५ मंसिर २०८१ बुधबार
image/svg+xml
खेल

कमललाई अमेरिकामा दुई स्वर्ण

नेपालका कमल मगरले अमेरिकामा भएको अन्तर्राष्ट्रिय ब्याटल अफ डेटोनामा दुई स्वर्ण र एक रजतसहित तीन पदक जितेका छन्।

अमेरिकाको फ्लोरिडामा सम्पन्न मिक्स मार्सल आर्ट्सको प्रतियोगितामा कमल र अनुप थापाले समान तीन पदकसहित नेपालले ६ पदक प्राप्त गर्‍यो। कमलले पुरुष ब्ल्याक बेल्टको सफ्ट स्टायल र ट्रेडिसनल चाइनिज वेपन्समा स्वर्ण जितेका हुन्। 

ग्रान्ड च्याम्पियन खुला फम्समा भने उनी रजत पदकमा खुम्चिएको नेपाल उमा कुङ्फु संघले जनाएको छ। अनुपले पुरुष ७० केजीमुनि ओरिएन्टल बक्सिङ लाइट वेटमा स्वर्ण, लाइट कन्ट्याक्ट र एमएमए लाइट ओपन क्लासमा रजत तथा किक लाइटमा कांस्य जिते।

यसअघि उनले आफ्नो खेल करियरमा ६ स्वर्ण, तीन रजत र चार कांस्य जितेका छन्। कमलले थाइल्यान्डमा सन् २०१८ मा सम्पन्न विश्व च्याम्पियनसिपमा समान एक स्वर्ण र रजत, यसै वर्ष इङल्यान्डमा सम्पन्न उमा विश्व च्याम्पियनसिपमा समान एक स्वर्ण र कांस्य तथा क्रोएसियामा सन् २०१९ मा भएको वल्र्ड मार्सल आर्ट्स गेम्समा दुई स्वर्ण जितेका थिए। सोही वर्ष अस्ट्रियामा भएको विश्व कपमा पनि उनले दुई रजत र एक कांस्य तथा इङल्यान्डमा सन् २०२३ मा भएको युरोपियन च्याम्पियनसिपमा समान एक स्वर्ण र कांस्य जितेका थिए।

उनले सन् २०२० मा भएको भर्चुअल इन्टरनेसनल पेन्डामिक मार्सल आर्ट्स च्याम्पियनसिपमा पनि समान स्वर्ण र कांस्य हात पारेका थिए। कमलले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितमा निर्णायकको भूमिका पनि निर्वाह गरेका छन्। 

यसअघि अनुपले जापानको टोकियोमा सम्पन्न विभिन्न संस्करणको सुक वाङकिन्थोङ मुवाँथाईमा चार स्वर्ण पदक जितेका छन्। सोही प्रतियोगितामा नेपाल उमा कुङफु संघका अध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा तामाङले निर्णायकको भूमिका निर्वाह गरेका थिए। सिद्धार्थ र अनुप अमेरिकाको न्युयोर्कबाटै प्रतियोगितामा सहभागी भएका हुन्।

प्रकाशित: १३ कार्तिक २०८१ ०८:२४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App