२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

एसिया कप छनोट : नेपाललाई भारत, पाकिस्तानको समूहमा खेल्ने अवसर

काठमाडौं– पहिलोपटक एकदिवसीय मान्यतापछि नेदरल्याण्ड्सँग भएका दुई खेलको सिरिज एक एकको बराबरीमा टुङ्ग्याउँदै हौसिएको नेपाली राष्ट्रिय क्रिकेट टोली एसिया कप खेल्ने सपना बोकी मलेसिया पुगेको छ। नेपालले एसिया कपको सपना साकार पार्न बुधबार हुने पहिलो खेलमा ओमानको सामना गर्दै छ।

एकदिवसीयको ऐतिहासिक उपलब्धिमा नेपाली टोली एक अर्को ऐतिहासिक उपलब्धी समेत थप्न चाहन्छ, त्यो हो भारत तथा पाकिस्तान सम्मिलित समूहमा पर्दै एसिया कप खेल्नु। यो उपलब्धि प्राप्त गर्न नेपालले बुधवारदेखि मलेसियामा सञ्चालन हुने एसिया कप छनौटको उपाधि हात पार्नुपर्ने हुन्छ। नेपालका लागि एसिया कपमा छनौट हुनु त्यति सहज त छैन तर गाह्रो पनि छैन्। चिरपरिचित प्रतिद्वन्द्वी, दर्जनौ पटक खेलिसकेका मलेसियाका मैदान र एकदिवसीय मान्यताले बढाएको मनोबलले नेपाललाई फाइदा पु-याउने छ। नेपाल एसिया कपमा छनौट हुन सफल भए भारत तथा पाकिस्तान जस्ता ठुला टेष्ट राष्ट्रहरु माझ आफ्नो खेल कला प्रस्तुत गर्न पाउनुका साथै उनीहरुबाट थुप्रै अनुभवहरु समेत संगाल्न पाउनेछ। जसले नेपाली क्रिकेटको स्तर तथा चर्चालाई विश्वभर पु-याउनेछ भन्ने कुरामा दुई मत हुुनै सक्दैन्। 

जबजब कुनै ठुला प्रतियोगिताहरु नजिक आउँछन नेपाली टोली र समर्थकको एउटै कुरा टाउको दुखाई बन्न पुग्छ त्यो हो नेपालको ब्याटिङ। नेपाली ब्याट्सम्यान धेरै समय क्रिजमा टिक्न नसक्दा जित नजिक पुगिसकेका अधिकांश खेलहरु गुमाउन पुग्छ। बलिङको तिखो धारले विपक्षी टोलीलाई ठुलो योगफल जोड्नबाट रोकेपनि ब्याटिङमा समस्या देखिदा नेपाली टोली निराश बन्न पुग्छ। 

सिमित पूर्वाधार, लगानी तथा पर्याप्त बजेट अभाव, घरेलु क्रिकेट प्रतियोगिताको कमी, एक्सपोजरको कमीमा समेत नेपाली टोलीले यत्तिको सफलता प्राप्त गर्नु समेत ठूलै उपलब्धी मान्छन खेल विश्लेषकहरु। 

नेपाल फेरि एउटा त्यस्तै ठूलो प्रतियोगिताको नजिक पुगेको छ। बुधवारबाट मलेसियामा सञ्चालन हुने एसिया कप छनौट प्रतियोगिताको उपाधि हात पार्दै एसिया कपका लागि छनौट भए नेपाली क्रिकेटले एउटा अर्को ठुलो उपलब्धी हात पार्नेछ।  

नेपाली टोलीको प्रदर्शन कस्तो रहला त ?

जगत टमटा (मुख्य प्रशिक्षक नेपाली क्रिकेट टोली)

च्लालेन्ज छ, तर म नेपाली टोलीले एसिया कप खेल्नेमा आशावादी छु। हामीले राम्रो प्रशिक्षण गरेका छौं। केटाहरुले मेहनत गरेका छन्। एसिया कप हाम्रा लागि ठूलो प्रतियोगिता हो। पहिले पनि हामीले विपक्षी टोलीविरुद्ध राम्रो नतिजा निकालेका छौं, फेरि पनि राम्रो नतिजा निकाल्नेछौं। हाम्रा लागि सम्पूर्ण टोलीहरु बराबरी छन्। सबै टोलीले राम्रो अभ्यास गरेका छन्, हामीले सबैसँग राम्रो क्रिकेट खेल्नुपर्छ, कुनै टोलीलाई कमजोर भन्न मिल्दैन। नेपाली टोलीले भारतीय प्रशिक्षक देसाइसँग समेत केही दिन प्रशिक्षण गर्ने मौका पाएकोले यसले टोलीलाई हेल्प गरेको छ। ब्याटिङमा केही समस्या छ, तर अहिले धेरै सुधार भएको छ। सबैमा निखारता आएको छ, टिम गेम हो सबैले राम्रो प्रदर्शन गर्नेछन्।

पारस खड्का (कप्तान) 

एसिया कप छनौट हाम्रा लागि अवसर र चुनौती दुवै हो। बारम्बार यस्ता अवसर प्राप्त हुँदैनन्। हामी यो पाएको मौकालाई गुमाउन चाहँदैनौ।

ज्ञानेन्द्र मल्ल (उपकप्तान)

नेपाली टोली एसिया कपका लागि छनौट हुनेमा विश्वस्त छु। जस्तो हामीले मेहनत गरेका छौं, हौसला पाएका छौं, त्यसले मलाई लाग्छ हामी एसिया कपको समेत नजिक पुगिसकेका छौं। प्रतियोगितामा सहभागी सबै टोली हाम्रा लागि चुनौतिपूर्ण नै रहेका छन् तर हङकङ र युएइले हामीलाई केही बढी चुनौती दिन सक्छ। बलिङ, फिल्डिङ हाम्रो राम्रो नै रहँदै आएको छ, अलि समस्या ब्याटिङमा मा हो, त्यसमा सुधार गरेका छौं, प्रतियोगिताले राम्रो प्रतिफल दिने कुरामा विश्वस्त छु। 

विनोद दास (प्रशिक्षक यु १९ , पूर्व कप्तान नेपाली राष्ट्रिय क्रिकेट टोली) 

नेपालले प्रतियोगिताको उपाधि जित्दै एसिया कपमा छनौट हुनेमा विश्वस्त नै छु हुनुपनि पर्छ। केही समययता टोलीले राम्रो क्रिकेट खेलिरहेको छ। श्रीलंकामा पनि राम्रै प्रदर्शन गरेको छ। सबै टोलीहरु उत्तिकै चुनौतीपूर्ण रहेका छन्। ब्याटिङमा केही कमजोरी छ, त्यसलाई केही सुधार गर्ने हो भने नेपाली टोली एसिया कपमा छनौट हुनेछ। टिम गेम हो क्रिकेटका तिनै पक्षमा ओभर अल ध्यान दिन आवश्यक छ। 

राजन शाह (क्रिकेट विश्लेषक) 

नेपाल एसिया कपमा छनौट हुने कुरामा विश्वस्त छु। किनभने हामीले खेलिसकेका र हामीभन्दा केही कमजोर प्रदर्शन गर्ने राष्ट्रहरु समेत प्रतियोगितामा रहेका छन् जसका विरुद्ध हामीले पहिले पनि राम्रो प्रदर्शन गर्दै आएका छौं। अलिक हामीलाई समस्या पार्न सक्ने टोली भनेको युएई हो, उनका रोहन मुस्तफा राम्रा खेलाडी हुन। तर ब्याटिङमा पछिल्लो पटक खेलाडीहरुले राम्रो प्रदर्शन गरेका छन्, जसले गर्दा हामीले २ सय ४० वा ५० सम्मको लक्ष्य मात्रै पनि दिन सक्यौ भने हामी खेल जित्न सक्छौं। पछिल्लो समय सोमपालले उत्कृष्ट बलिङ गरिरहेका छन्। श्रीलंकामा भएका अभ्यास खेलमा समेत टोलीले राम्रो खेलेको छ। यस्तै सागर पुनले समेत मलेसियामै भएको प्रतियोगितामा आफुले खेलेको टोलीका तर्फबाट उत्कृष्ट ब्याटिङ गरेका छन्। यस्तै दिपेन्द्र, ज्ञानेन्द्र सबै राम्रो लयमा भएकोले समेत टोलीले राम्रो खेल्नेमा विश्वस्त छु। 

नेपाली टोलीले नेदरल्याण्ड्स टुर लगत्तै छोटो समयको प्रशिक्षण नेपालमा गरेको थियो, त्यसपछि टोली गत भाद्र ४ गते थप प्रशिक्षण र ३ अभ्यास खेलका लागि श्रीलंका प्रस्थान गरेको थियो। श्रीलंकामा भएका तिनवटै अभ्यास खेलमा नेपाल विजयी भएको थियो। नेपालले पहिलो अभ्यास खेलमा आर्मी क्रिकेट क्लबलाई ६७ रन, दोस्रो अभ्यास खेलमा ब्लुुमफिल्ड क्रिकेट क्लबलाई १ सय ७६ रन तथा अन्तिम अभ्यास खेलमा कोल्ट्स क्रिकेट क्लबलाई ५ विकेटले पराजित गरेको थियो।

बुधबार ओमान विरुद्ध वायुमास ओभलमा खेल्दै नेपाली टोलीले छनौट प्रतियोगिताको सुरुवात गर्दैछ। 

यस्तो छ ओमान विरुद्धका पछिल्ला ६ खेलको नतिजा 

एसिसी ट्रफी २००२

नेपाल १५३/९ (५० ओभर)
ओमान ४८/१० (३५.३ ओभर)
नेपाल १ सय ५ रनले विजयी

एसिसी ट्रफी एलिट २०१०

ओमान १६९/९ (५० ओभर)
नेपाल १७२/४ (३८.३ ओभर)
नेपाल ६ विकेटले विजयी

आइसिसी वर्ल्ड क्रिकेट लिग डिभिजन ३, २०१३

नेपाल १६०/९ (५० ओभर)
ओमान १३२/१० (४६.४ ओभर)
नेपाल २८ रनले विजयी

एसिसी प्रिमियर लिग २०१४

नेपाल १५७/१० (४५ ओभर)
ओमान १६१/८ (४७.५ ओभर)
ओमान २ विकेटले विजयी

ओमान टुुर अफ युएई (एसोसियट म्याच) २०१५

नेपाल १८४/१० (४९.३ ओभर)
ओमान १८७/७ (४८.१ ओभर)
ओमान ३ विकेटले विजयी

अार्इसिसि डिभिजन २

नेपाल १३८/१० (४६ अाेभर)
अाेमान १३९/४ (३५.१ अाेभर)
अाेमान ६ विकेटले विजयी

यसरी ओमानसँगको पछिल्ला ६ खेलका नतिजा हेर्दा नेपाल र अाेमानले समान ३–३ खेल जितेका छन्, तर पछिल्ला तीन खेलमा ओमानले नेपाललाई पराजित गरेका कारण समेत नेपाल बुधवारको खेलमा ओमान विरुद्ध मैदान उत्रिँदा सचेत हुनुपर्नेछ। पछिल्ला दुवै खेलको नतिजा हेर्दा ब्याटिङमा देखिएको समस्याले नै नेपाली टोली पराजित भएको देखिएको छ। 

नेपालले प्रतियोगिता अन्तर्गत नै भाद्र १४ गते युएई, १६ गते आयोजक मलेसिया, १७ गते सिङ्गापुर तथा समुह चरणको अन्तिम खेल हङकङ विरुद्ध भाद्र १९ गते खेल्नेछ। 

प्रतियोगिताको विजेताले १३ सेम्टेम्बर देखि २८ सम्म युएईमा हुने एसिया कपमा स्थान बनाउनेछ। विजेता टोली भारत र पाकिस्तान रहेको समूह ‘ए’ मा पर्नेछ। 

नेपाली टोलीमा कप्तान खड्कासहित उपकप्तान ज्ञानेन्द्र मल्ल, वसन्त रेग्मी, अनिलकुमार साह, विनोद भण्डारी, दीपेन्द्रसिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, रोहितकुमार पौडेल, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी र सुवास खकुरेल रहेका छन्। वैकल्पिक खेलाडीमा प्रदीप ऐरी, किशोर महतो, सुनील धमला र सुशन भारी छन्।

प्रकाशित: १२ भाद्र २०७५ १४:१९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App