११ कार्तिक २०८१ आइतबार
image/svg+xml
खेल

झापालाई बेलबारी गोल्डकपको उपाधि

<br>

७ औँ बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको उपाधि झापा ११ फुटबल क्लबले जितेको छ।

एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिता अन्तर्गत शनिबारको खेलमा झापाले सिराहाको सलहेस फुटबल क्लबलाई टाइब्रेकरमा ५–३ गोल फरकमा हराउँदै उपाधि जितेको हो। खेलको निर्धारित समयमा दुवै टोलीबाट १–१ गोलको बराबरीमा खेलेपछि खेल टाइब्रेकरमा धकेलिएको थियो।‍

जितसँगै झापाले ८ लाख रुपैयाँ, उपविजेता सिराहाले ४ लाख रुपैयाँका साथै ट्रफी प्राप्त गर्‍यो। टाइब्रेकरमा झापाका लागि दिनेश उराव, अभिषेक गुरुङ, शौरभ लिम्बू, उत्सव राई र देवेन्द्र तामाङले गोल गरे। सिराहाका राम थापा, आदित्य शाक्य र विप्लव गुरुङले गोल गरे भने समिर तामाङको प्रहारलाई झापाका गोलरक्षक सन्दीप लिम्बूले बचाउ गरे।

मध्यान्तरअघि दुवै टोली गोलरहित बराबरीमा खेलका थिए। ५० औँ मिनेटमा सिराहाका अजयी मार्टिनले हेडिङमार्फत गोल गर्दै टोलीलाई अग्रता दिलाए। ७१ औँ मिनेटमा झापाका प्रदीप बुढाथोकीले गोल गर्दै खेललाई बराबरीमा ल्याए। खेलको प्लेयर अफ द म्याच झापाका अभिषेक गुरुङले नगद ५ हजार र ट्रफी प्राप्त गरे।

त्यस्तै, झापाका सन्दीप लिम्बू उत्कृष्ट गोलरक्षक, उत्सव राई उत्कृष्ट मिड फिल्डर, सन्तोष गुरुङ उत्कृष्ट कोच र देवेन्द्र तामाङ सर्वश्रेष्ठ खेलाडी घोषित भए।

तामाङले १० हजार नगदसहित ट्रफी र अन्य खेलाडीले जनही ७ हजार नगद र ट्रफी प्राप्त गरे। सिराहाका अजयी मार्टिनले सर्वाधिक गोलकर्ता, समिर तामाङले उत्कृष्ट फरर्वाड हुँदै जनही ७ हजार नगद र ट्रफी प्राप्त गरे।

खेलाडीहरूलाई कोसी प्रदेशका सामाजिक विकास मन्त्री पाँचकर्ण राई, कोसी प्रदेशका सांसदहरू ज्ञानेन्द्र सुवेदी र मानबहादुर लिम्बू, बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राई र एन्फाका केन्द्रीय सदस्य दीपेन्द्र धिमाल, क्लबका अध्यक्ष विक्रम राई लगायतले पुरस्कार प्रदान गरेका थिए। 

प्रकाशित: १० कार्तिक २०८१ २०:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App