२५ असार २०८१ मंगलबार
image/svg+xml
खेल

पेनाल्टी सुट अाउटमा रुसको विश्वकप यात्रा रोक्दै क्रोएसिया सेमिफाइनलमा

काठमाडाैं - रोमाञ्चक खेलमा आयोजक रुसलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्रोएसिया सन् १९९८ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।

रुसको सोची स्थित फिस्ट रङ्गशालामा शनिबार राती सम्पन्न क्वार्टरफाइनल अन्तर्गतको अन्तिम खेलमा क्रोएसियाका इभान रेकेटिचको पेनाल्टीसँगै आयोजक राष्ट्रको विश्वकप यात्रा क्वार्टरफाइनलमै टुङ्गिएको हो। निर्धारित समयमको खेल एक एकको बराबरीमा सकिएपछि थपिएको अतिरिक्त समयमा भाग्यमानी सावित भएको आयोजक रुस पेनाल्टी सुट आउटमा भने निराश बन्यो।

अतिरिक्त समयको १० औं मिनेटमा क्रोएसियाले अग्रता बनायो। लुका मोड्रिचको पासमा डोमागोज भिडाले गोल गर्दै आफ्नो टोलीलाई जित नजिक पुर्याएका थिए। तर अतिरिक्त समयको दोश्रो हाफमा रुस भाग्यमानी सावित भयो र खेललाई पेनाल्टी सम्म पुर्याउन सफल रह्यो। खेलको ११५ औं मिनेटमा रुसकालागि मारियो फर्नान्डेजले हेड मार्फत गोल गरेका थिए। 

निर्धारित र थप गरिएको अतिरिक्त समय समेत बराबरीमा सकिएपछि विजेताको निर्णय पेनाल्टी मार्फत गरियो । जसमा रुसका फेडर स्मोलोभको प्रहार क्रोएसियाका गोलरक्षक ड्यानिजेल सुवासिचले बचाएका थिए भने मारियो फर्नान्डेजको प्रहार गोलपोष्टको फ्रेममा पर्न सकेन। रुसका तर्फबाट एलन डिजागोइभ, सर्जेइ इग्नासेभिक र डालेर कुजेइभले गोल गरेका थिए। यस्तै विजेता टोली क्रोएसियाका तर्फबाट मार्सेलो ब्रोजोभिच, लुका मोड्रिच, डोमागोज भिडा र इभान रेकेटिचले गोल गरेका थिए भने मेटियो कोभासिचको प्रहार रुसका गोलरक्षकले बचाएका थिए।

यसअघि पहिलो हाफको ३१ औं मिनेटमा डेनिस चेरिसेभको उत्कृष्ट गोल मार्फत अग्रता बनाएको आयोजक रुस डिफेन्डरको कमजोर प्रदर्शनमा ३९ औं  मिनेटमा बराबरी गोल खान पुगेको थियो। क्रोएसियाका एन्ड्रेज क्रेमारिचले मारियो मान्ड्जुकिचको पासमा डि बक्सभित्रबाट हेड मार्फत गोल गर्दै आफ्नो टोलीलाई पहिलो हाफको खेलमा सुखद नतिजा दिलाएका थिए। दोश्रो हाफको खेलमा दुवै टोलीले गोलका लागि सिर्जना गरेका केहि अवसर सदुपयोग गर्न सकेनन् र खेल अतिरिक्त समय तर्फ धकेलिएको थियो। 

रुस स्पेनलाई पराजित गर्दै क्वार्टरफाइनल प्रवेस गरेको थियो भने क्रोएसियाले शिर्ष १६ अन्तर्गतको खेलमा डेनमार्कलाई पराजित गरेको थियो। दुवै टोली पेनाल्टी मार्फत जित हात पार्दै क्वार्टरफाइनल प्रवेस गरेका थिए। 

२० वर्षपछि पुनः सेमिफाइनलमा स्थान बनाएको क्रोएसियाले इंग्ल्याण्ड प्रतिद्वन्द्वी पाएको छ। 

रुस र क्रोएसियाबीचको खेलसँगै सेमिफाइनल समिकरण समेत पुरा भएको छ। सेमिफाइनल अन्तर्गत मंगलबार राती पौने १२ बजे हुने खेलमा फ्रान्स र बेल्जियमबीच प्रतिष्पर्धा हुनेछ भने दोश्रो सेमिफाइनल खेल बुधबार राती सोहि समयमा क्रोएसिया र इंग्ल्याण्डबीच हुनेछ।

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App