३ कार्तिक २०८१ शनिबार
image/svg+xml
खेल

चार हजार मिटर उचाइमा पहिलोपटक पाँचपोखरीमा महिला ट्रेल रेस

समावेशिताको हिसाबले पाँच पोखरी विमन ट्रेल रेस २०८१ महत्त्वपूर्ण: राना

नेपालमा पहिलोपटक चार हजार मिटर बढी उचाइमा महिला ट्रेल रेस आयोजना गरिएको छ। विश्व समावेशी साहसी संस्था र सिन्धुपाल्चोकका १२ वटै पालिकाको सहकार्यमा ‘पाँच पोखरी विमन ट्रेल रेस २०८१’ आयोजना गरिएको हो।

उक्त प्रतियोगितामा २ घन्टा २८ मिनेटमा रेस पूरा गरेर खोटाङकी निर्मला राई ५० हजार पुरस्कार, कप, मेडल र प्रमाणपत्रसहित प्रथम स्थान प्राप्त गर्न सफल भइन्।

यसैगरी २ घन्टा ४९ मिनेटमा रेस पूरा गरेकी ओखनलढुंगा घर भई नेपाल पुलिस क्लबमा कार्यरत लक्पा निग्मा शेर्पा दोस्रो हुँदै २५ हजार पुरस्कार, कप, मेडल र प्रमाणपत्र पनि प्राप्त गरिन्। हेलम्बुकी नितु तामाङले २ घन्टा ५८ मिनेटमा रेस पूरा गरेर तेस्रो स्थान हासिल गर्दै १५ हजारसहित कप, मेडल र प्रमाणपत्र गरिन्।

तीन घन्टा ११ मिनेटमा रेस पूरा गरेकी सिन्धुपाल्चोककै अस्मिता भुजेल चौथो पुरस्कारका रूपमा १० हजार, मेडल र प्रमाणपत्र पाइन्। तीन घन्टा १८ मिनेटमा रेस पूरा गरेर रोल्पाकी आस्मा विक पाँचौं हुँदै पाँच हजार पुरस्कार, मेडल र प्रमाणपत्र पाइन्। ५४ वर्षीया सुकुमाया विकले सहभागिताका लागि मायाको चिनोस्वरूप नगद पुरस्कार प्राप्त गरिन्।

रेस जित्ने तथा सहभागी महिला धावकलाई उपसभामुख इन्दिरा रानाले कपसहित पुरस्कार तथा मायाको चिनो र प्रमाणपत्र वितरण गरिन्। उपसभामुख इन्दिरा रानाले यो म्याराथनले महिला सशक्तीकरण र पर्यटनमा टेवा पुर्‍याउने बताइन्। समावेशिताको हिसाबले पनि यो म्याराथनले उच्च सन्देश दिएको उनको भनाइ थियो।

‘विश्वकै अग्लो हाइटबाट बहिनीहरूले म्याराथन गर्नु गर्वको कुरा हो। सँगै पर्यटन प्रवर्द्धनका लागि यो महत्वपूर्ण छ,’ उनले भनिन्, ‘मौलिकता, संस्कृति झल्किने गरी बाटो र बस्ती विकास गर्न सुझाव दिँदै रानाले अर्गानिक र मौलिकता नै पर्यटकीय सम्भावना भएको हो।’

उनले  पाँचपोखरीको डाँडाहरूमा धान झुलेको देखेर आफू मोहित भएको अनुभूति व्यक्त गर्दै यो ठाउँले प्रशस्त सम्भावना बोकेकाले इको पर्यटनलाई प्रवर्द्धन गर्न अनुरोध गरिन्। सडक स्तरोन्नति निर्माणका लागि आफूले सक्दो पहल गर्ने उनले प्रतिबद्धता जनाइन्।

पाँचपोखरी थाङपाल गाउँपालिकाकी उपाध्यक्ष सुनिता अधिकारीको नेतृत्वमा सम्पन्न ट्रेल रेसमा ५१ जनाले भाग लिएका थिए। ट्रेल रेसका लागि उमेरले ५० कटेकी उपाध्यक्ष अधिकारीसहित महिला तथा किशोरीहरू २८ असोजमा पाँचपोखरी गएका थिए। २८ किलोमिटरको दूरी र ४१ सय मिटर उचाइमा रहेको पाँचपोखरीबाट शुक्रबार बिहान सात बजे रेस सुरु भएको थियो।

पाँचपोखरी गाउँपालिकाकी उपाध्यक्ष अधिकारीले ४१ हजार मिटर उचाइमा महिला ट्रेल रेस गरिएको पहिलोपटक भएको बताइन्। उनका अनुसार ट्रेल रेसमा विभिन्न जिल्लाका ५१ जना महिला छन्, जसमा १७ देखि ६० वर्षसम्मका छन्।

प्रकाशित: ३ कार्तिक २०८१ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App