५ आश्विन २०८१ शनिबार
image/svg+xml
खेल

१८ अाैं एसियाड : विकास र नवीनकाे जाेडी प्रि-क्वार्टरफाइनलमा, तेक्वान्दोको चुनौती समाप्त

काठमाडाैं - इन्डाेनेसियामा जारी १८ औँ एसियाड अन्तर्गत ब्याड्मिन्टनको मेन्स डबल्समा नेपालका विकास र नवीन श्रेष्ठको जोडी प्रि-क्वार्टरफाइनल प्रवेश गरेकोे छ। विकास र नवीनको जोडीले मंगोलियाका सुमियासुरेन एनखबाट र तेमुलेन गोम्बुडोजको जोडीलाई राउण्ड अफ ३२ को खेलमा २१–१२, २१–७ ले पराजित गर्दै प्रि-क्वार्टरफाइनल प्रवेश गरेको हो। मिक्स डबल्समा भने नेपालको दुवै जोडी पराजित भएका छन्। नङ्शल र रत्नजित तामाङको जोडी इन्डोनेसियाको जोडीसँग २१–१३, २१–७ ले पराजित भए। 

यस्तै जारी प्रतियोगितामा नेपालको तेक्वान्दोको चुनौती समेत समाप्त भएको छ। १८ औं एसियाडमा पनि तेक्वान्दोको चुनौती समाप्त भएपछि नेपालले तेक्वान्दोबाट लगातार ३ एसियाडमा पदक जित्न सकेन। विहिवार भएको खेलामा ६८ केजी मुनि तौल समूहमा ज्ञानेन्द्र हमाल र ४९ केजी तौल समूहमा अस्मिता खड्का पराजित भएपछि एसियाडमा नेपालको चुनौती सकिएको हो। ज्ञानेन्द्र अन्तिम १६ को खेलमा मलेसियाका रोजाली रोजामीसँग ३०–२ अंकले पराजित भए। त्यसअघि हमालले भुटानका वाङचुक जिम्गेलाई ३९–१७ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेका थिए। यस्तै महिला तर्फ अस्मिता समेत अन्तिम १६ को खेलमा इरानकी कियानीचादेश नहिदसँग ४३–४ अंकले पराजित भइन।

यस्तै आर्चरीको एकल रिकर्भमा नेपालका तिलक पुन मगर प्रि–क्वार्टरफाइनलबाट बाहिरिएका छन्। विहिवार भएको खेलमा नेपालका तिलक चीनका जु तियान्युसँग ४–६ ले पराजित भए। यसअघि तिलकले भुटानका वाङदी लामालाई पराजित गर्दै प्रि-क्वार्टरफाइनलमा प्रवेश गरेका थिए। 

यस्तै पौडीमा नेपालका ओलम्पियन शिरीष गुरुङ १ सय मिटर फ्रिस्टाइलको हिट चरणबाटै बाहिरिएका छन्। विहिवार भएको पुरुष १ सय मिटर फ्रिस्टाइलमा शिरीष पुछारमा रहे। यसअघि शिरीष ५० मिटर फ्रिस्टाइलमा पनि हिट चरणबाट बाहिरिएका थिए। यस्तै महिला ५० मिटर ब्रेस्ट स्टोकतर्फ नेपालकी टिशा शाक्य हिट चरणमै पराजित भइन। 

यसैबीच एसियन गेम्स अन्तर्गत स्क्वासमा नेपालका अरहान्त केशर सिंह पहिलो खेलमै पराजित भएका छन्। आज भएको पुरुष एकल तर्फको खेलमा नेपाल च्याम्पियन अरहान्त पाकिस्तानी खेलाडीसंग ३ – ० को सेटमा पराजित भए। स्क्वासमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। 

एसियन गेम्स अन्तर्गत स्पोर्टस क्लाइम्बिङको पुरुष स्पिडमा नेपालका दुई खेलाडी अन्तिम दुई स्थानमा रहदै प्रतिस्पर्धाबाट बाहिरिएका छन्। विहिवार भएको पुरुष स्पिडको क्वार्टरफाइनलमा नेपालका पेम्बा शेर्पा २६ औं र प्रनिल मान श्रेष्ठ २७ औं स्थानमा रहे। यो स्पर्धामा कुल २७ खेलाडीले प्रतिस्पर्धा गरेका थिए। 

यस्तै नेपालका विवेक कुमार विक पेनकेक सिलातको पहिलो खेलमै पराजित भएका छन्। ६० देखि ६५ केजी समूह अन्तर्गत विहिवार भएको अन्तिम १६ को खेलमा नेपालका विवेक इरानका मोहम्मदसँग ५–० ले पराजित हुनपुगे।

 

प्रकाशित: ७ भाद्र २०७५ ०९:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App