काठमाडौंको चित्लाङ फुटबल क्लब ७ औं बेलबारी आरजु राईस अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकपको सेमिफाइनलमा पुगेको छ।
मोरङको बेलबारी–११ लक्ष्मी मार्गमा जारी प्रतियोगिताअन्तर्गत सोमबार भएको खेलमा काठमाडौंले धनकुटाको राजारानी फुटबल क्लबलाई ३–१ गोल फरकमा पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको हो। काठमाडौंले अधिकांश समय धनकुटालाई दबाबमा राख्दै सहज जित निकाल्यो।
खेलको १६ औं मिनेटमा विदेशी खेलाडी हेनरीले काठमाडौंका लागि गोल गर्दै टोलीलाई अग्रता दिलाए । रोबर्टले कर्नर प्रहार गरेको बल धनकुटाका गोलरक्षकले पञ्च गर्दै क्लियर गर्न खोजको बल रिबाउण्ड बनेपछि उनले गोल गरे। ३३ औं मिनेट काठमाडौंका रोबर्टले गोल थप्दै अग्रतालाई दोब्बर बनाए।
हेनरीको क्रस पासमा रोबर्टले गोल गरेका हुन्। ५६ औं मिनेटमा रोबर्टले व्यक्तिगत गोल दोब्बर बनाए भने टोलीको गोल संख्या तेब्बर बन्यो। ६१ औं मिनेट धनकुटाका अनन्त तामाङले १ गोल फर्काए । खेलको म्यान अफ द म्याच रोबर्टले नगद ५ हजार प्राप्त गरे।
एलएक्स सिटी फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताअन्तर्गत मंगलबार काठमाडौंको ब्रिगेड ब्वाइज क्लब र बुटवलको बुटवल लुम्बिनी फुटबल क्लबबीच खेल हुनेछ।
प्रकाशित: ५ कार्तिक २०८१ १९:२९ सोमबार