७ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

काठमाडौं रोयल्सको विजयी सुरुवात, धनगढी ब्लुज १७ रनले पराजित

तस्बिरः उमेश पुन/नागरिक

काठमाडौं – पोखरामा जारी पोखरा प्रिमियर लिग (पिपिएल) अन्तर्गत शनिबारको दोस्रो खेलमा काठमाडौं रोयल्सले धनगढी ब्लुजलाई १७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको छ।

काठमाडौं रोयल्सले दिएको १ सय ८१ रनको लक्ष्य पछ्याएको धनगढी ब्लुज २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६३ रनमा समेटियो। धनगढीका लागि दिपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरेपनि टोलीलाई जित दिलाउन असफल रहे। ऐरीले ४२ बलमा ३ चौंका र ३ छक्का प्रहार गरे। उनी १८.१ ओभरमा बसन्त रेग्मीको बलमा आउट भए। त्यस्तै सन्दीप जोराले २७, पिटर ट्रिगोले १९, सौरभ खनालले १७, सन्दीप सुनारले ११ र दिलिप नाथले १० रनको योगदान दिएका थिए।

काठमाडौंका अमरसिंह रोउटेला, सुसन भारी र बसन्त रेग्मीले २–२ तथा नन्दन यादब र गौरब टोमारले एक–एक विकेट हात पारे। जितसँगै काठमाडौंले महत्वपुर्ण २ अंक जोडेको छ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौं रोयल्सले २० ओभरमा ३ विकेट गुमाउँदै १ सय ८० रनको उच्च योगफल बनाएको थियो। काठमाडौंका लागि गौरब टोमारले उत्कृष्ट ब्याटिङ गरे। उनी शतक बनाउनबाट मात्र ५ रनले चुके। टोमारले ४४ बलमा ४ चौंका र १० छक्का प्रहार गर्दै सर्वाधिक ९५ रन बनाए। उनी १९.३ ओभरमा दिपेन्द्रसिंह ऐरीको बलमा सन्दीप सुनारको हातबाट क्याच आउट भए।

नरेश बुढाऐरले पनि नटआउट ३६ रन जोडे। उनले २४ बलमा २ चौंका र २ छक्का प्रहार गरे। त्यस्तै जयकिशन कोल्सावालाले २५ र अमित श्रेष्ठले १२ रन बनाए। अमरसिंह रोउटेला २ रनमा अभिजित रहे। धनगढीका लागि पिटर ट्रिगो, सागर ढकाल र दिपेन्द्रसिंह ऐरीले एक–एक विकेट लिए। काठमाडौंको नेतृत्व ज्ञानेन्द्र मल्ल र धनगढीको नेतृत्व दिपेन्द्रसिंह ऐरीले गरेका छन्।

प्रकाशित: १० कार्तिक २०७५ १०:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App