६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

मेचीनगरले जित्यो ‘प्रथम झापा-१ काठमाडौं कप फुटसल’ को उपाधि

.

प्रथम झापा-१ काठमाडौं कप फुटसल प्रतियोगितामा साबिक विजेता मेचीनगरले उपाधि चुमेको छ।

नेपाली कांग्रेस झापा-१ सांसद सचिवालय तथा झापा-१ काठमाडौं सम्पर्क समितिको संयुक्त आयोजनामा जावलाखेलस्थित डिएभी स्कुलमा भएको फाइनलमा मेचीनगरले धाइजनलाई ४–३ को रोमाञ्चक स्कोरमा पराजित गर्दै उपाधि हात पारेको हो।

निक्कै प्रतिस्पर्धात्मक खेलमा धाइजनका देवासिस प्रसाईंको ह्याट्रिक प्रयास सफल भए पनि टोलीलाई उपाधि दिलाउन असफल रह्यो। खेलमा मेचीनगरका प्रथम कार्कीले सुरुआती गोल गर्दै अग्रता दिलाए।

त्यसपछि रोहन कार्कीले दुई गोल थपे। धाइजनका देवासिसले तीन गोल गरे पनि मेचीनगरका प्रथमले थप गोल गर्दै आफ्नो टोलीलाई विजयी बनाए। देवासिसको उत्कृष्ट प्रदर्शनका कारण उनी खेलको 'प्लेयर अफ द म्याच' घोषित भए।

प्रतियोगितामा मेचीनगर, धाइजन, शान्तिनगर, दुवागढी, बाहुनडाँगी, चन्द्रगढी, र ज्यामिरेगढी गरी सात टोलीले प्रतिस्पर्धा गरेका थिए। मेचीनगरले पहिलो सेमिफाइनलमा बाहुनडाँगीलाई ५–१ ले पराजित गर्यो भने धाइजनले दोस्रो सेमिफाइनलमा ज्यामिरेगढीलाई ३–० ले हराएको थियो।

विजेता मेचीनगरले २१ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्यो भने उपविजेता धाइजनले ११ हजार रुपैयाँमा चित्त बुझायो। व्यक्तिगत पुरस्कारतर्फ मेचीनगरका जयश खनाल उत्कृष्ट गोलकिपर घोषित भए। रोहन बूढाथोकी 'प्लेयर अफ द टुर्नामेन्ट' र अंकित दुलाल सर्वाधिक गोलकर्ता बने।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले प्रतियोगिताबाट छानिएका उत्कृष्ट खेलाडीको सूचीबाट झापा-१ का लागि विशेष टोली निर्माण गरिने बताए। ‘निर्णायक समितिबाट पाएको सूचीका आधारमा झापा-१ को टोली बनाउँछौं। यस टोलीले नेपालभर हुने प्रतियोगितामा झापा-१ लाई प्रतिनिधित्व गर्नेछ,’ उनले भने।

मैत्रीपूर्ण खेलमा कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको दुई गोलको मद्दतले राजनीतिक दलको टोलीले कलाकारको टोलीलाई ६–१ को फराकिलो अन्तरले हरायो। खेलमा शर्मासहित भास्कर काफ्लेले पनि दुई गोल गरेका थिए। कलाकारतर्फ बालकृष्ण निरौलाले एक गोल गर्दै सान्त्वना दिलाए।

महिला ‘ख’ ले महिला ‘क’ लाई १–० ले हरायो भने पेसा व्यवसायीले कर्मचारीमाथि ६–२ को सहज जित हात पारे।

प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए। उनले यस्ता प्रतियोगिताले लुकेका प्रतिभा उजागर गर्न सहयोग पुर्याउने उल्लेख गरे। विजेता, उपविजेता र व्यक्तिगत पुरस्कार विजेतालाई महामन्त्री शर्माले पुरस्कार वितरण गरे।

प्रकाशित: १ मंसिर २०८१ २०:१६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App