६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

लनटेनिस टोली मलेसियातर्फ

मलेसिया प्रस्थान गर्नुअघि फोटो खिचाउँदै लनटेनिस टोली । तस्बिर सौजन्यः राखेप

काठमाडौं – वैदेशिक प्रशिक्षणका लागि नेपाली लनटेनिस टोली बुधबार मलेसियाको क्वालालम्पुर प्रस्थान गरेको छ ।  इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने सिलसिलामा टोली प्रशिक्षण लिन त्यसतर्फ लागेको  हो।

मलेसिया लनटेनिस संघको एकेडेमीमा नेपाली खेलाडीले प्रशिक्षण गर्नेछन् । त्यसै एकेडेमीमा मलेसियाको लनटेनिस एसियाड टोली पनि प्रशिक्षण गरिरहेकाले नेपाली खेलाडीले उनीहरूसँग अभ्यास खेल खेल्ने नेपाल लन टेनिस संघले जनाएको छ।

पुरुषतर्फ अभिषेक बाँस्तोला, संरक्षकभूषण वज्राचार्य र प्रणव खनालले सहभागिता जनाउँदा महिलामा मायांका राणा, माहिका राणा र एनी माथेमा सहभागी हुँदै छन् । संरक्षक र एनी हाल टोलीमा समावेश छैनन् । संरक्षक अस्ट्रेलियामा अध्ययनका साथै आफ्नो खेललाई निरन्तरता दिइरहेका छन् भने एनी चेकोस्लोभाकियामा प्रशिक्षणरत रहेको टेनिस संघले जनाएको छ । एसियाडमा नेपालले सिंगल्स, डबल्स र मिक्स डबल्समा सहभागिता जनाउनेछ।

नेपालले १९७० को बैंकक एसियाडदेखि लनटेनिसमा सहभागी भएको हो । सहभागिताको यात्रा १९९० मा चीनको बेइजिङ एसियाडसम्म नियमित रह्यो । त्यसपछिका लगातार ४ संस्करण हिरोसिमा, बैंकक, बुसान र दोहा एसियाडमा नेपालले लनटेनिसमा सहभागिता जनाएन । चीनको ग्वान्झाउ एसियाडदेखि भने नेपालको सहभागिता निरन्तर छ।

लनटेनिस टोली अगस्ट १७ मा मलेसियाबाटै पालेम्वाङ जाने तालिका छ । एसियाडअन्तर्गत लनटेनिस अगस्ट १९ देखि २६ तारिखसम्म हुनेछ । टोलीलाई नेपाल टेनिस संघकी अध्यक्षसमेत रहेकी नेपाल ओलम्पिक कमिटीकी उपाध्यक्ष ज्योति राणालगायतले एक कार्यक्रमबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबारै बिदाइ गरे।

 

प्रकाशित: २४ श्रावण २०७५ ०३:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App