लन्डन – स्ट्राइकर गारेथ बेलले रियाल मड्रिडको ५ वर्षे बसाइका क्रममा ४ पटक च्याम्पियन्स लिगको उपाधि जितेका छन्। तर १४औं पटक च्याम्पियन्स लिगको उपाधि जित्ने लक्ष्यमा भएको रियालले क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा थप सुधारिएको प्रदर्शन गर्ने बेलको विश्वास छ । रोनाल्डो यसै सिजन रियालबाट इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्समा अनुबन्धन भएका थिए।
रियालले स्पेनिस ला लिगको सुरुआती तीन खेलमा सुखद नतिजा ल्याउँदा टोलीका लागि तीनवटै खेलमा गोल गरेका बेलले शनिबार एथ्लेटिक बिलबाओविरुद्ध इस्कोले बराबरी गोल फर्काउँदा गोलको अवसर र्सिजना गरेका थिए।
‘पक्कै पनि टोलीमा स्टार खेलाडी उपस्थितिले छुट्टै उत्साह दिन्छ,’ बेलले भने, ‘तर यस पटक हामी कुनै एक खेलाडीको प्रदर्शनमा निर्भर हुनुभन्दा पनि टिम भावनामा केन्द्रित छौं।’
गत सिजन तत्कालीन प्रशिक्षक जिनेदिन जिदानले यथेष्ट अवसर नदिएको भन्दै आक्रोशित देखिएका बेलले लिभरपुलविरुद्ध च्याम्पियन्स लिग फाइनलमा वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै टोलीको ३–१ को जितमा २ गोल गर्र्दै आफ्नो क्षमता देखाएका थिए।
यद्यपि पछिल्ला केही वर्षमा च्याम्पियन्स लिगमा रियालले हात पारेका सफलतामा भने रोनाल्डोकै प्रदर्शन निर्णायक बन्दै आएको थियो । रोनाल्डो पछिल्लो ६ सिजन प्रतियोगिताको सर्वाधिक गोलकर्तासमेत हुन् । तर बुधबार च्याम्पियन्स लिगमो पहिलो खेलमा सिरी ‘ए’ टोली एस रोमाको सामना गर्ने तयारीमा रहेको रियालले गत सिजनको भन्दा राम्रो प्रदर्शन गर्ने बेलले बताए।
‘हामी थप राम्रो प्रदर्शन गर्न तयार छौं,’ बेलले भने, ‘अर्का स्टार खेलाडी र अर्को चुनौती । हामी यसका लागि तयार छौं,’ बेलले भने । जिदानसँगको सम्बन्ध सुमधुर नभएपछि बेलले क्लबका धेरैभन्दा धेरै खेल्ने अवसर नपाएमा यसै सिजनको सुरुआतमा क्लब छोड्ने तयारी गरेको खबरसमेत बाहिरिएको थियो।
प्रकाशित: २ आश्विन २०७५ ०४:०१ मंगलबार