१५ असार २०८१ शनिबार
image/svg+xml
खेल

एन्डरसनले तत्काल संन्यास नलिने

लन्डन – इङ्ल्यान्डका तीव्र गतिका बलर जेम्स एन्डरसनले अस्ट्रेलियाका ग्लेन म्याकग्राथको सर्वाधिक टेस्ट विकेट लिने तीव्र गतिका बलरको कीर्तिमान तोडे पनि तत्काल अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिने कुनै योजना नभएको बताएका छन्।

मंगलबार भारतविरुद्धको पाँचाैं टेस्टमा मोहम्मद सामीलाई बोल्ड गर्दै एन्डरसनले म्याकग्राथको नाममा रहेको ५ सय ६३ टेस्ट विकेटको कीर्तिमान तोडेका थिए । यससँगै म्याकग्राथले एन्डरसनलाई टेस्ट क्रिकेटमा ६ सयांै विकेटको कोसेढुङ्गा पार गर्न भनेका थिए । पाँच टेस्टको शृंखला इङ्ल्यान्डले ४–१ ले जितेको थियो।

टेस्ट क्रिकेटमा  ८ सय विकेटका साथ श्रीलंकाका मुथैया मुरलीधरन सर्वाधिक विकेट लिने खेलाडीको सूचीको अग्रस्थानमा छन् भने ७ सय ८ विकेट लिएका अस्ट्रेलियाका शेन वार्न र ६ सय १९ विकेट लिएका भारतका  अनिल कुम्बले क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् । तीनै खेलाडी स्पिनर हुन् । ३६ वर्षे एन्डरसनले आफ्नो व्यक्तिगत कीर्तिमानभन्दा इङ्ल्यान्डलाई पाँचांै टेस्ट जिताउन केन्द्रित भएको बताएका छन्।

‘अन्तर्राष्ट्रिय खेलजीवनमा पूर्णविराम लगाएपछि मात्र व्यक्तिगत कीर्तिमानको अर्थ हुन सक्छ,’ एन्डरसनले भने, ‘तर अहिले म राम्रोभन्दा राम्रो प्रदर्शन गर्दै इङ्ल्यान्डलाई सफलता दिलाउन केन्द्रित छु,’ एन्डरसनले भने।

भारतविरुद्धको पाँचाैं टेस्टसँगै पूर्वकप्तान तथा ओपनर एलेस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरेका थिए । एन्डरसनले एकदिवसीय खेलबाट भने संन्यासको घोषणा गरिसकेका छन्।

‘मैले अहिले संन्यासका बारेमा केही सोचेको छैन । म अहिले इङ्ल्यान्डका आगामी भ्रमण सफल पार्नेमा केन्द्रित छु,’ कहिलेसम्म खेलजीवनलाई निरन्तरता दिनुहुन्छ भन्ने प्रश्नमा एन्डरसनले भने, ‘मैले ग्लेन म्याकग्राथको भनाइ पनि सुनें । उनले २००६ को एसेज शृंखलाअघि संन्यासको कुनै योजना बनाएका थिएनन् । तर शृंखला लगत्तै उनले अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यासको घोषणा गरे । त्यो मसँग पनि हुन सक्छ । कसलाई थाहा छ ? म भविष्यमा भन्दा वर्तमानमा केन्द्रित छु।’

‘एन्डरसनलाई बधाई । एन्डरसन टेस्ट क्रिकेटमा सर्वाधिक टेस्ट विकेट लिने तीव्र गतीका बलर बनेका छन्,’ म्याकग्राथले मंगलबार इन्स्टाग्राममा पोस्ट गर्दै भनेका थिए , ‘एन्डरसनले ६ सय विकेटको कोसेढुङगा पूरा गरे त्यो थप उपलब्धि हुनेछ । त्यसका लागि उनलाई अग्रिम शुभकामना।’

प्रकाशित: २९ भाद्र २०७५ ०४:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App