२२ असार २०८१ शनिबार
image/svg+xml
खेल

कापोलोले लिए प्रशिक्षणबाट संन्यास

रोम – खेलाडी र प्रशिक्षकको रूपमा अनगिन्ती उपाधि र पाँच देशलाई प्रशिक्षण दिएका फाबियो कापेलोले फुटबलबाट सोमबार संन्यासको घोषणा गरेका छन्।

एसी मिलान, रियाल मड्रिड, रोमा र युभेन्टसलाई प्रशिक्षण दिएका कापेलोले सोमबार संन्यास घोषणाको क्रममा इटालीको राष्ट्रिय टोलीमा प्रशिक्षक खाली भए पनि आफू इच्छुक नभएको बताएका हुन्।

७१ वर्षे कापेलोले जारी सिजनको तीन म्याचमा मात्र प्रशिक्षण दिँदै पछिल्लो महिना चीनको क्लब जियान्सु सुनिङ छोडेका थिए । यसअघि उनले २०१७ को जुनमा नान्जिङ क्लबसँग १८ महिने सम्झौता गरेका थिए । २०१६ को लिगमा दोस्रो भएको क्लब नान्जिङले २०१७ को खराब प्रदर्शन गरेपछि नयाँ प्रशिक्षकको रूपमा प्रवेश गर्दै रेलिगेसनमा पुग्न लागेको टोलीलाई जोगाएका थिए।

‘मैल इङ्ल्यान्ड र रसियाका राष्ट्रिय टोलीलाई प्रशिक्षण दिँदै, राष्ट्रिय प्रशिक्षकको अनुभव लिएको छु,’ कापेलोले भने, ‘जियान्सु क्लबको प्रशिक्षण नै मेरो प्रशिक्षणको अन्तिम अनुभव बन्यो । अब म फुटबल विज्ञको रूपमा स्थापित हुन चाहन्छु।’

कापेलो मिलान प्रशिक्षणमा रहँदा सफल प्रशिक्षकको रूपमा स्थापित भएका थिए । उनले प्रशिक्षण दिएको मिलानले चार पटक सिरी ‘ए’ उपाधि र एक पटक १९९४ को च्याम्पियन्स लिगको उपाधि हात पारेको थियो । यस्तै, उनले रियाल मड्रिड र रोमा तथा युभेन्ट्सका लागि पनि उपाधि दिलाएका थिए।

यस्तै, यसै वर्ष आयोजना हुने विश्वकप सहभागितामा इटाली छनोट हुन असफल हुनु क्षमतावान् खेलाडीको अभाव भएको कापेलोले बताए।

‘हामी प्रशिक्षकले खेलाडी हुँदा टोलीमा उत्कृष्ट खेल खेल्थ्यौं’ कापेलोले भने, ‘अहिलेका खेलाडीको प्रदर्शनले छनोट निकै गाह्रो छ । अहिलेको अवस्थामा भन्ने हो भने क्षमतावान् खेलाडीको टोलीमा अभाव छ । नेतृत्व पनि सही छैन, नयाँ क्षमतावान् खेलाडीको अनुहार खडेरी छ।’

‘जेनिट सेन्ट पिटर्सबर्गका प्रशिक्षक रोबर्टो मानचिनी इटाली टोलीलाई प्रशिक्षण दिन योग्य छन् । उनी टिम व्यवस्थापकको रूपम विश्वभर पुगिसकेका छन्,’ कापेलोले थपे, ‘आफ्नो देश इटालीले आउँदा दिनमा फुटबल विकास गर्ने हो भने स्पेनको शैलीलाई अपनाउनुपर्छ।’

‘अहिलेका खेलाडीलाई कसरी गोल गर्ने, कसरी बल नियन्त्रमा राख्ने भन्ने नै सिकाउनुपर्छ’ कापेलोले थपे, ‘इटालीमा १२ वर्षको उमेरमा रणनीति सिकाइन्छ, तर स्पेनमा बल दिइन्छ।’

प्रकाशित: २८ चैत्र २०७४ ०५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App