१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

रोनाल्डोको स्थान लिने बेलको संकेत

रोमाविरुद्ध मंगलबार भएको खेलमा रियालका गारेथ बेल (बीच) विपक्षी खेलाडीसँग बल खोस्दै। तस्बिरः एएफपी

लस एन्जल्स – रियाल मड्रिडका स्ट्राइकर गारेथ बेलले क्लबमा क्रिस्टियानो रोनाल्डोको अनुपस्थितिमा उनको जिम्मेवारी लिन आफू तयार रहेको संकेत गरेका छन्।

मंगलबार रियालले एएस रोमालाई २–१ ले पराजित गर्दै सिजनपूर्वको अभ्यास भ्रमणको सुखद अन्त्य गर्दा बेलले टोलीको जितमा एक गोल गरेका थिए भने अर्काे एक गोलका लागि अवसर सिर्जना गरिदिएका थिए।
न्यु जर्सीस्थित मेट लाइफ रंगशालामा सम्पन्न खेलमा रियालका लागि मार्काे एसेन्सियो र बेलले समान एक गोल गरेका थिए । रोमाका केभिन स्टुर्टम्यानले एक गोल गरे।

यस सिजनका लागि खेलाडी अनुबन्धमा खासै चर्चा नदेखाएको रियाल रोनााल्डोको अनुपस्थितिमा बेल पूर्ण रूपमा लयमा फर्किएको हेर्न चाहन्छ । बेल २०१३ मा टोटेनह्यामबाट विश्वकीर्तिमानी रकममा सान्टियागो बर्नाबेउ भित्रिएका थिए । ३३ वर्षे रोनाल्डो यसै सिजन इटालियन सिरी ‘ए’ क्लब युभेन्ट्समा अनुबन्धित भएका थिए।

यसअघि आइतबार युभेन्ट्समाथि ३–१ को जित हात पार्दा पनि रियालका लागि एसेन्सियोले २ र बेलले १ गोल गरेका थिए । ‘हामीले गोलको लय भेट्टाइरहेका छाैं र खेल पनि जितिरहेका छौं,’बेलले भने, ‘हाम्रो प्रदर्शनमा सुधार भइरहेको छ र यो नयाँ सिजनका लागि राम्रो संकेत हो।’

बेलले टोलीको जितमा एक गोल गरेका थिए भने अर्को एक गोलका लागि अवसर सिर्जना गरिदिएका थिए।  

खेलको दोस्रो मिनेटमै एसेन्सियोले बेलको पासमा गोल गर्दै रियाललाई अग्रता दिलाएका थिए । त्यसको १३ मिनेटपछि बेलले रियालको अग्रता दोब्बर पारेका थिए । बेलले ड्यानी कार्भाहालको पासलाई पोस्टको दिशा दिएका थिए । पहिलो हाफमा आक्रामक देखिएको रियालले दोस्रो हाफमा भने दबाब कायम राख्न सकेन।

खेल सकिन ७ मिनेट बाँकी हुँदा स्टुर्टम्यानले गोल गर्दै रोमालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो पर्याप्त भएन । त्यस्तै सिजनपूर्वको अभ्यासमा आफ्नो उत्कृष्ट प्रदर्शनलाई अन्तिम खेलसम्म निरन्तरता दिने क्रममा लिभरपुलले टोरिनोलाई ३–१ ले पराजित गरेको छ।

लिभरपुलले यसअघि म्यानचेस्टर सिटी, बोरुसिया डर्टमन्ड, म्यानचेस्टर युनाइटेड र रोमालाई पराजित गरेको थियो । लिभरपुलले रोमाविरुद्धको खेलमा यसै सिजन क्लबमा भित्रिएका गोलकिपर एलिसन, मिडफिल्डर नाभी केइटा र फाबियानलाई मैदान प्रवेश गराएको थियो । लिभरपुलले सरुवा बजारमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँगको दूरी कम गर्ने उद्देश्यमा ठूलो धनराशि खर्चेको छ। 

२१औं मिनेटमा रोबर्ट फिर्मिनोले गरेको गोलमा लिभरपुलले अग्रता लिएको थियो । त्यसको तीन मिनेटपछि नै जर्जिनो विज्नाल्डमले गोल गर्दैै लिभरपुलको अग्रता दोब्बर पारेका थिए । ३१औं मिनेटमा आन्द्रिया बेलोटीले गरेको गोलमा टोरिनोले खेलमा फर्कने संकेत गरेको थियो । खेल सकिन ३ मिनेट बाँकी हुँदा ड्यानियल स्टुरिजले गोल गर्दै लिभरपुलको सहज जित पक्का गरेका थिए।

लिभरपुलले आइतबार घरेलु मैदान एन्फिल्डमा वेस्ट ह्यामलाई आतिथ्यता प्रदान गर्दै इङ्लिस प्रिमियर लिगको नयाँ सिजन सुरुआत गर्नेछ । यता चेल्सीले  प्रशिक्षक माउरिसियो सारीको प्रशिक्षणमा पहिलो जित हात पार्ने क्रममा लियोनलाई पेनाल्टी सुटआउटमा ५–४ ले पराजित गरेको छ । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो।

 

प्रकाशित: २४ श्रावण २०७५ ०३:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App