१७ असार २०८१ सोमबार
image/svg+xml
खेल

एपिएफ सिमरा गोल्डकपको अन्तिम आठमा

तस्बिर : उपेन्द्र/नागरिक

बारा - विशाल मेमोरियल फाउन्डेशन वीरगन्जलाई पराजित गर्दै विभागीय टिम एपिएफ क्लबले सिमरामा जारी रुस्लान दसौं सिमरा गोल्डकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

सिमरा रंगशालामा शुक्रबार भएको खेलमा एपिएफले वीरगञ्जलाई १–० ले पराजित गर्दै प्रतियोगिताको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो। खेलको ३६औं मिनेटमा एपिएफको लागि आशिष लामाले एक गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। सुदीप शिखराकारले डिबक्सभित्र निकालेको क्रसमा आशिषले विपक्षीको जाली चुमाएका थिए।

एपिएफ सामू तालमेल मिलाउन नसकेको वीरगञ्ज खेलको अन्तिम समयमा पाएको केही अवसर गुमाउन पुग्दा प्रतियोगिताबाट बाहिरिन पुग्यो। एपिएफको जितमा निर्णायक गोल गरेका आशिष खेलको म्यान अफ दी म्याच घोषित हुँदै १० हजार नगद प्राप्त गरे।  वीरगञ्जका प्रशिक्षक सुलभजंग राणाले बलियो विभागीय टिमविरुद्ध टिमका युवा खेलाडीले तालमेल मिलाउन नसकेको बताए।

उनले गोल गर्ने अवसरलाई हाम्रो खेलाडीले सदुपयोग गर्न नसक्दा पराजित भएर प्रतियोगिताबाट बाहिरिनुपरेको बताए। उनले एपिएफसँगको खेलमा देखिएको कमी कमजोरिलाई सुधार गरेर अर्को प्रतियोगितमा राम्रो गर्ने बताए।

एपिएफका प्रशिक्षक रत्नकाजी महर्जनले आजको खेलमा धेरै गोलको अन्तरले विजयी हुनुपर्नेमा त्यसअनुसारको खेल नदेखाएको बताए। गोल गर्ने थुप्रै अवसर गुमाउँदा  जितका लागि धेरै संघर्ष गर्नुपरेको बताए।

प्रतियोगिताअन्तर्गत शनिबार सिएमजी संकटा क्लब र सरस्वती युथ क्लबबीच खेल हुनेछ। सात ‘ए’ डिभिजन र तीन मोफसल गरी १० टिमको सहभागीता रहेको प्रतियोगिताको विजेताले ६ लाख र उपविजेताले ३ लाख प्राप्त गर्नेछ।

प्रकाशित: ४ माघ २०७५ १५:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App