१० मंसिर २०८१ सोमबार
image/svg+xml
खेल

बलियो टोली बनाउने इच्छा

लन्डन – म्यानचेस्टर युनाइटेडका प्रशिक्षक जोजे माउरिन्होले सरुवा बजार बन्द हुुनुअगावै टोली बलियो नबनाए नयाँ सिजन आफूहरूका लागि कठिन हुने बताएका छन्।

सिजनपूर्वको अभ्यासमा निस्किएको युनाइटेडले आशातीत प्रदर्शन गर्न सकेन । माउरिन्होले क्लबमा खेलाडी ल्याउन बारम्बार आग्रह गरे पनि व्यवस्थापनले आलटाल गर्दा उनको र उपाध्यक्ष एड उडवार्डको सम्बन्धमा चिसोपना आएको छ।

माउरिन्होले एक महिनाअघि नै क्लबसमक्ष  टोटेनह्यामका टोवे एल्डरवेड र लेस्टर सिटीका ह्यारी माग्वेरलाई अनुबन्धन  गर्ने प्रस्ताव गरेका थिए।

जारी सिजन ब्राजिलका मिडफिल्डर फ्रेड र रक्षक डियोगो डालोट र गोलकिपर ली ग्रान्ट मात्र ओल्ड ट्राफोर्ड भित्रिएका छन् । युनाइटेडका प्रशिक्षक माउरिन्होका लागि अत्यन्तै निराशाजनक बनेको सरुवा बजारमा प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीसँगको दूरी कम गर्ने उद्देश्यमा लिभरपुलले ठूलो धनराशि खर्चेको छ। 

सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले अन्तत लेस्टर सिटीका रियाद माहरेजलाई क्लबको कीर्तिमानी रकममा भित्र्याउन सफल हुँदा आर्सनलले पनि केही खेलाडीलाई इमिरेट्स ल्याएको छ । तर आर्सनलले आबद्ध गरेकामा ठूलो स्टार नाम भने छैन। 

प्रिमियर लिगका क्लबहरूले गत वर्ष ग्रीष्मकालीन सरुवा बजारमा खेलाडी भित्र्याउन १ अर्ब ४० करोड पाउन्ड खर्च गरेका थिए । दुई वर्षअघि म्यानचेस्टर युनाइटेडले तत्कालीन कीर्तिमानी रकममा युभेन्ट्सबाट मिडफिल्डर पाउल पोग्बालाई भित्र्याएको युनाइटेडका लागि यसपालिको सरुवा बजार त्यति फलदायी हुन सकेन। 

जनवरीमा आर्सनलबाट एलेक्सिस सान्चेजलाई भित्र्याए पनि माउरिन्होको योजना पूरा भएको छैन । प्रिमियर लिगका खेलहरू अगस्ट १० बाट सुरु हुन्छन् भने त्यसको अघिल्लो दिन स्थानीय समयअनुसार दिउँसो ४ बजे सरुवा बजार बन्द हुनेछ ।  सिजनको पहिलो दिन युनाइटेडले लेस्टर सिटीसँग खेल्नेछ। 

‘क्लबका अध्यक्षलाई मेरो चाहना थाहा छ र मसँग त्यो चाहना पूरा हुन्छ वा हुँदैन भन्ने यकिन गर्न अझै केही दिन बाँकी छ,’ आइतबार सिजनपूर्वको अन्तिम अभ्यास खेलमा बायर्न म्युनिखलाई १–० को नतिजा सुम्पिएपछि माउरिन्होले भने, ‘इङ्लिस प्रिमियर लिगमा हामीसँग प्रतिस्पर्धा गर्ने अन्य टोलीले खेलाडी अनुबन्धनमा उल्लेख्य रकम खर्च गर्र्दैै बलियो टोली तयार पारिसकेका छन्।’

‘टोलीको आवश्यकताअनुसार खेलाडी अनुबन्धन नगर्ने हो भने हाम्रा लागि यो सिजन निकै कठिन हुनेमा दुबिधा छैन,’ माउरिन्होले थपे । ५९औं मिनेटमा मार्टिनेजले गरेको गोल बायर्नको जितमा पर्याप्त बन्यो।

विश्वकपका कारण पाउल पोग्बा, रोमेलु लुकाकु र जेसे लिंगार्डजस्ता स्टार खेलाडीको अनुपस्थितिमा माउरिन्होले बायर्नविरुद्ध दोस्रो हाफमा युवा खेलाडी जेम्स ग्रार्नेर, एक्सेल त्वान्जेवे, ताहित चोङ र डिमेट्री मिचेललाई मैदान प्रवेश गराए पनि नतिजा आफ्नो पक्षमा पार्न सकेनन्।

‘अन्ततः कठिन बनेको सिजनपूर्वको अभ्यास भ्रमण समाप्त भयो,’ माउरिन्होले भने, ‘युवा खेलाडी भए पनि सबैले उत्कृष्ट प्रदर्शन गरे । यो भ्रमण विशेष गरी एकेडेमीका खेलाडीहरूका लागि राम्रो अनुभव बन्यो।’
माउरिन्होले क्लबमा खेलाडी ल्याउन बारम्बार आग्रह गरे पनि व्यवस्थापनले आलटाल गर्दा उनको र उपाध्यक्ष एड उडवार्डको सम्बन्धमा चिसोपना आएको छ।

प्रकाशित: २२ श्रावण २०७५ ०४:४७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App