१३ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

ओजिलको संन्यासमा विवाद

टर्कीका राष्ट्रपति रेसेप तायिय इर्डोगनसँग गत मेमा फोटो खिताउँदै ओजिल । यही फोटो सार्वजनिक भएपछि विवाद बढेको थियो । फाइल तस्बिरः एपि

बर्लिन – आर्सनलका मिडफिल्डर मेसुट ओजिलले जर्मनीबाट अन्तर्राष्ट्रिय फुटबल नखेल्ने घोषणा गरेपछि सोमबार जातीय विभेदको मुद्दाले बर्लिनमा तातिँदा टर्कीको राजधानी अंकारामा भने उनको निर्णयको स्वागत गरिएको छ।

टर्कीका एक मन्त्रीले ओजिलको संन्यासलाई सामन्तवादी तत्वविरुद्धको गोलु को संज्ञा दिएका छन् । गत मेमा टर्कीका राष्ट्रपति रेसेप तायिप इर्डोगनसँग भेटेको तस्बिर सार्वजनिक भएसँगै जर्मन राष्ट्रिय फुटबल टोलीप्रति ओजिलको इमानदारितामा प्रश्न उठेको थियो । त्यसपछि विवादमा आएका ओजिलको जर्मनीमा चर्को आलोचना भएको थियो।

महिनाैंपछिको शून्यता तोड्दै अन्ततः आइतबार ओजिलले अन्तार्रष्ट्रिय फुटबलबाट बिदा लिने घोषणा गरेका थिए ।
आर्सनलका मिडफिल्डर ओजिलले जर्मन फुटबल संघ (डिएफबी) का अध्यक्ष, प्रायोजक र सञ्चारमाध्यमलाई सम्बोधन गर्दै ४ पेज लामो पत्र लेखेर अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका हुन्।

जर्ननीले २०१४ को विश्वकपको उपाधि जित्दा टोलीका प्रमुख सदस्य रहेका ओजिलले आफूमाथि निरन्तर जातीय दुव्र्यवहार भैरहँदा पनि डिएफबीका अध्यक्ष रेनार्ड ग्रिन्डेलले कुनै प्रतिक्रिया नजनाउँदा आफू निराश भएको उल्लेख गरेका छन्।

‘ग्रिन्डेल र उनका समर्थकको आँखामा जर्मनीले जित्दा म जर्मन खेलाडी भएँ भने टोलीले हार्दा म आप्रवासी भएँ,’ विश्वकपअघि टर्कीका राष्ट्रपति इर्डोगानसँगको भेटको कुनै राजनीतिक उद्देश्यले नभएको भन्दै २९ वर्षे ओजिलले भने, ‘मेरो दुईवटा मुटु छ । एउटा जर्मनीको र अर्को टर्कीको।’

‘मलाई अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको निर्णय लिन निकै कठिन भयो,’ रूस विश्वकपमा जर्मनी समूहचरणबाटै बाहिरिँदा आफूमाथि खराब प्रदर्शन गरेको आरोपप्रति दुःख व्यक्त गर्दै ओजिलले भनेका छन्, ‘अन्तर्राष्ट्रिय फुटबलमा म अब जर्मनीको जर्सीमा देखिन छैन । मैले आफूमाथि जातीय दुव्र्यवहार भएको र आफू अपमानित भएको महसुस गरें।’

ओजिलको निर्णयको इर्डोगान सरकारले स्वागर गरेको छ । ‘म मेसुट ओजिललाई बधाई दिन चाहन्छु । जसले जर्मन राष्ट्रिय फुटबलबाट अलग्गिने निर्णय गरेका छन् । उनको यो निर्णय सामन्तीहरूको मुखमा राम्रो प्रहार हो,’ टर्कीका न्यायमन्त्री अब्दुलाहमिट गुलले ट्विटरमा लेखेका छन्।

तर जर्मनीमा भने ओजिलको संन्यासको निर्णयको मिश्रित प्रतिक्रिया आइरहेको छ । ओजिलको निर्णयलाई सम्मान गर्दै जर्मनीकी चान्सलर एन्जेला मोर्केलले राष्ट्रिय एकतामा खेलकुदको भूमिका ठूलो रहेको जनाएकी छिन्।

‘ओजिलप्रति चान्सलरको उच्च सम्मान छ । उनी उत्कृष्ट फुटबलर हुन् । ओजिलले राष्ट्रिय टोलीका लागि ठूलो योगदान गरेका छन्,’ मोर्केलकी प्रवक्ता उलरिक डिमरले भनिन्, ‘अहिले उनले लिएको निर्णयलाई सम्मान गर्नुपर्छ ।’

‘ओजिलले जर्मनीको राष्ट्रिय टोली छोड्नु राम्रो संकेत होइन,’ जर्मनीका न्यायमन्त्री कटरिन बार्लेले ट्विट् गरेकी छिन्, ‘उनको निर्णयले जर्मन फुटबल संघले एक खेलाडीमाथि गरेको अमानवीय व्यवहार प्रस्ट पार्छ।’

१९९८ मा तत्कालीन पश्चिम जर्मनीको गेलसेनकिर्चेनमा जन्मिएका ओजिल २००६ मा जर्मनी यु–१९ टोलीमा छनोट भएका थिए । २००९ फेब्रुअरी ११ मा नर्वेविरुद्धको मैत्रीपूर्ण खेलबाट जर्मनीको सिनियर टोलीबाट डेब्यु गरेका ओजिलले राष्ट्रिय टोलीबाट ९२ खेलमा २३ गोल गरेका थिए । डिएफबीले हालसम्म ओजिलको निर्णय र उनको आरोपबारे केही प्रतिक्रिया जनाएको छैन।

‘तिमीसँग राष्ट्रिय टोलीमा बिताएका समय साँच्चै अविस्मरणीय थियो,’ जर्मनीका रक्षक जियोर्मी बोयटाङले ट्विट गरेका छन् । जर्मनीमा ३ लाख टर्किस मूलका नागरिक बसोबास गर्छन्।

 

प्रकाशित: ८ श्रावण २०७५ ०४:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App