सर्लाही– दुई नम्बर प्रदेशकै सबैभन्दा ठूलो पुरस्कार राशीको लालबन्दी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत विहीबार भएको उद्घाटन खेलमा जावलाखेल युथ क्लब ललितपुर विजयी भएको छ।
जावलाखेलले आयोजक सर्लाही–११ लाई ट्राईबेकरमा ५–४ गोलले पराजित गरेको हो। निधारित ७० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा गएको थियो। निर्धारित समयमा सर्लाहीको तर्फबाट पहिलो गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका जर्सी नं. ९ का सनी चौधरीको प्रहार जावलाखेलका गोलकिपर टेकेन्द्र थापाले बचाउ गरेपछि सर्लाही ट्राईबेकरमा हार ब्यहोर्न बाध्य भयो।
खेल सुरु भएको ३२ औं मिनेटमा सर्लाहीका सनी चौधरीले गोल गर्दै सर्लाहीलाई अग्रता दिलाएका थिए । अन्त्यन्त प्रतिष्पर्धात्मक रहेको खेलको मध्यान्तर पछि ५ औं मिनेटमा जावलाखेलका जर्सी नं. १४ काओलुसोलो कादिरी इब्राईमले गोल गर्दै बराबरीमा पु¥याए।
तीन जना अफ्रिकन खेलाडी समेत उतारेको ए डिभिजन क्लब जावलाखेललाई सर्लाही निवासी खेलाडीहरुको टिमले कडा टक्कर दिएको थियो।
यसअघि प्रतियोगिताको अखिल नेपाल फूटबल संघ (एन्फा)काअध्यक्षकर्मा छिरिङ शेर्पाले प्रतियोगिताको उद्घाटन गरेका थिए। एन्फाले आगामी दिनमा ग्रास रुट अर्थात जिल्लास्तरीय फुटबल प्रतियोगिताहरु गर्नका लागि प्राथमिकता दिने शेर्पाले बताए। त्यस्तै लालबन्दी गोल्डकप प्रतियोगितालाई आगामी वर्ष एन्फाको क्यालेण्डरमा पार्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे।
विजेता टिमलाई नगद ७ लाखसहित प्रथम पुरस्कार तथा उपविजेतालाई नगद ३ लाख ५० हजार रुपैंयासहित दोस्रो पुरस्कार प्रदान गरिने प्रतियोगिताअन्तर्गत शुक्रबार युनाइटेड सिक्किम भारत र सशस्त्र प्रहरीको एपीएफ क्लबबीच खेल हुने आयोजक समितिका विनय बाँनियाले जानकारी दिए।
प्रकाशित: २४ जेष्ठ २०७५ १५:३३ बिहीबार