२३ आश्विन २०८१ बुधबार
image/svg+xml
खेल

मनमोहन मेमोरियल क्रिकेट वैशाखमा

काठमाडौं – मनमोहन मेमोरियल अन्तरप्रदेश यु–१६ राष्ट्रिय क्रिकेट प्रतियोगिता वैशाखको दोस्रो साता हुने भएको छ।

आयोजक मनमोहन मेमोरियल क्रिकेट सेन्टरले बुधबार पत्रकार सम्मेलन गरेर वैशाख १३ देखि १९ गतेसम्म कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा प्रतियोगिता हुने जानकारी दिएको हो।

नयाँ खेलाडी उत्पादनसँगसँगै क्षमतावान् खेलाडीको अवसरका लागि सातै प्रदेशका खेलाडीलाई समेटर प्रतियोगिता आयोजना गर्न लागेको सेन्टरका अध्यक्ष ठाकुर गैरेले जानकारी दिए।

एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा नयाँँ संरचनाअनुसार ७ प्रदेशका ७ वटा टिमले प्रतिस्पर्धा गर्ने गैरेले जानकारी दिए। लिग कम नकआउट प्रणालीमा ३० ओभरमा खेलाइने खेलमा प्रत्येक टिममा १४ खेलाडी, प्रशिक्षक र व्यवस्थापक रहने आयोजकले जनाएको छ। देशैभरिबाट काठमाडौं आउने सबै टोलीको व्यवस्थापन आयोजक सेन्टर आफैंले गर्ने जानकारी दियो।

रतियोगिताका लागि वैशाख ६ र ७ गते सातै प्रदेशमा ट्यालेन्ट हन्टबाट खेलाडी छनोट गरिनेछ।

प्रतियोगिताको विजेताले नगद र क्रिकेट किट्ससहित ५ लाखबराबरको पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले नगद र क्रिकेट किट्ससहित २ लाख ५० हजार बराबरको पुरस्कार हात पार्नेछ।

सात प्रदेशका टिमलाई दुई समूहमा विभाजन गरी खेल सञ्चालन गरिनेछ । दुई समूहका शीर्ष दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन्।

प्रतियोगिताका लागि प्रदेश नम्बर १ को विटारनगर, प्रदेश नम्बर २ को वीरगन्ज, प्रदेश नम्बर ३ को काठमाडौं, प्रदेश नम्बर ४ को पोखरा, प्रदेश नम्बर ५ को भैरहवा, प्रदेश नम्बर ६ को सुर्खेत र प्रदेश नम्बर ७ को धनगढीमा खेलाडी छनोट गर्ने आयोजकले जनायो।

छनोट चरणका लागि सातवटै प्रदेशमा रहेका क्रिकेट संघ, क्षेत्रीय तथा जिल्ला खेलकुद विकास समिति, स्थानीय क्रिकेट संघ, प्रशिक्षक र विज्ञहरूको सहभागितामा रहनेछ।

यस्तै, सेन्टरले २०७४ मा क्रिकेटमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरुमध्ये १ पुरुष, १ महिला खेलाडी र १ प्रशिक्षकलाई नगदसहित ‘मनमोहन राष्ट्रिय क्रिकेट सम्मान २०७४’ बाट सम्मान समेत गर्ने जानकारी दियो।

प्रकाशित: २९ चैत्र २०७४ ०५:२९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App