काठमाडाैं - इमिल फोर्सवर्गको निर्णायक गोलसँगै स्विडेन रुसमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनल प्रवेस गरेको छ।
सेन्ट पिटर्सवर्ग रङ्गशालामा मंगलबार सम्पन्न स्विट्जरल्याण्ड विरुद्धको खेलमा फोर्सवर्गले खेलको ६६ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई सन् १९९४ पछि पहिलो पल्ट क्वार्टरफाइनल स्थान दिलाए। फोर्सवर्गले ओला टोइभोनेनको पासमा डि बक्स वाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो।
खेलमा बढी समय बल आफ्नो पक्षमा राखेपनि स्विट्जरल्याण्डले गोल भने गर्न सकेन। खेल अवधिभर स्विडेनको तुलनामा स्विट्जरल्याण्डले गोलकालागि बढी प्रयास गरेपनि न त अग्रतानै बनाउन सक्यो न त खेलमा फर्कननै। खेलको अतिरिक्त समयमा गोल गर्न स्विट्जरल्याण्डका खेलाडी अगाडी बढेको मौका छोप्दै स्विडेनले स्विट्जरल्याण्डको गोलपोष्ट तर्फ बल अघि बढाउँदा माइकल लाङ्गले स्विडेनका खेलाडीलाई लडाएपछि रातो कार्ड पाएका थिए।
स्विडेनले मंगलबारनै पौने १२ बजे हुने कोलम्बिया र इंग्ल्याण्डबीचको खेलको विजेतासँग क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्नेछ।
प्रकाशित: १९ असार २०७५ १६:३३ मंगलबार