६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

एन्फा यु-१८ युथ लिग: नेपाल पुलिसको पहिलो हार

विभागीय टोली नेपाल पुलिस क्लबले एन्फा यु–१८ युथ लिगमा पहिलो हार सामना गरेको दिन धर्वेन्द्र कुँवरको ह्याट्रिक प्रेरणामा जावलाखेलले जित निकालेको छ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा आइतबार पुलिसले न्युरोड टिम(एनआरटी) सँग ४–२ को हार बेहोर्दा जावलाखेल युथ क्लबले सातदोबाटो युथ क्लबलाई ४–१ ले हराएको हो।

अग्रता जोगाउन नसक्दा पुलिसले जारी युथ लिगमा पहिलो हार सामना गर्नुपर्‍यो। खेलको सुरुआतमै पुलिस पछि परेको थियो। तर, साजनराज गौतमले लगातार दुई गोल गर्दै पुलिसलाई अग्रता दिलाए। यद्यपि, पुलिसले त्यो अग्रता पहिलो हाफमा नै टिकाउन सकेन। यो हारसँगै पुलिसको अंकदूरी बढाउने योजना सफल भएन। यता, एनआरटी भने जितसँगै लिगको दोस्रो स्थानमा उक्लिएको छ। एनआरटीको १० खेलबाट १९ अंक छ।

हारका बावजुद पुलिस शीर्ष स्थानमा यथावत् नै छ। पुलिसको समान खेलबाट २३ अंक छ। यसअघि पुलिसले सात जित दुई बराबरी गरेको थियो। एनआरटीको जितमा ईशान शाहले दुई गोल तथा सन्तोष गोङ्बा र विज्ञान खड्काले समान एक गोल गरे। पुलिसका लागि दुवै गोल साजनराज गौतमले गरेका हुन्।

एनआरटीले खेलको छैटौं मिनेटमै सन्तोषको गोलमा अग्रता लिएको थियो। तर, एनआरटीको यो अग्रता पाँच मिनेट पनि टिक्न सकेन। ११औं मिनेटमा साजनराजले पुलिसलाई खेलमा फर्काए।

सात मिनेटपछि साजनराजको व्यक्तिगत दोस्रो गोलमा पुलिसले खेलमा अग्रता लियो। एनआरटीले पहिलो हाफ सकिन पाँच मिनेट बाँकी रहँदा दुई गोल गर्‍यो। एनआरटीका ईशान र विज्ञान गोल गरेका हुन्। यससँगै एनआरटीले पहिलो हाफ सकिँदा ३–१ को अग्रता लियो।

दोस्रो हाफको सातौं मिनेटमा ईशानको दोस्रो गोल गर्दै एनआरटीलाई ४–२ को अग्रता दिलाए। त्यसपछि पुलिस दबाबमा पर्‍यो। खेलमा फर्कन संघर्ष गरिरहेको पुलिसको प्रयास सफल भएन र र लिगमा पहिलो हार सामना गर्‍यो। आइतबारकै दोस्रो खेलमा जावलाखेलले ललितपुरे डर्बीमा सातदोबाटोविरुद्ध सहजै जित निकाल्यो।

सातदोबाटोले अग्रता जोगाउन नसक्दा हार बेहोरेको हो। यता, जावलाखेल जितसँगै १० खेलबाट १४ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ। समान खेलबाट सातदोबाटो चार अंकसहित ११औं स्थानमा छ।

एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा जावलाखेलबाट कप्तान धर्वेन्द्र कुँवरले ह्याट्रिक पूरा गरे। प्रशान्त तामाङले एक गोल थपे। सातदोबाटोका निसप्रकाश बरालले एक गोल फर्काए। खेलको ३८औं मिनेटमा निसप्रकाशले गोल गर्दै सादोबाटोलाई अग्रता दिलाए। यससँगै पहिलो हाफमा सातदोबाटो १–० ले अगाडि रह्यो।

तर, दोस्रो हाफमा जावलाखेलले आक्रामक फुटबल खेल्दै चार गोल गर्‍यो। यस क्रममा कप्तान धर्वेन्द्रले ह्याट्रिक पूरा गरे। धर्वेन्द्रले ५०औं मिनेटमा गोल गर्दै जावलाखेललाई बराबरीमा ल्याए। पाँच मिनेटपछि नै प्रशान्तले गोल गर्दै जावलाखेललाई २–१ ले अगाडि बढाए।

धर्वेन्द्रले ६९औं मिनेटमा व्यक्तिगत दोस्रो तथा जावलाखेलका लागि तेस्रो गोल गरे। निर्धारित समय सकिन ६ मिनेट बाँकी छँदा धर्वेन्द्रले अर्को गोल थप्दै ह्याट्रिक पूरा गरे। यससँगै जावलाखेलले उत्कृष्ट पुनरागमनसँगै सातदोबाटोमाथि ४–१ को रोमाञ्चक जित निकाल्यो। 

प्रकाशित: ३ मंसिर २०८१ ०८:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App