४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
खेल

अभ्यास खेलमा नेपाली युवा टाेली थाइल्याडसँग पराजित

काठमाडौं - इन्डोनेसियाको जकार्ता र पालेम्बाङमा हुने एसियाली खेलकुदको तयारीका लागि थाइल्यान्ड पुगेको नेपाली टोली लगतार दोस्रो अभ्यास खेलमा पराजित भएको छ।

शुक्रबार थाइल्यान्डको बैककस्थित थाम्सामात रंगशालामा भएको खेलमा नेपालले थाइल्यान्डको यु–२३ टोलीलाई ४–० को नतिजा सुम्पिएको हो । साउन २८ देखि १७ सम्म हुने एसियाली खेलकुद तथा भदौ १९ देखि बंगलादेशको ढाकामा हुने साफ च्याम्पियनसिपको तयारीका लागि २९ खेलाडीसहितको नेपाली टोली थाइल्यान्ड पुगेको थियो।

थाइल्यान्डमा दुई अभ्यास खेल तथा विशेष प्रशिक्षणका लागि पुगेको टिमले शुक्रबार दोस्रो अभ्यास खेलमा एसियाली खेलकुद मुखैमा आइसके पनि साफ च्याम्पियनसिपका थुप्रै खेलाडी मैदान उतारेको थियो । एसियाली खेलकुदको टिममा नरहेका सन्तोष तामाङ, देवेन्द्र तामाङ, रविन श्रेष्ठ, नवयुग श्रेष्ठ, सुजल श्रेष्ठ र विराज महर्जनलाई प्रशिक्षक ग्योतोकु कोजीले मैदान उतारेका थिए। 

आधिकारिक अन्तर्राष्ट्रिय खेल नभए पनि सन्तोष तामाङका लागि यो नेपालको राष्ट्रिय जर्सीमा पहिलो खेल हो। 
साफ च्याम्पियनसिपलाई बढि महत्व दिएजस्तो देखिएको अभ्यास खेलमा नेपालले मध्यान्तरअघि १ गोल मात्र खाए पनि थाई टोलीले दोस्रो हाफमा तीन गोल थपेर जितअन्तर फराकिलो पारेको थियो ।  यसअघि मंगलबार सम्पन्न खेलमा नेपाल स्थानीय क्लब पुलिस तेरोसँग १–० ले पराजित भएको थियो।

समयमै भिसा प्रक्रिया पूरा नगरेका कारण पहिलो अभ्यास खेलमा उपस्थित हुन नसकेका गोलकिपर किरण चेम्जोङ शुक्रबारको खेलमा सहभागी भएका थिए । मंगलबार स्थानीय क्लब पुलिस तेरोविरुद्धको पहिलो अभ्यास खेलमा किरण अनुपस्थित रहँदा नेपालको पोष्ट एलेन न्यौपानेको जिम्मामा थियो। 

नेपाली फुटबल टोलीले एसियाली खेलकुदमा साउन २९ गते जापानविरुद्ध खेल्दै प्रतियोगिताको सुरुआत गर्नेछ । नेपाल सम्मिलित समूह ‘डी’ मा जापान, भियतनाम र पाकिस्तान छन् । नेपालले दोस्रो खेल साउन ३१ गते भियतनामविरुद्ध खेल्नेछ भने समूह चरणको अन्तिम खेल भदौ ३ गते पाकिस्तानसँग खेल्नेछ।

थाइल्यान्डको अभ्यासपछि एसियाली खेलकुदको टिममा रहेका २० खेलाडीसहितको टोली उतैबाट इन्डोनेसिया जानेछ । साफ च्याम्पियनसिपको टिममा मात्र रहेका ९ खेलाडी भने नेपाल फर्किनेछन् । साफ च्याम्पियनसिप मात्र खेल्नेमा राष्ट्रिय टोलीका कप्तान विराज महर्जन, गोलपिकर विकेश कुथु, रक्षकद्वय रविन श्रेष्ठ र देवेन्द्र तामाङ, मिडफिल्डर सन्तोष तामाङ र सुजल श्रेष्ठ तथा फरवार्डहरू जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठ थाइल्यान्डबाट काठमाडौं फर्किनेछन्।

एसियाली खेलकुदको टोलीमा रहेका गोलकिपर किरण, एलेन र सोजित गुरुङ, रक्षकहरु अनन्त तामाङ, आदित्य चौधरी, कमल श्रेष्ठ, सुमन अर्याल, दीनेश राजवंशी, रोहित चन्द, हेमन गुरुङ, हेमन्त थापा मगर, गौरव बुढाथोकी, छिरिङ गुरुङ, अञ्जन विष्ट, सुनील बल, विशाल राई, सुमन लामा, अभिशेक रिजाल, तेज तामाङ र विमल घर्तीमगर उतैबाट इन्डोनेसिया जानेछन्। 

रोहित व्यावसायिक फुटबलका लागि इन्डोनेसियामै रहेकाले उनी थाइल्यान्ड भ्रमणमा छैनन् । रोहित इन्डोनेसियामै टिमसँग समावेश हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको छ । यसैगरी चोटका कारण अञ्जन एसियाली खेलकुदअन्तर्गतको खेलमा मैदान छिर्नेमा अन्योल छ। 

एन्फा प्रवक्ता किरण राईले अञ्जन फिट नभएको पुष्टी गर्दै भने, ‘अञ्जनको खुट्टामा भएको खिल निकालिएको थियो । त्यही घाउ पाकेपछि उनको अवस्था अन्योलमा परेको छ । तथापि उनी उतै आराम गरिरहेका छन् । उनी टिमसँगै इन्डोनेसिया पनि जानेछन् । उनको अवस्था हेरेर टिम व्यवस्थापनले खेलाउने÷नखेलाउने निर्णय गर्नेछ।’

भदौ १९ बाट सुरु हुने साफ च्याम्पियनसिपको समूह चरणमा नेपालले आयोजक बंगलादेशसँगै पाकिस्तान र भुटानसँग खेल्नेछ । एसियाली खेलकुदमा २३ वर्षमुनिका खेलाडीहरूले सहभागिता जनाउनेछन् । जहाँ प्रत्येक टिमले तीन सिनियर खेलाडी राख्न पाउने व्यवस्था छ । त्यसअनुसार नेपालले एसियाली खेलकुदको टोलीमा राष्ट्रिय टोलीका गोलकिपर किरण चेमजोङ, मिडफिल्डर रोहित चन्द र विशाल राईलाई समावेश गरेको छ । किरण चेमजोङले कप्तानका रूपमा इन्डोनेसियामा नेपाली टोलीको नेतृत्व गर्नेछन्।  

प्रकाशित: २५ श्रावण २०७५ १२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App