जित दर्ता गरे।
नाडालले ग्रिकका प्रतिद्वन्द्वीविरुद्ध २८ विनर्स प्रहार गरेका थिए। नाडालले फाइनलमा शीर्ष वरीयताका सर्बियन स्टार नोभाक जोकोभिच र फ्रान्सका लुकास पौइलेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछन्। नाडालले उक्त खेल निकै उत्कृष्ट भएको बताएका थिए। ‘मैले आज राम्रो नै खेलें,’ नाडालले भने, ‘विश्वास छ, आगामी खेलमा पनि सोही किसिमको प्रदर्शन दोहोर्याउनेछु।’
जापानिज स्टार नाओमी ओसाका र चेक रिपब्लिककी पेत्रा केभितोभा वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधिका लागि शनिबार भिड्ने भएका छन्। मेलबर्न पार्कस्थित रोड लाभेर एरिनामा बिहीबार भएको सेमिफाइनलमा चौथो वरीयताकी नाओमीले चेक रिपब्लिककै कारोलिना प्लिसकोभालाई हराउँदै जापानिज स्टार ओसाकाले चेककै पेत्रासँगको भेट पक्का गरेकी हुन्। ओसाकाले सातौं वरीयताकी कारोलिनामाथि ६–२, ४–६ र ६–४ को जित निकालेकी थिइन्। ओसाका आफ्नो करियरको दोस्रो पटक ग्रान्ड स्लामको फाइनलमा पुगेकी हुन्।
गत वर्ष युएस ओपनको फाइनल पुगेकी ओसाकाले २३औं पटक ग्रान्ड स्लाम च्याम्पियन सेरेना विलियम्सलाई हराउँदै पहिलो पटक ग्रान्ड स्लामको उपाधि उचालेकी थिइन्। २१ वर्षे ओसाकाले यस पटक पनि फाइनलको यात्रा तय गर्न कारोलिनामाथि १५ एसेस र ५६ विनर्स प्रहार गरेकी थिइन्। ४०–३० को स्थितिमा फोरह्यान्ड प्रहार गर्दै फाइनलको यात्रा तय गरेकी थिइन्।
जापानिज स्टार नाओमी ओसाका र चेक रिपब्लिककी पेत्रा केभितोभा वर्षको पहिलो ग्रान्ड स्लाम अस्ट्रेलियन ओपनको उपाधिका लागि शनिबार भिड्ने भएका छन्।
जितपछि ओसाकाले दोस्रो सेटमा प्लिसकोभाले सेटमा बराबरी गरेपछि खेलमा दबाब महसुस गरेको बताइन्। ‘मैले उनीसँगै कयौं पटक खेलिसकेको थिएँ,’ ओसाकाले भनिन्,‘ त्यसैले जित्ने केही आशा थियो। त्यहीअनुरूप खेलें र जित निकालें।’ यता, २८ वर्षीया केभितोभा पनि तेस्रो पटक ग्रान्ड स्लामको फाइनलमा पुगेकी छन्। अस्ट्रेलियन ओपनमा भने उनी पहिलो पटक फाइनलमा पुगेकी हुन्।
दुई पटक विम्बल्डन च्याम्पियन केभितोभा सन् २०१६ को डिसेम्बरमा चोरद्वारा चक्कु प्रहार भएपछि भने पहिलो पटक फाइनलमा पुगेकी हुन्। सो आक्रमणमा केभितोभाको औंलामा गहिरो चोट लागेको थियो। फाइनलको यात्रा तय गर्ने क्रममा विश्व नम्बर एक सिमोना हालेपलाई समेत स्तब्ध बनाएकी केभितोभोले चेक रिपब्लिकको उपाधि जित्ने सम्भावनालाई पनि जोगाइराखेकी छिन्।
अर्को सेमिफाइनलमा केभितोभाले गैरवरीयताकी डेनिइली कोलिन्सलाई समेत स्तब्ध बनाइन्। आठौं वरीयताकी २८ वर्षीया केभितोभाले २५ वर्षीया कोलिन्समाथि ७–६(७÷२) र ६–० को जित रचेकी थिइन्। उनले कोलिन्सविरुद्ध जित निकाल्न कयौं पटक फोरह्यान्ड प्रहार गरेकी थिइन्। ‘फाइनलमा स्थान बनाउन सकेकोमा एकदम खुसी छु,’ केभितोभाले भनिन्,‘उपाधि पनि जित्ने मेरो लक्ष्य हुनेछ।’
उपाधि जित्ने खेलाडीले विश्व नम्बर एक सिमोनालाई समेत प्रतिस्थापन गर्नेछ। केभितोभाले अमेरिकी स्टारमाथि जित निकाल्न पहिलो सेटमा ४१ प्रतिशत सर्भिसमा सफलता प्राप्त गरिन्। दोस्रो सेट भने केभितोभाले सहजै आफ्नो पक्षमा बनाउँदा ३२ मिनेट मात्र खर्चिन्।
प्रकाशित: ११ माघ २०७५ ०४:१६ शुक्रबार