ब्युनस आयर्स – ग्वाटेमाला र कोलम्बियाविरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि अर्जेन्टिनी यु–१७ का प्रशिक्षक लियोनल स्कालोनीले राष्ट्रिय टोली सम्हाल्ने भएका छन्।
अर्जेन्टिनाका पूर्वरक्षक स्कालोनीले यसअघि राष्ट्रिय टोलीका प्रशिक्षक जर्ज साम्पोलीलाई सहायक प्रशिक्षकका रूपमा सहयोग गरेका थिए । रूसमा सम्पन्न विश्वकपमा फ्रान्ससँग अन्तिम १६ को खेलमा टाइब्रेकरमा ४–३ ले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएसँगै साम्पोलीको सम्झौता नवीकरण भएको थिएन । यसले अर्जेन्टिनी टोली प्रशिक्षकविहीन भएको थियो।
‘अर्जेन्टिना फुटबल संघ (एएफए) कार्यकारी समिति बैठकको निर्णयअनुसार सहायक प्रशिक्षक लियोनल स्कालोनीले अर्जेन्टिनी टोलीलाई प्रशिक्षण दिनेछन् । उनलाई पाब्लो आइमार र मार्टिन टोकालीले सहयोग गर्नेछन्,’ अर्जेन्टिना फुटबल संघ (एएफए)ले आफ्नो अनलाइनमा भनेको छ।
एएफएका अध्यक्ष क्लाउडियोले केही दिनभित्र मुख्य प्रशिक्षक नियुक्त गर्ने जनाएका छन् । त्यसका लागि प्रशिक्षक खोजी भइरहेको उनले बताए । २०१४ को विश्वकप फाइलनमा जर्मनीसँग पराजित भएपछि अलिजार्दो साविलाले प्रशिक्षकबाट राजीनामा दिएसँगै अर्जेन्टिनाले चार वर्षको अन्तरालमा ३ प्रशिक्षक परिवर्तन गरिसकेको छ।
गेरार्डो मार्टिनो, एडगार्डो बाउजा र साम्पोलीले यसअघि अर्जेन्टिनी टोली सम्हालेका थिए । यस अवधिमा कुनै पनि प्रशिक्षकले टोलीलाई कुनै पनि उपाधि दिलाउन सकेका थिएनन् । १९९३ पछि अघिल्लो पटक कोपा अमेरिकामा अर्जेन्टिनाले उपाधि खडेरी तोडेको थियो।
दुई पटकको विश्वकप विजेता अर्जेन्टिनाले लस एन्जल्समा सेम्टेम्बर ७ मा ग्वाटेमालासँग मैत्रीपूर्ण खेल खेल्नेछ भने त्यसको चार दिनपछि कोलम्बियासँग न्युजर्सीमा अर्काे खेल खेल्नेछ।
प्रकाशित: २० श्रावण २०७५ ०३:३६ आइतबार