८ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

राखेपमा हेल्प डेस्क स्थापना

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले हरेक खेलका प्रिमियर या फ्रेन्चाइज लिग आयोजनामा प्रोत्साहन गर्ने उद्देश्यले हेल्प डेस्क स्थापना गरेको छ।

नेपालमा हुने प्रिमियर लिगलाई प्रोत्साहित गर्न यस किसिमको व्यवस्था गरिएको उल्लेख गर्दै राखेपले अन्य संघले गर्ने लिगमा पनि सहयोग गर्ने स्पष्ट पारेको छ। 

राखेपले नेपाल क्रिकेट संघ (क्यान) द्वारा आयोजित नेपाल प्रिमियर लिग (एनपिएल) का लागि हेल्प डेस्क स्थापना गर्दै यसको सुरुआत गरेको हो। राखेप सदस्यसचिव टंकलाल घिसिङले राष्ट्रिय खेल संघले नेपालमा आयोजना गर्ने अन्तर्राष्ट्रिय प्रतियोगितामा डेस्कले आवश्यक समन्वय गर्ने बताए।

हेल्प डेस्कको उद्घाटन गर्दै सदस्यसचिव घिसिङले विदेशी खेलाडीका लागि आवश्यक पर्ने सम्पूर्ण प्रक्रियामा डेस्कले काम गर्ने जानकारी दिए।

घिसिङले क्यानको कार्यक्रमलाई आवश्यक समन्वयका लागि सुरु गरेको डेस्कले सबै प्रकारका अन्तर्राष्ट्रिय प्रतियोगितामा सहजीकरण गर्ने भन्दै विशेष कार्यक्रममा समन्वयका लागि डेस्क स्थापना गरिएको बताए। क्यानले आगामी मंसिर १५ देखि पुस ७ गतेसम्म एनपिएल सञ्चालन गर्दै छ।

एनपिएल व्यवस्थापन डेस्कले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको लिग तथा फ्रेन्चाइज लिग सन्चालन तथा आयोजनासम्बन्धि कार्य गर्ने गरी डेस्क स्थापना गरिएको हो। कार्यक्रममा क्यानका सचिव पारस खड्काले राखेपले सुरु गरेको लिग व्यवस्थापन डेस्कमार्फत्मा लिग सम्पन्न गराउन महत्त्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे।

राखेपले प्रशासकीय अधिकृत सानुराजा केसी संयोजक रहने गरी प्रशासकीय अधिकृत धन शाही र लेखापाल खेमशंकर अधिकारी सदस्य रहेको तीन सदस्यीय डेस्क स्थापना गरेको खेलकुद विकास विभाग प्रमुख सरोज पोखरेलले जानकारी दिए। 

हेल्प डेस्कले एनपिएल आयोजनामा सहजता प्रदान गर्ने आशा व्यक्त गर्दै यो कामले सबैमा सकरात्मक सन्देश प्रवाह हुने बताए। परिषद्को वर्तमान नियमित कार्यशैलीमा अपडेट गर्नुपर्ने आवश्यकता देखिएको समयमा हेल्प डेस्कको राखेर सहजीकरण गरिएको सदस्यसचिव घिसिङको भनाइ छ।

प्रकाशित: ८ आश्विन २०८१ ०७:०४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App