२१ आश्विन २०८१ सोमबार
image/svg+xml
खेल

आर्मी र एपिएफ सेमिफाइलनमा

काठमाडौं – विभागीय टोली त्रिभुवन आर्मी क्लबले अर्को विभागीय टोली एपिएफलाई ७० रनले पराजित गर्दै मंगलबार प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइलनमा प्रवेश गरेको छ।

सबै ४ खेलमा जित हात पार्दै आर्मीले सेमिफाइलनमा स्थान बनाएको हो। हारका बावजुद पनि एपिएफ तालिकामा ६ अंक जोड्दै समूह ‘ए’ बाट उपविजेता बन्दै अन्तिम चारमा प्रवेश पाएको हो भने अन्य तीन टोली ४ खेलबाट समान २र२ अंक बटुल्दै प्रतियोगिताबाट बाहिरिएका छन्।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा पानी परेपछि ४० ओभरमा घटाइएको खेलमा आर्मीले टस हारेर पहिला ब्याटिङ गर्दै २ सय २९ रनको लक्ष्य एपिएफ सामु प्रस्तुत गरेको थियो। खेलमा आर्मीका लागि अनिल मण्डल र कप्तान विनोद भण्डारीले अर्धशतक बनाए। ओपनर अनिल मण्डल ९९ बलको सामना गर्दै ७ चौकाको मद्दतमा ७२ रन जोड्न सफल भए भने कप्तान विनोद भण्डारी ५० रन जोड्दै वसन्त रेग्मीको बलमा बोल्ड भए। ओपनर सागर पुन अर्धशतक बनाउनबाट ४ रनले चुक्दा नरेश बुढाऐरले ३७ रनको योगदान गरे। यसबाहेक अन्य खेलाडीले दोहोर अंक जोड्न सकेनन्।

बलिङतर्फ एपिएफका लागि भुवन कार्कीले सर्वाधिक ३ विकेट लिए भने कमलसिंह ऐरी, वसन्त रेग्मी, करण केसी र पृथु बास्कोटले समान १र१ विकेट हात पारे । ८ ओभर किफायती बलिङ गरेका करण केसीले १ मेडन राख्दै ३६ रन खर्चिएर १ विकेट हात पारे।

उता २ सय २९ रनको लक्ष्यका साथ जबाफी ब्याटिङ गर्न आएको एपिएफका लागि नवौं नम्बरमा ब्याटिङ गरेका अमरसिंह राउटेलाले अविजित २९ रन बनाए पनि टोलीको जितका लागि पर्याप्त भएन। अन्य ब्याट्सम्यानमा रोहितकुमार पौडेलले २८, भुवन कार्कीले २६, अनिल शाहले २५ तथा सुवास खकुरेलले २२ रन जोडेका थिए। एपिएफका लागि करण केसी, वसन्त रेग्मी र कमलसिंह ऐरी खाता नै नखोली पवेलियन फर्कंदा अन्य दुई खेलाडी अन्डर ५ मा आउट भएका थिए।

एपिएफको इनिङलाई सस्तैमा समेट्न आर्मीका बलर सोमपाल कामीले ३ तथा सुसन भारी, सागर पुन र साहब आलमले समान २र२ विकेट लिए।समूह ‘ए’ को विजेता आर्मीले अब सेमिफाइनलमा समूह ‘बी’ को उपविजेता तथा हारका बावजुद पनि सेमिफाइलनमा स्थान बनाएको एपिएफले समूह बी को विजेतासँग खेल्नेछ।

मंगलबारै मूलपानीमा सम्पन्न अर्को खेलमा विभागीय टोली नेपाल पुलिस क्लब प्रदेश नम्बर ३ लाई ६ विकेटले पराजित गर्दै समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ। यसअघि शीर्ष स्थानमा रहेको प्रदेश नम्बर ७ रनरेटका आधारमा पछि पर्दै प्रदेश नम्बर ५ भन्दा पछि रहँदै तेस्रो स्थानमा रहेको छ । पराजित प्रदेश नम्बर ३ भने प्रतियोगिताबाट बाहिरिएको छ।

वर्षाका कारण २० ओभरमा छोट्याइएको खेलमा प्रदेश नम्बर ३ ले ९ विकेटको क्षतिमा नेपाल पुलिसलाई १ सय ३८ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जबाफी ब्याटिङ गरेको पुलिसले प्रस्तुत लक्ष्य १ बल बाँकी रहँदा ४ विकेट गुमाएर पूरा गर्दै सेमिफाइलन यात्रालाई कायमै राख्न सफल भएको हो। पुलिसको जितका लागि ओपनर सुनील धमला र आरिफ शेखले अर्धशतक बनाए। धमला ५० रनमा अविजित रहँदा आरिफले ६६ रन जोडेका थिए।

बलिङतर्फ प्रदेश नम्बर ३ का लागि रूपेश श्रीवास्तवले सर्वाधिक २ विकेट हात पार्दा किशोर महतो र अदिल खानले समान १र१ विकेट लिए।यसअघि पहिला ब्याटिङ गरेको प्रदेश नम्बर ३ का लागि अदिल खान र सोनु तामाङले क्रमश ४५ र ४८ रन जोड्नु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।

प्रदेश नम्बर ३ को इनिङलाई कम स्कोरमा रोक्न रामनरेश गिरीले सर्वाधिक ३ विकेट लिए भने ललित भण्डारीले २ तथा आरिफ शेख र ललितनारायण राजवंशीले समान १र१ विकेट लिए।प्रतियोगितामा बुधबार कीर्तिपुर स्थत त्रिभुवन विश्वविद्यालयको मैदानमा समूह ‘बी’ का शीर्ष दुई टोली नेपाल पुलिस क्लब र प्रदेश नम्बर ५ बीच खेल हुनेछ।

प्रकाशित: २३ जेष्ठ २०७५ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App