१९ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

‘रोनाल्डोमाथिको आरोप कपोलकल्पित’

मिलान – पोर्चुगलका स्ट्राइकर क्रिस्टियानो रोनाल्डोका वकिलले उनीविरुद्ध लगाइएको बलात्कारका सम्पूर्ण कागजात कपोलकल्पित भएको दाबी गरेका छन् । ३३ वर्षे रोनाल्डोले २००९ मा लास भेगासको एक होटलमा पूर्वमोडल क्याथरिन मायोर्गामाथि बलात्कार गरेको भन्ने आरोपको खण्डन गर्दै आएका छन् ।

मायोर्गाले सो समयमा रोनाल्डोले आफूमाथि होटलमा जबरजस्ती गरेको दाबी गर्दै आएकी छन् । रोनाल्डोका वकिल पिटर क्रिस्टियानसेनले रोनाल्डोमाथि लागेको बलात्कारको मुद्दा आधारहीन भएको भन्दै त्यसको खण्डन गरेका हुन्।

यसअघि रोनाल्डोले जर्मनको डेर स्वेजल साप्ताहिकमा छापिएको आफूमाथि लागेको बलात्कारको आरोप झुटो भएको बताएका थिए भने पिटरले सो पत्रिकाविरुद्ध मानहानिको मुद्दा हाल्ने तयारी भएको बताएका थिए।

‘एक जिम्मेवार साप्ताहिकले भ्रामक र कपोलकल्पित तथ्य उल्लेख गर्दै रोानाल्डोमाथि बलात्कारजस्तो जघन्य आरोप लगाएको छ,’ पिटरले भने, ‘यो सरासर गलत हो ।’ डेर स्वेजलले ३४ वर्षीया मायोर्गाले घटनालगत्तै  लास भेगास प्रहरीमा रोनाल्डोविरुद्ध बलात्कार मुद्दा दर्ता गरेको उल्लेख गरेको थियो।

‘दुई पक्षबीच लेनदेन भएको हो, तर रोनाल्डोले आफ्नो गल्ती स्वीकार गर्दै त्यसलाई लुकाउन सो कार्य गरिएको थिएन ।’
                               –रोनाल्डोका वकिल

बलात्कारको घटना सार्वजनिक नगर्ने सर्तमा २०१० मा २ लाख अमेरिकी डलर दिँदै सम्झौतापत्रमा हस्ताक्षर गर्न लगाएको पूर्वमोडल क्याथरिनले दाबी गर्दै आएकी छिन् । पिटरले २००९ मा लास भेगासमा के भएको भन्नेबारे रोनाल्डो पूर्ण रूपमा जानकार भएको बताएका छन्।

पिटरले रोनाल्डो र मायोर्गाबीच रकम सम्झौता भएको स्वीकार गरे पनि कुनै घटना लुकाउन उक्त सम्झौता नभएको दाबी गरेका हुन् । ‘दुई पक्षबीच लेनदेन भएको हो तर रोनाल्डोले आफ्नो गल्ती स्वीकार गर्दै त्यसलाई लुकाउन सो कार्य गरिएको थिएन,’ पिटरले भने।

यसअघि गत साता खेलकुद सामग्री निर्माता अमेरिकन कम्पनी नाइकले पोर्चुगलका स्टार स्ट्राइकर रोनाल्डोविरुद्ध लागेको बलात्कारको आरोपमा गम्भीर ध्यानाकर्षण भएको जनाएको थियो  । रोनाल्डोविरुद्ध लागेको आरोपको फाइल अमेरिकन प्रहरीले फेरि अनुसन्धानका लागि बाहिर ल्याउँदा इटालियन क्लब युभेन्ट्सको स्टक बजारमा शेयरसमेत पाँच प्रतिशतले घटेको थियो । पोर्चुगलका स्टार रोनाल्डोलगायत विश्व चर्चित खेलाडीलाई अमेरिकन कम्पनी नाइकले प्रायोजन गर्ने सम्झौता गरेको छ।

‘रोनाल्डोविरुद्धको यौन शोषणको मुद्दाले हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ र यस विषयलाई हामीले सूक्ष्म अध्ययन गरिरहेका छौं,’ नाइक कम्पनीका प्रवक्ताले बिहीबार भनेका थिए। खेलकुद पोसाक कम्पनी नाइकले रोनाल्डोसहित दुई बास्केटबलका खेलाडीसँग आजीवन प्रायोजन सम्झौता गरेको फोब्र्स पत्रिकाले जनाएको छ । सम्झौता गर्ने रोनाल्डोबाहेक बास्केटबलका लेब्रोन जेम्स र माइकल जोर्डन रहेका छन्।

यसै सिजन स्पेनिस क्लब रियाल मड्रिडबाट इटालियन क्लब युभेन्ट्समा पुगेका रोनाल्डोले टोलीका लागि उत्कृष्ट खेल्दै जारी च्याम्पियन्स लिगको उपाधि होडमा आफ्नो टोलीलाई बलियो साबित गराउन सफल भएका छन् । इटालियन च्याम्पियन युभेन्ट्सले १९९६ पछि च्याम्पियन्स लिगको उपाधि जित्न सकेको छैन । उक्त समयमा युभेन्ट्सको स्टक बजारमा १ सय ८० प्रतिशतले शेयरको मूल्य वृद्धि भएको थियो भने रोनाल्डोको यौन काण्डको चर्चा बजारमा आउँदा शुक्रबार मूल्य ह्वातै घटेको थियो। 

रोनाल्डोको मुद्दाबारे युभेन्ट्स टाढै रहे पनि केही समर्थकले भने रोनाल्डोको आलोचना गर्र्दै आएका छन् । बलात्कारको मुद्दालाई बेवास्ता गर्दै युभेन्ट्सले बिहीबार रोनाल्डोले देखाएको व्यावसायिकता र समर्पणलाई सबैले अँगाल्नुपर्छ भन्दै सामाजिक सञ्जाल ट्विटरमा उल्लेख गरेको थियो । साबिकको सिरी ‘ए’ विजेता युभेन्ट्सले ‘आश्चर्यजनक र आधारहीन’ भन्दै गरेको ट्विटको सर्वत्र आलोचना भएको थियो।

युभेन्ट्सजस्तो ठूलो क्लबले बलात्कारजस्तो घटनामाथि रोनाल्डोका बारेमा नबुझी बोल्नु गैरजिम्मेवार भएको एउटा ट्विटमा लेखिएको छ । तर यस आरोपलाई रोनाल्डोले अस्वीकार गर्दै आएका छन् । ‘मविरुद्ध लगाइएको आरोप अस्वीकार्य छ,’ रोनाल्डोले बुधबार ट्विट गरेका थिए । ‘बलात्कार अमानवीय अपराध हो, यस्तो कार्य अपराध हो भन्ने मेरो पनि विश्वास छ । म यसबारे सचेत छु,’ ७५ लाख फलोअर्स रहेको ट्विटमा यस्तो उल्लेख गरेका थिए।

प्रकाशित: २६ आश्विन २०७५ ०५:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App