१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

विश्वकप फुटबलको उपाधि फ्रान्सलाई, क्रोएसिया ४–२ ले स्तब्ध

मस्को – अर्जेन्टिनाका रेफ्री पिटाना नेस्टोरले खेल सकिएको जनाउ के दिएका थिए, फ्रान्सका खेलाडीहरू कर्नरमा गाडिएको झन्डामा थुप्रिए । बेन्चमा बसेका वैकल्पिक खेलाडीहरू एकाएक गायब भए । राष्ट्रिय झन्डा लिएर दर्शक दीर्घासम्म पुगे । आखिर उनीहरूलाई रोक्न सक्ने कसले ? विश्वकपको उपाधि जो जितेका थिए। 

फ्रान्सले क्रोएसियालाई ४–२ ले हराउँदै दोस्रो पटक विश्वकपको उपाधि उचाल्यो । डिडियर डेसच्याम्पको टोलीले यसअघि १९९८ मा घरमै सम्पन्न विश्वकपको उपाधि जितेको थियो । त्यति बेला डेसच्याम्प फ्रान्सका कप्तान थिए भने रूसमा उनी प्रशिक्षकको भूमिकामा टोलीको नेतृत्व सम्हालेका थिए । खेलाडी र प्रशिक्षकका रूपमा विश्वकपको उपाधि जित्ने डेसच्याम्प तेस्रो व्यक्ति हुन् । यसअघि ब्राजिलका कार्लोस अल्बर्टो परेरा र जर्मनीका  फ्रान्ज बेकेनबाउरले खेलाडी र प्रशिक्षकका रूपमा विश्वकपको उपाधि उचालेका थिए। 

‘यो सुन्दर उपलब्धि हो,’ फ्रान्सका प्रशिक्षक डेसच्याम्पले भने, ‘यो टोलीबाट म साँच्चिकै खुसी छु । यो यात्रा सहज थिएन । तर यिनीहरूले धेरै मिहिनेत गरे । कम्तीमा अबको चार वर्ष हामी विश्वविजेता बन्नेछौं।’

मारियो मान्डजुकिचको आत्मघाती गोलमा फ्रान्सले १८औं मिनेटमा अग्रता लियो । एन्टोनी ग्रिजम्यानले हानेको फ्रिकिक क्लियर गर्ने क्रममाा मान्डजुकिचको हेड बल आफ्नै पोस्टमा गोल भएको थियो । तर त्यसको दश मिनेट बित्न नपाउँदै इभान पेरिसिचले बराबरी गोल फर्काए । ३८औं मिनेटमा ग्रिजम्यानले पेनाल्टीमा गोल गर्दै फ्रान्सलाई पुनः अग्रता दिए । ग्रिजम्यानले हानेको कर्नरमा क्रोएसियाका पेरिसिचले हातले बल छोएपछि फ्रान्सले पेनाल्टी पाएको थियो । सुरुमा रेफ्रीले पेनाल्टीको निर्णय नलिए पनि भिडियो सहायक रेफ्री (भिएआर) को सहयोग लिएपछि फ्रान्सलाई पेनाल्टी दिए । त्यसलाई ग्रिजम्यानले सदुपयोग गरे। 

गोल गरे पनि फ्रान्सले खेल नियन्त्रणमा राख्न सकेको थिएन । दोस्रो हाफमा पनि फ्रान्सले सुधारिएको प्रदर्शन गर्न सकेन । तर प्रशिक्षक डेसच्याम्पले एन‘गोलो कान्टेको स्थानमा स्टेभन एन‘जोन्जीलाई मैदान छिराएपछि फ्रान्सले केही सुधारिएको प्रदर्शन गर्याे । ५९औं मिनेटमा एमबाप्पेले दायाँ भागबाट पेनाल्टी क्षेत्रमा रहेका ग्रिजम्यानलाई पास दिए।

ग्रिजम्यानले कसैको निगरानीमा नरहेका पाउल पोग्बालाई पास दिए । त्यही पासमा पोग्बाले हानेको पहिलो प्रहार क्रोएसियाका खेलाडीले रोके पनि रिबान्डमा प्राप्त बलमा पोग्बाले कुनै गल्ती गरेनन् । ७९औं मिनेटमा फ्रान्सका गोलकिपर ह्युगो लोरिसले गरेको गल्तीको फाइदा उठाउँदै मान्डजुकिचले गोल गरे । त्यसपछि क्रोएसिया पुनः खेलमा फर्कने प्रयास गरे पनि पहिलो पटक विश्वकप उचाल्ने सपना पूरा गर्न सकेन। 

१९९६ पछि विश्वकपको फाइनलमा धेरै गोल भएको यो पहिलो हो । १९९६ मा इङ्ल्यान्डले जर्मनीलाई ४–२ ले हराएको थियो । १९५८ मा पेलेपछि विश्वकपको फाइनलमा गोल गर्ने फ्रान्सका एमबाप्पे अर्को युवा खेलाडी बने । ब्राजिलका पेलेले एमबाप्पेलाई बधाई दिँदै ट्विट् गरेका छन्, ‘विश्वकप फाइनलमा गोल गर्ने दोस्रो युवा खेलाडी । यो समूहमा एमबाप्पेलाई स्वागत छ । म खुसी छु।’

दोस्रो हाफको सुरुमै एक्कासि ३ महिला र एक पुरुष मैदान छिर्दा केही समय खेल अवरुद्ध बनेको थियो । रूसमा राजनीतिक बन्दीलाई रिहा गर्नुपर्ने, समाजिक सञ्जालमा लाइक गरेको भरमा पक्राउ गर्न नपाउने र राजनीतिक जुलुस निकाल्न पाउनुपर्ने, बिनाकारण फौजदारी अभियोग लगाउन नपाउनेलगायतका मागसहित ती मैदान छिरेका भन्दै पुसी रायट समूहले त्यसको जिम्मेवारी लिएको छ।

फ्रान्सले समूहचरणमा डेनमार्कसँग गोलरहित बराबरी खेल्नुबाहेक सबै खेल जितेको थियो । समूहचरणमा शतप्रतिशत नतिजा निकालेको क्रोएसियाले अन्तिम १६ र क्वार्टरफाइनलको नतिजा टाइब्रेकरमा निकालेको थियो भने सेमिफाइनलमा पनि इङ्ल्यान्डलाई थपिएको समयमा पराजित गरेको थियो। 

यसअघि ब्राजिलले ५ पटक, जर्मनी र इटालीले समान ४ पटक विश्वकपको उपाधि जितेका थिए भने अर्जेन्टिना, उरुग्वेले दुई पटक उपाधि जितेका थिए । इङ्ल्यान्ड, स्पेनले १÷१ पटक  विश्वकपको उपाधि उचालेका थिए। 

प्रकाशित: ३१ असार २०७५ १६:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App