११ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

क्लोपलाई खुसीयाली महँगो

लन्डन – गत आइतबार इङ्लिस प्रिमियर लिगमा एभर्टनविरुद्धको खेलमा गोल गरेपछिको खुसीयाली लिभरपुलका प्रशिक्षक योर्गान क्लोपलाई महँगो परेको छ। इन्जुरी समयमा लिभरपुलले गोल गर्दै जित निकालेपछि मैदानभित्रै खुसी मनाएका क्लोपलाई इङ्लिस फुटबल संघ (एफए) ले सजाय सुनाएको छ। उनले आगामी बिहीबारसम्म सजायको प्रक्रिया पूरा गर्नुपर्नेछ। 

उक्त खेलमा एभर्टनका गोलकिपर जोर्डन पिकफोर्डले मिस जजमेन्ट गर्दा लिभरपुलका डिभोक ओरिगीले ९६औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई १–० को जित दिलाएका थिए। त्यो गोलसँगै क्लोप खुसी मनाउने क्रममा आफ्ना गोलकिपर एलिसन बेकरनजिकै पुगेका थिए। एन्फिल्ड मैदानमा १–० को जित निकालेपछि उनले माफीसमेत मागेका थिए।

‘खेल लगत्तै मैले एभर्टनका प्रशिक्षकसँग पनि माफी मागेको थिएँ। मेरो चाहना, खेलमा अवरोध पुर्याउनु थिएन। म खेलसँगै आफ्नो कामको पनि सम्मान गर्छु। यद्यपि, मैले गल्ती गरें। त्यसैले सबैमा माफी माग्न चाहन्छु,’ प्रशिक्षक क्लोपले भने,‘जब गोल भयो, के गरौं कसो गरौं भयो। आफूलाई सम्हाल्न सकिनँ। त्यसपछि गोलकिपर एलिसनको अगाडि गएपछि मात्र झस्किएँ।’

यद्यपि, एभर्टनका प्रशिक्षक सिल्भाले भने क्लोपले माफी मागेको नसुनेको दाबी गरेका थिए। सिल्भाले भने, ‘मलाई थाहा छैन। उनले के गरे, कतिसम्म गरे भन्ने।’ संघर्षपूर्ण जितपछि यस सिजनको अपराजित लिभरपुलले १४ खेलमा ३६ अंक बटुल्न सफल भएको थियो। त्यससँगै दोस्रो स्थानको लिभरपुल शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा दुई अंकले मात्र पछाडि परेको छ।

बेल्जियमका अन्तर्राष्ट्रिय खेलाडी ओरिगी सन् २०१७ को मेमा लिभरपुलमा आबद्ध भएपछि संकटमा गोल गर्दै आइरहेका छन्। गत सिजन वुल्फसबर्गबाट लिभरपुल आएका ओरिगीले ७९ खेलमा २२औं गोल पूरा गरिसकेका छन्। 

प्रकाशित: २० मंसिर २०७५ ०४:२७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App