२० आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

‘भलाद्मीकाे खेलमा टेम्परिङलाई स्थान छैन’

लन्डन – अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का कार्यकारी प्रमुख अधिकृत डेविड रिचार्डसनले बल टेम्परिङ र खराब व्यवहारले ‘क्रिकेटको डिएनए’ लाई चुनौती दिएको र अस्ट्रेलियाको काण्डले सचेत बनेका समर्थकलाई यस्ता घटना सह्य नहुने बताएका छन्।

वर्षको सुरुमै दक्षिण अफ्रिका र अस्ट्रेलियाबीचको टेस्ट शृंखलामा भएको बल टेम्परिङ घटनालाई उद्धृत गर्दै सोमबार राति लर्ड्समा एमसिसी क्रिकेट क्लबको एक वार्षिक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सिइओ रिचार्डसनले त्यस्तो धारणा राखेका हुन् । खाक्सी प्रयोग गरी बल बिगारेको पाइएपछि अस्ट्रेलियाका कप्तान स्टिभ स्मिथ, उपकप्तान डेविड वार्नर र ब्याट्सम्यान क्यामरून ब्यानक्रफ्टलाई प्रतिबन्ध गरिएको थियो। 

‘इमानदारिता नै क्रिकेटको डिएनए हो । तर, पछिल्लो समयमा नकारात्मक व्यवहारहरू भइरहेका छन् । यसलाई रोक्नु आवश्यक छ । अन्यथा क्रिकेटको साख जोगाउन सकिन्न,’ रिचर्डसनले भने, ‘व्यक्तिगत रूपमा गालीगलौज गर्ने, ब्याट्सम्यान आउट हुँदा फिल्डरहरूले खिसी गर्ने, अनावश्यक शारीरिक टकराव गर्ने, अम्पायरको निर्णयमा प्रभावित गर्न खोज्ने र बल टेम्परिङजस्ता कुरा खेलको भावनाविपरीत हुन् । हामीले विश्वलाई देखाउन चाहेको क्रिकेट खेल त्यस्तो होइन । भलाद्मीको खेलमा त्यस्तै व्यवहार अपेक्षा गरिन्छ । दर्शकहरू क्रिकेटमा इमानदारी र भलाद्मीपना देख्न चाहन्छन्।’

निकै चर्चित बनेको उक्त टेस्ट शृंखलामा आइसिसीले दक्षिण अफ्रिकाका तीव्र गतिका बलर कागिसो राबाडालाई निलम्बन गरिएको थियो । दक्षिण अफ्रिकी बलरले अपिल गरेपछि अस्ट्रेलियाका कप्तान स्मिथलाई धक्का दिएको आरोपमा निलम्बित भएका रावाडाको कारबाही छोट्याइएको थियो । मैदानबाहिर डेविड वार्नर र दक्षिण अफ्रिकाका विकेटकिपर क्विन्टन डी ककबीच भएको धक्काधक्की पनि निकै चर्चित बनेको थियो। 

‘भलाद्मीको खेलमा त्यस्तै व्यवहार अपेक्षा गरिन्छ । दर्शकहरू क्रिकेटमा इमानदारी र भलाद्मीपना देख्न चाहन्छन्।’

यही घटनापछि आइसिसीले आफ्नो नियममा कडाइ गरेको थियो । आइसिसीले गत महिना बल टेम्परिङ गर्नेका लागि प्रतिबन्धको अवधि बढाएको छ भने धम्कीपूर्ण कार्य गर्नेलाई पनि नयाँ नियम बनाइएको रिचार्डसनले बताए । त्यस्तै व्यक्तिगत गालीगलोजमा उत्रनेलाई पनि कारबाही गर्ने आइसिसीले बताएको छ।

‘भर्खरै सम्पन्न अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको टेस्ट शृंखलालाई लिएर विश्वभरबाट आएका प्रतिक्रियाले सबैको आँखा खोलिदिएको छ,’ रिचार्डसनले भने, ‘यसको सन्देश प्रस्ट छ । चिटिङ चिटिङ नै हो र क्रिकेटमा यो सह्य छैन।’

कस्तो अवस्थाको बल ठीक हो भन्ने कुरा स्पष्ट नभएकाले खेलाडीका लागि केही खतरनाक स्थिति रहेको रिचार्डसनले बताए । उनले थपे, ‘बल अवस्था कस्तो हुनुपर्ने भन्ने बारे पछिल्ला समय खेलाडीबाट आएका प्रतिक्रिया मैले पढिरहेको छु । उनीहरूले चुइगम खान, सन्सक्रिम लगाउन, गुलियोमिश्रित पानी खान पाउने÷नपाउनेबारे बारे प्रश्न उठेका छन्।

साँच्चिकै भन्नुपर्दा यो केही खतरापूर्ण छ । नियम सामान्य र प्रस्ट छ, कृत्रिम वस्तु प्रयोग गरेर बलको अवस्था परिवर्तन गर्न पाइन्न । यदि बलमा क्रिम, चुइगम तथा गुलियो पदार्थ लगाउनु बल टेम्परिङ हो । हामीले चुइगम खान तथा क्रिम लगाउनका लागि प्रतिबन्ध लागाउने छैनौं । तर, त्यसबाट गलत काम भए छुट हुनेछैन।’

प्रकाशित: २३ श्रावण २०७५ ००:२४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App