५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

अस्ट्रेलियामाथि भारतकाे दबाब

मेलबर्न – कप्तान विराट कोहली र शतक प्रहार गरेका चेतेश्वर पुजाराले तेस्रो विकेटका लागि १ सय ७० रनको साझेदारी गरेपछि बिहीबार भारतले तेस्रो टेस्टमा अस्टेलियामाथि दबाब बनाएको छ।

दोस्रो दिनको खेल समाप्तिमा अस्ट्रेलिया बिनाविकेट क्षति ८ रन बनाएर खेलिरहेको छ। ओपनर मार्कुस ह्यारिस अविजित ५ र एरोन फिन्च अविजित ३ रनमा खेलिरहेका छन्। अस्ट्रेलियाले अझै पहिलो इनिङमा ४ सय ३५ रनले पछि छ।

यसअघि २१५–२ बाट दोस्रो दिनको खेल सुरु गरेको भारतले थप २ सय २८ रन जोड्दै ४४३–७ मा पहिलो इनिङ समाप्तिको घोषणा गरेको थियो। रवीन्द्र जडेजा ४ रन बनाउँदै आउट भएपछि कप्तान विराट कोहलीले इनिङ समाप्तिको घोषणा गरेका थिए।

पहिलो दिन अविजित ६८ रनमा खेलिरहेका पुजारा थप ३८ रन जोड्दै प्याट कमिङ्सको बलमा बोल्ड भए भने अविजित ४७ रनमा खेलिरहेका कोहली थप ३५ रन जोड्दै मिचेल स्टार्कको बलमा फिन्चबाट क्याच भए। ३ सय १९ बल खेलेका पुजाराले १० चौकाको मद्दतमा १ सय ६ रनको योगदान गर्दा २ सय ४ बलको सामना गरेका कोहलीले ९ चौकाको मद्दतमा ८२ रनको योगदान गरे । पुजाराको जारी शृंंखलामा यो दोस्रो शतक हो।

४ टेस्टको शृंखला १–१ को स्थितिमा छ। पहिलो टेस्ट भारतले जितेको थियो भने दोस्रो टेस्ट अस्ट्रेलियाले जित्दै शृंखलामा फर्किएको थियो। ओपनर हनुमा बिहारी र मयंक अग्रवाल आउट भएपछि पुजारा र कोहलीले भारतीय ब्याटिङ समालेका थिए। त्यस्तै रोहित शर्माले अविजित ६३ रन बनाए।१ सय १४ बल खेलेका रोहितले ५ चौका प्रहार गरे।

अजिन्क्या रहाने भने ३४ रन बनाएको अवस्थामा उपकप्तान नाथन लियोनद्वारा एलबिडब्लु आउट भए। ३८ रन बनाएका ऋषभ पन्त स्टार्कको बलमा ख्वाजाद्वारा क्याच भए।

प्रकाशित: १३ पुस २०७५ ००:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App