काठमाडौं – विराटनगरको सहिद रंगशालामा फागुन २८ गतेबाट हुने पाँचौं साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली महिला राष्ट्रिय टोलीले भारतमा चार राष्ट्र सम्मिलित अभ्यास खेल खेल्ने भएको छ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले भारतले आयोजना गर्न लागेको उक्त प्रतियोगितामा नेपालले सहभागिता जनाउने मंगलबार जानकारी दिएको हो। साफ च्याम्पियनसिप र ओलम्पिक छनोटअन्तर्गत दोस्रो चरणको तयारीस्वरूप भारतले आयोजना गर्न लागेको प्रतियोगितामा नेपाल सहभागी हुन लागेको हो।
भारतको उडिसास्थित भुवेनश्वरमा माघ २४ गतेदेखि प्रतियोगिता सुरु हुँदै छ। प्रतियोगितामा आयोजक भारतसहित नेपाल, म्यानमार र श्रीलंकाले सहभागिता जनाउँदै छन्। साफ र ओलम्पिक छनोटको लक्ष्य राखेर नेपाली राष्ट्रिय महिला टोलीले विगत दुई महिनाबाट अभ्यास गरिरहेको छ।
विराटनगरको सहिद रंगशालामा फागुन २८ गतेबाट पाँचौं साफ च्याम्पियनसिप सुरु हुँदै छ। उपाधिविहीन नेपाल पहिलो पटक घरेलु मैदानमा साफ उपाधि राख्ने लक्ष्यसहित निकै मिहिनेतका साथ अभ्यास गरिरहेको छ। समूह ‘ए’ मा रहेको नेपालको समूहमा पाकिस्तान, बंगलादेश र भुटान छन्।
यसअघि यही संस्करण श्रीलंकामा आयोजना हुने भनिए पनि आयोजकले अन्तिम समयमा आयोजना नगर्ने जनाएको थियो। नेपाल पहिलो पटक घरेलु मैदानमा हुन लागेको प्रतियोगिता जित्ने उद्देश्यमा रहेको छ।
प्रकाशित: ९ माघ २०७५ ०४:३८ बुधबार