काजान – पाँच राष्ट्रले मात्र एक पटकभन्दा बढी विश्वकपको उपाधि जितेका छन् । ती पाँचै राष्ट्रको यस पटकको विश्वकप उपाधि जित्ने सम्भावना सकिएको छ।
शुक्रबार ५ पटकको विश्वविजेता ब्राजिल र २ पटकको विजेता उरुग्वे क्वाटरफाइनलबाट घर फर्किएका थिए । ४ पटकको विजेता जर्मनी समूहचरणबाटै बाहिरियो भने २ पटकको विजेता अर्जेन्टिना अन्तिम १६ मा निराश भएको थियो । यता ४ पटकको विजेता इटाली भने प्रतियोगितामा छनोट नै भएन।
विश्वकपको २१औं संस्करणसम्म आइपुग्दा जर्मनी, इटाली, ब्राजिल र अर्जेन्टिनामध्यै कुनै पनि एक टोली सेमिफाइनल नपुगेको पनि यो नै पहिलो पटक हो।
१. ब्राजिल
रूस विश्वकपको एक दाबेदारको रूपमा प्रतियोगितामा हामिएको ब्राजिल समूहचरणबाटै संघर्षरत देखिएको थियो। शुक्रबार काजानमा बेल्जियमलाई २–१ को नतिजा सुम्पिएसँगै जारी रूस यात्रा टुंग्याएको थियो।
दक्षिण अमेरिकी विश्वकप छनोटमा राम्रो सुरुआत गर्न नसके पनि डुंगाको स्थानमा टेटेलाई टोली प्रशिक्षणको जिम्मा दिइएको थियो । टेटेको प्रशिक्षण्मा उत्कृष्ट प्रर्दशन गर्दै दक्षिण अमेरिकी विश्वकप छनोटको शीर्ष स्थानमा बस्दै ब्राजिल विश्वकपमा टिकट काट्ने पहिलो राष्ट्र बनेको थियो।
समूह ‘ई’ को विजेताको रूपमा प्रि–क्वार्टरफाइनलको यात्रा पक्का गरेको ब्राजिलले अग्रपंक्तिमा भने प्रभावशाली प्रदर्शन गर्न सकेन । स्ट्राइकर नेइमार र फिलिप कौटिन्होले तीव्र गति र क्षमताको संकेत गरे पनि उनीहरूले अपेक्षा गरिएअनुसार प्रदर्शन भने गर्न सकेनन् । अन्तिम १६ को यात्रा पक्का गर्दा सम्म १ गोल मात्र खाएको ब्राजिलले बलियो रक्षाापंक्ति भएको प्रमाणित गरेको थियो।
२००२ मा दक्षिण कोरियामा सम्पन्न विश्वकपको उपाधि जितेपछिका ४ संस्करणमध्ये ब्राजिल ४ पटक नै युरोपियन राष्ट्रसँग निराश भएको छ । २००६ मा क्वार्टरफाइनलमा फ्रान्सलाई नतिजा सुम्पिएको ब्राजिलले २०१० को क्वार्टरफाइनलमा नेदरल्यान्ड्ससँग पराजित भएको थियो । २०१४ मा घरेलु मैदानमा सम्पन्न विश्वकपको सेमिफाइनलमा जर्मनीसँग पराजित भएको ब्राजिल रूसमा भने बेल्जियमसँग स्तब्ध भयो।
२.उरुग्वे
१९३० मा घरेलु मैदानमा सम्पन्न पहिलो विश्वकपको उपाधि जितेको उरुग्वेले त्यसको २० वर्षपछि ब्राजिलमा सम्पन्न विश्वकपको उपाधि जितेको थियो।
त्यसपछिका संस्करणमा फाइनलसम्मको यात्रा गर्न नसके पनि उरुग्वेले सधैं प्रतियोगिताको दाबेदारको छवि बनाउँदै आएको छ । २०१० मा सेमिफाइनलसम्मको यात्रा पक्का गरेको उरुग्वेले शुक्रबार निज्ने नोभगोरोडमा फ्रान्सलाई २–० को नतिजा सुम्पिँदै रूस यात्रा क्वार्टरफाइनलमा टुंग्याएको थियो।
दक्षिण अमेरिकी छनोटको दोस्रो स्थानमा रहँदै रूसको टिकट काटेको उरुग्वेले समूहचरणमा शतप्रतिशत नतिजालाई निरन्तरता दिएको थियो भने अन्तिम १६ मा पोर्चुगललाई पराजित गर्दै २०१० को विश्वकपमा हात पारेको उपलब्धि दोहोर्याउने आशा जगाएको थियो।
यद्यपि फ्रान्सविरुद्धको खेलमा स्ट्राइकर एडिसन्स काभानीको अनुपस्थितिले दबाबमा परेको उरुग्वेका लागि गोलकिपर फर्नान्डो मुसलेरोको गल्ती महँगो बन्यो।
३.अर्जेन्टिना
१९७८ र १९८६ को विश्वविजेता अर्जेन्टिना विश्वकै उत्कृष्ट स्ट्राइकर लियोनल मेसीको कप्तानीमा रूस भ्रमणमा निस्किएको थियो । तर टोली लगातार दोस्रो पटक फाइनलमा स्थान बनाउन भने सफल भएन । २०१४ को ब्राजिल विश्वकपमा जर्मनीलाई नजिता सुम्पिँदै उपविजेतामा सीमित बनेको अर्जेन्टिनाको रूस यात्रा अन्तिम १६ भन्दा माथि बढ्न सकेन।
छनोट चरणको अन्तिम खेलमा मेसीको ह्याट्रिकबाट इक्वेडरलाई पराजित गर्दै रूस विश्वकपमा छनोट भएको अर्जेन्टिना समूहचरणको पहिलो खेलमा नवप्रवेशी आइसल्यान्डसँग १–१ को बराबरीमा रोकियो।
दोस्रो खेलमा क्रोएसियासँग ३–० ले पराजित भएको अर्जेन्टिनाले अन्तिम खेलमा नाइजेरियाको चुनौती २–१ ले पन्छाउँदै समूह उपविजेताका रूपमा अन्तिम १६ मा स्थान पक्का गरेको थियो । प्रि–क्वार्टरफाइनलमा फ्रान्सलाई ४–३ को नतिजा सुम्पिएसँगै अर्जेन्टिनाको विश्वकप उपाधि जित्ने लक्ष्यमा पूर्णविराम लागेको थियो।
४.जर्मनी
जर्मनीले ४ वर्षअघि ब्राजिलमा सम्पन्न विश्वकप जित्दै उपाधि संख्या ४ पुर्याएको थियो । जर्मनीले उपाधि संख्या ५ पुर्याउँदै ब्राजिलको पाँच पटक प्रतियोगिता जितेको कीर्तिमान बराबरी गर्ने लक्ष्यका साथ रूस भ्रमण्मा निस्किएको थियो।
पहिलो खेलमै मेक्सिकोसँग स्तब्ध भएको जर्मनीले दोस्रो खेलमा स्विडेनलाई पराजित गरेको थियो । तर अन्तिम खेलमा दक्षिण कोरियालाई नतिजा सुम्पिएसँगै जर्मनी १९३८ पछि पहिलो पटक समूहचरणबाट बाहिरियो । जर्मनीले २००६ पछिका सबै खाले प्रमुख प्रतियोगिताको अन्तिम ४ सम्मको यात्रा पक्का गर्दै आएको थियो।
५.इटाली
प्लेअफ दोस्रो लेगमा स्विडेनलाई नतिजा सुम्पिएको ४ पटकको विजेता इटाली पहिलो पटक प्रतियोगितामा छनोट हुन असफल भएको थियो । २००६ को विजेता इटाली २०१० र २०१४ को विश्वकपको समूह चरणबाट माथि उठ्न सकेको थिएन ।
प्रकाशित: २४ असार २०७५ ०९:१६ आइतबार