२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

ज्ञानेन्द्रको कप्तानी इनिङ, विराटनगरमाथि काठमाडौंको रोमाञ्चक जित

धनगढी – लगातार चौंथो खेलमा जित निकाल्दै काठमाडौं गोल्डेन्सले रुस्लान धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेटमा अपराजित यात्रालाई निरन्तरता दिएको छ। काठमाडौंले विराटनगर किङ्सलाई रोमाञ्चक खेलमा ६ विकेटले स्तब्ध बनायो।

विराटनगरले दिएको १ सय ६५ रनको लक्ष्य काठमाडौंले अन्तिम बलमा भेट्टायो। निकै प्रतिस्पर्धात्मक बनेको खेलमा काठमाडौंलाई अन्तिम ओभरमा ६ रन आवश्यक थियो।

१९ औं ओभरमा बलिङ गर्न आएका विराटनगरका रामनरेश गिरीले पहिलो बलमा कुनै रन दिएनन्। त्यस्तै गिरीको दोस्रो बलमा १, तेस्रो बलमा र चौंथो बलमा २ रन प्रहार गरेपछि खेल अझ रोमाञ्चक बनेको थियो। अन्तिम २ बलमा काठमाडौंलाई जितका लागि १ रन आवश्यक रहेको समयमा पाँचौ बलमा कुनै रन बन्न सकेन।

अन्तिम बलमा १ रन आवश्यक भएको समयमा कप्तान ज्ञानेन्द्र मल्ले छक्का प्रहार गरेपछि काठमाडौंले रोमाञ्चक जित दर्ता गर्यो। अन्तिम ओभरमा विराटनगरका सौरभ खनालले क्याच छुटाएका थिए भने रन आउट गराउने सुनौलो अवसर पनि गुमाएको थियो।

काठमाडौंका लागि कप्तान ज्ञानेन्द्र मल्लले नटआउट सर्वाधिक ६८ रन जोडे। मल्लले ४० बलमा ५ चौका र ४ छक्का प्रहार गरे। भुपेन्द्र थापाले २८ बलमा ३ चौका र २ छक्काको सहायतामा ३६ रन बनाए। त्यस्तै सन्नी पटेलले १० बलमा २५, पुष्प थापाले १७ बलमा २४ र सुवोध भाटीले १० रनको योगदान दिए। विराटनगरका बसन्त रेग्मीले २ तथा पारस खड्का, सुब्हम कामत र मंजित श्रेष्ठले एक–एक विकेट लिए।

आजको खेल जितेको भए विराटनगरले प्ले अफमा स्थान सुरक्षित गर्ने थियो। विराटनगरले खेलेका अघिल्ला ३ खेलमा २ मा जित र १ मा हार व्यहोरेको थियो।

यसअघि धनगढीस्थित संघीय प्रहरी इकाईको मैदानमा टस जितेर पहिला व्याटिङ गरेको विराटनगर किङ्सलले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ६४ रन बनाएको थियो।

विराटनगरका लागि बाबर हयातले सर्वाधिक ६७ रनको योगदान दिए। उनले ३३ बलमा ३ चौका र ७ छक्का प्रहार गरे। हयात १७.५ ओभरमा टिमको स्कोर १३३ रन हुँदा सुबोथ भाटीको बलमा बोल्ड आउट भए।

पहिलो विकेटको रुपमा टिमको स्कोर ३८ रन हुँदा अनिल कुमार शाह राशिद खानको बलमा ललित राजवंशीको हात बाट क्याच आउट भए।
विराटनगरले ९.१ र ९.४ ओभरमा लगातार विकेट गुमायो। ९.१ ओभरमा टिमको स्कोर ७० रन हुँदा दिलिप नाथ व्यक्तिगत ३३ रन जोड्दै ललित राजवंशीबाटै आउट भए भने ९.४ ओभरमा ललितकै बलमा सुब्हम कामत ० रनमा सहाब आलमबाट क्याच आउट भए।
११.५ ओभरमा विराटनगरले चाैंथो विकेट गुमायो। पवन सर्राफ २ रनमा ललित राजवंशीकै बलमा टिमको स्कोर ७६ रन हुँदा कप्तान ज्ञानेन्द्र मल्लबाट क्याच आउट भए।

विराटनगरको १७ औं ओभरमा १२० रन जोड्दा अर्को विकेट पतन भयो। बसन्त रेग्मी १३ बलमा १० रन जोडदै रन आउट भए।
त्यस्तै १८.२ ओभरमा अर्का खेलाडी पृथु बास्कोटा ११ रनमा क्याच आउट भए। उनी रसिद खानको बलमा नरेश बुढाएर बाट क्याच आउट भए।

विराटनगरले ८ औं विकेटका रुपमा १९.४ ओभरमा सौरभ खनाललाई गुमायो। खनाल ९ रन जोडदै रन आउट भए।
त्यस्तै कप्तान पारस खड्काले नटआउट ८ रनको योगदान दिए।

काठमाडौंका लागि ललित राजवंशीले ३ रासिद खानले २ तथा सुवोध भाटीले १ विकेट लिए। विराटनगर किङ्सको कप्तानमा पारस खड्का र काठमाडौं गोल्डेन्सको कप्तान ज्ञानेन्द्र मल्ल हुन्। खेलकाे म्यान अफ दि म्याच ज्ञानेन्द्र मल्ल भए। विराटनगरले अब प्लेअफमा स्थान बनाउन अन्तिम खेल जित्नैपर्ने भएको छ।  जितसँगै काठमाडौं ८ अंक सहित पहिलो स्थानमा छ भने पराजित विराटनगर तेस्रो स्थानमा यथावत रहेको छ। 

प्रकाशित: २३ चैत्र २०७४ ०८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App