भारतीय क्रिकेट टोलीका विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्त आइतबार इन्डियन प्रिमियर लिग (आइपिएल) को इतिहासमा नै महँगा क्रिकेटर बनेका छन्।
विश्व क्रिकेटको सबैभन्दा लोकप्रिय फ्रेन्चाइज क्रिकेट आइपिएलको अक्सनमा उनी २७ करोड भारुमा बिक्री भए। लखनउ सुपर जायन्टले पन्तका लागि यति धेरै रकम खर्च गरेको हो। साउदी अरबको जेदाहमा भएको दुईदिने अक्सनमा कुल पाँच सय ७७ क्रिकेटर समावेश गरिएको छ।
पन्तसँगै इङ्ल्यान्डका भेट्रान जेम्स एन्डरसन र न्युजिल्यान्डका अलराउन्डर रचिन रवीन्द्रा अक्सनका मुख्य आकर्षक रहे। सन् २०२३ को अक्सनमा कोलकाताले अस्ट्रेलियन स्टार मिचेल स्टार्कका लागि २४.७५ करोड भारु खर्च गरेको थियो। त्यो नै आइपिएलको इतिहासमा कीर्तिमानी रकम थियो। आइतबारसम्म भएको अक्सनमान पन्त सबैभन्दा महँगा क्रिकेटर बने।
सुरुमा पन्जाब किङ्सले मिचेलका लागि खर्चिएको त्यो रकमलाई पछि परेको थियो। पन्जाबले श्रेयस ऐयरलाई २६.७५ करोडमा खरिद गर्यो। त्यससँगै पछिल्लो सिजनमा भएको अक्सनको कीर्तिमानलाई पन्जाबले पछि पारेको हो। २९ वर्षे श्रेयसले यसै सिजन मात्र आफ्नो कप्तानीमा कोलकातालाई आइपिएलको तेस्रो उपाधि दिलाएका थिए। तर, त्यो रेकर्ड एकै दिनमा पछि पर्यो।
लखनउले २७ वर्षे भारतीय क्रिकेटर पन्तकै लागि महँगो रकम खर्चन पुग्यो। पहिलो दिनको अक्सनमा भारतीय क्रिकेटर आकर्षक नै बने। तीव्र गतिका बलर अर्शदीप सिंहको खरिदमा पनि फ्रेन्चाइज टोलीबीच होड चल्यो।
अन्ततः पन्जाबले नै उनलाई १८ करोड भारुमा आफ्नो बनाउन सफल भयो। गत सिजन स्टार्कका लागि सबैभन्दा धेरै रकम खर्चिएको कोलकाताले उनलाई रिटेन गरेको थिएन। तर दिल्ली क्यापिटल्सले उनलाई ११.७५ करोड भारुमा आफ्नो बनाएको छ।
गुजरात टाइटन्सले इङ्ल्यान्डको टेस्ट टोलीका कप्तान जस बटलरका लागि १५.७५ करोड भारु खर्चिएको छ। भारतका तीव्र गतिका बलर मोहम्मद सामी पनि सनराइजर्स हैदराबादले भित्र्यायो। उनी १० करोडमा हैदराबादमा अनुबन्धित भएका हुन्। ३४ वर्षे सामी केही समयअगाडि मात्र चोटबाट फर्किएका हुन्। अस्ट्रेलियामा भएको टेस्टमा पनि उनले खेल्ने अनुमान गरिएको थियो।
अक्सनको बोलकबोल सुरु हुनुअगाडि राजस्थान रोयल्सका प्रशिक्षक राहुल द्रविडले सबै टोलीले अक्सनमा लिने आफ्ना खेलाडीबारे तयार गरेर आएको प्रतिक्रिया दिएका थिए। ‘अक्सनका लागि सबै तयार नै हुन्छन्। आफ्ना टोलीबीच खेलाडी खरिद गर्ने रणनीति बारे छलफल हुन्छ,’ द्रविडले भने, ‘तर त्योभन्दा अगाडि आफू कुन अवस्थामा छु भन्ने पनि सोच्नुपर्छ।’
सन् २००८ मा आइपिएल सुरु भएपछि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई) ले अर्बौ आम्दानी गर्न थालेको छ। त्यसैले पनि बिसिसिआई भारतको सबैभन्दा धनी खेल संस्था पनि बनिसकेको छ।
सन् २०२२ मा मात्र बिसिसिआईले आगामी पाँच सिजनका लागि ६.२ बिलियन डलरमा आइपिएलको डिजिटल राइट्स बिक्री गरेको थियो। विदेशी भूमिमा नै अक्सन गर्दै भारतले आफ्नो फ्रेन्चाइच लिगलाई विश्वव्यापीकरण गरेको छ।
गत सिजन दुबईमा अक्सन गरेको बिसिसिआईले यसपल्ट साउदी अरबमा पुर्यायो। साउदीमा अप्रवासी कामदार धेरै रहेकाले पनि बिसिसिआईले त्यहाँ अक्सन गरेको हो। आइपिएलले हरेक वर्ष भारतको अर्थतन्त्रमा पनि ११ बिलियन डलरमा हलचल गर्ने गरेको छ। आगामी सिजनको आइपिएलका लागि मिति घोषणा भइसकेको भने छैन। तर, प्रायः मार्चदेखि मेमा आइपिएल हुने गरेको छ।
प्रकाशित: १० मंसिर २०८१ ०८:४५ सोमबार