२१ फाल्गुन २०८१ बुधबार
image/svg+xml २२:१ अपराह्न
खेल

ताप्लेजुङमा जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड माघ २७ बाट साँघुमा हुने

मापदण्ड र निर्देशिकाभन्दा बाहिरका खेलाडीलाई सहभागी गराउन नपाइने

१५ औं जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माघ २७ गतेदेखि मैवाखोला गाउँपालिकामा सञ्चालन हुने भएको छ।

आयोजक जिल्ला खेलकुद विकास समितिले शनिवार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताका सञ्चालनका बारेमा जानकारी गराएको हो। प्रतियोगिताको संयोजन गरिरहेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा जिल्ला खेलकुद विकास समिति अध्यक्ष नरेन्द्रकुमार (गणेश) मावोले माघ २७ देखि ३० गतेसम्म मैवाखोला गाउँपालिकास्थित नारायणी मावि साँघुको खेलमैदानमा प्रतियोगिता सञ्चालन हुने जानकारी दिए।

उनका अनुसार ६ विधाका खल खेलाइने छ। प्रतियोगितातर्फ ६६ स्वर्ण, ६६ रजत र ७० कास्य गरी कुल २ सय २ पदकका लागि खेल हुने छ। भलिबल र कबड्डीतर्फ महिला र पुरुष दुवैमा सेमीफाइनल पुग्ने थप २–२ टोलीलाई समेत कास्य पदक दिइने भएकोले कास्य पदकको संख्या स्वर्ण र रजतभन्दा बढी हुने जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख यज्ञनिधि पौडेलले जानकारी दिए।

जिल्ला खेलकुद विकास समितिका अनुसार भलिबल र कबड्डीतर्फ तर्फ छात्र र छात्रा दुवैमा गरी २–२ स्वर्ण,२–२ रजत र ४–४ कास्य पदकका लागि खेल हुने छ। यस्तै एथलेटिक्स छात्र छात्रातर्फ २६ स्वर्ण,२६ रजत र २६ कास्य पदकका लागि खेल हुने भएको छ। सितोरियो कराँते र तेक्वादोतर्फ छात्रछात्राका लागि १२–१२ स्वर्ण,१२–१२ रजत र १२–१२ कास्य पदकका लागि खेल हुने छ। उसुतर्फ समेत १२ स्वर्ण,१२ रजत र १२ कास्यका लागि खेल हुने जिल्ला खेलुकद समितिले जनाएको छ।

जिल्ला खेलकुद विकास समितिले निर्देशिका र मापदण्ड बाहिरका खेलाडीलाई प्रतियोगितामा समावेश नगर्ने प्रष्ट पारेको छ। अध्यक्ष मावोले निर्देशिका र मापदण्ड अनुसारका खेलाडी मात्र प्रतियोगितामा समावेश गराउने भएकोले यसलाई सबै पालिकाले बुझिदिने विश्वास लिए। प्रतियोगिताको संयोजन गरिरहेको मैवाखोला गाउँपालिकाले समेत प्रतियोगिता विद्यालयस्तरमा लुकेका खेल प्रतिभाको स्वतन्त्र पहिचान र खेल क्षमता प्रवर्द्धनमा आधारित हुने भएकोले मापदण्ड र निर्देशिका विपरीतका खेलाडीलाई प्रतियोगितामा नपठाउन आग्रह गरेको छ।

पालिका अध्यक्ष वनेमले निर्देशिका र मापदण्ड अनुसारका मात्र खेलाडी पठाइ प्रतियोगिताको मर्म र उद्देश्य पूरा हुने गरी सबै पालिकाबाट सहयोग मिल्ने अपेक्षा व्यक्त गरे। प्रतियोगिताका क्रममा आफूहरू सबै पालिका र पालिकाका खेलाडीलाई मैवाखोलामा स्वागत गर्न आतुर रहेको बताउँदै पालिका अध्यक्ष वनेमले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्डको संयोजन गर्ने मौका दिएकोमा जिल्ला खेलकुद विकास समितिप्रति आभार व्यक्त गरे।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मावोले जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड जिल्लाका सबै स्थानीय तहमा हुनेगरी सदरमुकामबाट बाहिर विकेन्द्रित गरिएको जानकारी दिए। १४ औं राष्ट्रपति रनिङ शिल्ड आठराई त्रिवेणी गाउँपालिकामा सञ्चालन भएको थियो। सोभन्दा अघि सिरिजङ्गा गाउँपालिकाको तेल्लोकमा समेत जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड सञ्चालन भएको थियो।

प्रकाशित: १२ माघ २०८१ ११:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App