१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

माक्र्वेजद्वारा संन्यासको घोषणा

मेक्सिको सिटी – फिफा विश्वकप इतिहासमै पाँच संस्करणमा सहभागिता जनाउन सफल तीनमध्येका एक खेलाडी राफेल माक्र्वेजले संन्यासको घोषणा गरेका छन्।

२२ सिजनसम्म उच्चस्तरीय फुटबलका सक्रिय मेक्सिकोका रक्षक माक्र्वेजले सामाजिक सञ्जालमार्फत संन्यासको घोषणा गरे । ‘२२ वर्षको फुटबल जीवनमा म पूरा सन्तुष्ट छु । थुप्रै त्याग, मिहिनेत, गल्ती, रोजाइ, नतिजा, निराशा, उत्साहलगायतका धेरै पक्ष मेरो करियरले समेटेको छ।

तर ती सबमा खुसीको पक्ष सबभन्दा बढी र महत्वपूर्ण छ,’ मेक्सिकन टोली म्लब एटलासबाट पछिल्लो पटक व्यावसायिक फुटबल खेलेका माक्र्वेजले लेखेका छन्, ‘लामो समयसम्म मलाई मैदानमा हेर्ने र साथ दिने सबै समर्थकलाई म धन्यवाद दिन चाहन्छु । खेलाडी जीवनमा समर्थकहरू मेरा लागि ऊर्जाको स्रोत थिए, भविष्यमा जे गरे पनि उनीहरूबाट प्रेरित भइरहनेछु।’

रूसमा हालै सम्पन्न विश्वकपमा माक्र्वेज पाँच विश्वकप खेल्ने तेस्रो खेलाडी बनेका थिए । उनीअघि मेक्सिकोकै गोलकिपर एन्टोनियो कार्बाहल र १९९० का विश्वकप विजेता जर्मन स्टार लोथर म्याथुजले पाँच पटक विश्वकप खेलेका थिए।

पहिलो पटक एसियामा विश्वकप आउँदा दक्षिण कोरिया र जापानले संयुक्त रूपमा आयोजना गरेको २००२ को संस्करणबाट विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा माक्र्वेजको सहभागिता यात्रा सुरु भएको थियो । त्यसयता जर्मनीमा २००६, दक्षिण अफ्रिकामा २०१४ र रूसमा यसै वर्ष सम्पन्न सबै विश्वकपमा मेक्सिको छनोट हुँदा माक्र्वेज पनि टिममा स्थान बनाउन सफल भएका थिए । त्यसअघि उनले १९९७ मै मेक्सिकन टोलीबाट डेब्यु गरिसकेका थिए।

‘त्यो दिन मेरा लागि विशेष थियो,’ रूस २०१८ को समूह चरणअन्तर्गत साबिक विजेता जर्मनीविरुद्ध खेल्दै पाँचौं पटक विश्वकप खेल्ने कीर्तिमान कायम गरेको दिन सम्झँदै ३९ वर्षे माक्र्वेजले भने, ‘तर मैले उत्साहका साथ त्यो गौरवमय खेल खेलेँ।’

माक्र्वेजले इतिहास बनाएको उक्त खेलमा उपाधि रक्षाको लक्ष्यमा रूस पुगेको जर्मनीलाई मेक्सिकोले पराजित गरेको थियो । जर्मनीको यात्राको सुरुआतमै मेक्सिकोको तगारो पर्दा साबिक विजेता टोली समूहचरणबाटै घर फर्किएको थियो।

मैदानभित्र सधैं टोलीलाई प्रभावशाली नेतृत्व प्रदान गर्ने माक्र्वेजले सहभागिता जनाएका विश्वकपका सबै पाँच संस्करणमा मेक्सिकोको कप्तानी गरेका थिए । संयोगवश उनी खेलेका सबै संस्करणमा मेक्सिको नकआउट चरण पुग्न सफल भएको थियो।

व्यावसायिक फुटबलमा पनि माक्र्वेजको चम्किलो करियरले बार्सिलोनाबाट चार पटक स्पेनिस ला लिगा, दुई पटक च्याम्पियन्स लिग र एक पटक फिफा क्लब विश्वकप जितेको थियो । यसै गरी उनले मोनाकोबाट लियोन हुँदै मेक्सिकोमा घरेलु लिगको उपाधि जितेका थिए।

प्रकाशित: ९ श्रावण २०७५ ०४:५५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App