धनगढी - भारतको मुम्बईमा धनगढी क्रिकेट एकेडेमी (डिसिए) ले विहिबार मुम्बई पुलिसको १७ वर्षमुनिको टिममाथि १० रनको रोचक जित हात पारेको छ। मुम्बईको जिमखाना खेल मैदानमा टस जितेर ब्याटिङ राजेकोे डिसिएले निर्धारित ४० ओभरको खेलमा आठ विकेट गुमाएर १६५ रन बनाएको थियो। आफ्नो टिमलाई जिताउन डिसिएका रोहन विकले २७ बलमा सर्वाधिक ४२ रन तथा सोनु मण्डलले ३३ रन, कप्तान सुवोध ऐरले २७ रन, राजन लोहनीले छ र सन्दिप आउजीले पाँच रनको योगदान दिए। मुम्बई पुलिसका जेनिथ सर्हदेव, कुश जैन र धनित रावतले समान दुई/दुई विकेट लिए।
एकसय ६६ रनको विजयी लक्ष्य पछ्याउन जवाफी मैदानमा उत्रेको मुम्बई पुलिस टिम ३४ ओभरमा अलआउट हुँदै १५५ रनमा समेटिएको थियो। मुम्बईका आर्यनले सर्वाधिक ५१ रन बनाए पनि आफ्नो टिमलाई हारबाट जोगाउन सकेनन्। त्यस्तै ऋषिभेष मोरेले २६ र अभिषेक यादवले १२ रन बनाए। मुम्बईलाई लक्ष्यमा पुग्नबाट रोक्ने क्रममा डिसिएका विनोद विष्टले सर्वाधिक चार विकेट लिए। कुश मण्डलले तीन, सोनु मण्डल, निशान पन्त र राजन लोहनीले समान एक/एक विकेट लिए। दश दिनका लागि मुम्बई भ्रमणमा रहेको १७ वर्षमुनिको डिसिए टोलीले अझै चार एकदिवसीय मैत्रीपूर्ण खेल खेल्न बाँकी छ। रासस
प्रकाशित: ८ कार्तिक २०७५ १५:३५ बिहीबार