२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

भारतद्वारा शृंखला क्लिन स्विप

चेन्नई – भारतले वेस्ट इन्डिजविरुद्धको तेस्रो ट्वान्टी–२० क्रिकेटमा आइतबार ६ विकेटको जित निकाल्दै शृंखला क्लिन स्विप गरेको छ । चेन्नईमा भएको निकै रोमाञ्चक खेलमा भारतले निर्धारित २० ओभरको अन्तिम बलमा वेस्ट इन्डिजका खेलाडीले गरेको खराब फिल्डिङको फाइदा उठाउँदै जित निकालेको थियो।

निकोलास पुरनको आक्रामक अर्धशतकीय इनिङमा टस जितेको वेस्ट इन्डिजले पूरै ओभर खेल्दै ३ विकेटको क्षतिमा १ सय ८१ रन बनाएको थियो । जबाफमा भारतका लागि शिखर धवन र ऋषभ पन्तले १ सय ३० रनको साझेदारी गर्दै घरेलु टोलीको जितको आधार बनाएका थिए । भारतको खातामा ४५ रन हुँदा टोलीले २ विकेट गुमाइसकेको थियो । इनफर्म ब्याट्सम्यान रोहित शर्मा ४ र केएल राहुल १५ रनमा आउट भएपछि भारतीय पारी धरमराएको थियो।

तर, दोस्रो विकेटका लागि ऋषभ र शिखरले पारी सम्हाले । ऋषभले ५८ रनको पारी खेल्दा ५ चौका र ३ छक्का प्रहार गरे । अन्तिम ओभरको पाँचौँ बलमा आउट भएका ओपनर शिखरले पनि ६२ बलमा ९२ रनको आक्रामक पारी खेले । उनको पारीमा १० चौका र २ छक्का समावेश थियो । ऋषभ र शिखरले जितनजिक पुगेको अवस्थामा समालिएर नखेल्दा अन्तिम ओभरमा भारतले दबाब बेहोरेको थियो।

एक समय भारतलाई जितका लागि ११ बलमा ७ रन मात्र आवश्यक थियो । तर, मनीष र शिखर आउट भएपछि अन्तिम बल बाँकी छँदा भारतलाई जितका लागि १  रन आवश्यक थियो । भारतका ब्याट्सम्यान मनीष पाण्ड्याले प्रहार गरेको सट पिचनजिकमै रहे पनि वेस्ट इन्डिज बलर फाबियन एलेन रनआउट गर्न चुके । अन्तिम ओभरमा ब्याटिङ गर्न आएका मनीषले ६ बलमा अविजित ४ रन बनाए।

‘शिखर र ऋषभले उत्कृष्ट प्रदर्शन गरे पनि अन्तिम समयमा दबाब बेहोर्यौं,’ कप्तान रोहित शर्माले भने ‘यद्यपि, अन्तिम समयको खेलपछि दुवैले राम्रो पाठ सिकेका छन् ।’ वेस्ट इन्डिजका कप्तान कार्लोस ब्राथवेटले प्रतिभावान् युवा खेलाडीले उत्कृष्ट प्रदर्शन गरे पनि जित निकाल्न असम्भव भएको बताए।

वेस्ट इन्डिजका लागि किमो पाउलले २ विकेट तथा ओसान थोमस र फाबियन एलेनले १–१ विकेट निकाले । त्यसअघि पहिलो ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि पुरनले २५ बलमा नटआउट ५३ रनको आक्रामक पारी खेले । उनले आफ्नो पारीमा समान ४–४ चौका र छक्का प्रहार गरे । ड्यारेन ब्राभो पनि ४३ रनमा नटआउट रहे।

उनले ३७ बलमा २–२ चौका र छक्का प्रहार गरे । ओपनरद्वय साई होपले २४  र सिमरन हेटमायरले २६ रन बनाउँदा वेस्ट इन्डिजले विशाल स्कोर खडा गरेको थियो । भारतको बलिङमा युजभेन्द्र चाहलले २ विकेट र वासिङ्टन सुन्दरले एक विकेट लिए पनि अन्य बलर भने महंँगा साबित भए।    

प्रकाशित: २७ कार्तिक २०७५ ००:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App