७ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

संघले प्रदेशको अधिकार मुठ्ठीमा राख्यो: महामन्त्री थापा

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संघीय सरकारले प्रदेशको अधिकार मुठ्ठीमा कसेर राखेको बताएका छन्। उनले संघीयताको मर्म अनुसार आवश्यक कानुन निर्माण गरेर प्रदेश र स्थानीय तहको अधिकार कार्यान्वयन गर्नुपर्ने बताए।

‘आगामी चैत महिनाभित्र आवश्यक कानुन निर्माण गरेर संघले मुठ्ठीमा कसेर राखेको प्रदेशको अधिकार फुकाउँछौं,’ उनले भने, ‘अहिलेसम्म कागजमा संघीयता लेख्यौं, अधिकार कार्यान्वयन गरेनौं।’ उनले संघीयता नेपालीहरुको छनोट भएको बताए। ‘कार्यान्वयनमा देखिएको कमजोरीको भारी प्रर्णालीलाई दिनुहुन्न,’ उनले भने।

महामन्त्री थापाले जाजरकोट केन्द्रबिन्दु भएर भूकम्प गएको एक वर्ष पुग्न लाग्दा पनि पीडितहरुले दोस्रो किस्ताको रकम नपाएको भन्दै तत्काल घोषित रकम सरकारले उपलब्ध गराउनुपर्ने बताए।

‘कानुन बनाउँदा नागरिकहरलाई अविश्वास गर्‍यौं, त्यसैको परिणाम अहिले भूकम्पपीडितहरुले घर बनाउन दोस्रो किस्ताको रकम पाउनु भएको छैन्,’ उनले भने, ‘कार्यविधिलाई तत्काल संशोधन गरेर भूकम्प पीडितहरुलाई दोस्रो किस्ताको रकम उपलब्ध गराउन सरकारसँग आग्रह गर्दछु।’

थापाले पार्टीका नेता तथा कार्यकर्ताहरुले आफ्नो ९० प्रतिशत समय एक अर्काको विरोध गरेर बिताउने गरेको बताए। ‘आठ लाख सदस्य भएको पार्टीका हामी नेता तथा कार्यकर्ताहरू ९० प्रतिशत समय आफ्नै पार्टीभित्र लडिरहेका छौं,’ उनले भने, ‘यो समय पार्टी निर्माणमा लगाउन सकेको खण्डमा ठूलो उपलब्धि हुन्थ्यो।’

उनले आगामी १० वर्षभित्र कर्णालीलाई विकासका दृष्टिकोणले कहाँसम्म पुर्‍याउने भन्ने स्पष्ट खाका आगामी नीति तथा कार्यक्रममा देखिनुपर्ने बताए। ‘प्रदेश सरकार र कांग्रेसले नेतृत्व गरिरहेका स्थानीय तहहरुले पार्टीको नीति, सिद्धान्त र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ,’ उनले भने, ‘जनतालाई प्रत्यक्ष विकासको अनुभूति हुने गरेर काम गर्नुहोस्, कानुन निर्माणमा आवश्यक सहजीकरण पार्टीले गर्छ।’

प्रकाशित: ७ आश्विन २०८१ १५:४८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App