गृह मैदानमा आयोजित ताप्लेजुङ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि मैवाखोला गाउँपालिकाले जितेको छ। २५ स्वर्ण, १८ रजत, र १८ कास्य पदक जित्दै मैवाखोलाले शीर्ष स्थान हासिल गर्यो।
प्रतियोगितामा २० स्वर्ण, २० रजत, र १९ कास्य पदक जित्दै आठराई त्रिवेणी दोस्रो स्थानमा रह्यो। अघिल्लो वर्ष गृह मैदानमै आठराई त्रिवेणीले उपाधि जितेको थियो।
फुङलिङ नगरपालिकाले १७ स्वर्ण, १५ रजत, र १५ कास्य पदक जित्दै तेस्रो स्थानमा रह्यो। नारायणी मावि साँघुका शिक्षक तथा प्रतियोगिताको सूचना व्यवस्थापक चिरञ्जीवी चोङवाङका अनुसार मेरिङदेन गाउँपालिकाले २ स्वर्ण, ३ रजत, र ३ कास्य पदक जित्यो भने पाथीभरा याङवरकले १ स्वर्ण, ५ रजत, र १ कास्य पदक हात पार्यो।
मिक्वाखोलाले १ स्वर्ण, ३ रजत, र सर्वाधिक २६ कास्य पदक जित्दै कास्यमा बर्चश्व कायम राख्यो। सिदिङ्वाले भने २ रजत र ७ कास्य पदक जित्यो।
फक्ताङलुङ र सिरिजङ्गा गाउँपालिकाहरू भने पदकविहीन रह्यो। प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत, र ७० कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो।
प्रकाशित: ३० माघ २०८१ २१:५८ बुधबार




-600x400.jpg)
