बैतडी – सदरमुकाम नजिकैको सुन्दरखाली क्रिकेट मैदानमा ४ वर्ष अघिसम्म क्रिकेट प्रतियोगिता संचालन हुन्थ्यो। त्यही मैदानमा खेलाडीले अभ्यास समेत गर्न पाउथे। जिल्ला स्तरदेखि क्षेत्रीयस्तरका प्रतियोगिता हेर्ने पाउँदा स्थानीयबासी हर्षित थिए। तर अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्माण कार्य सुरु भएपछि प्र्रतियोगिता समेत हुन पाएको छैन।
मैदान निर्माण कार्य अधुरो भएपछि खेल सञ्चालन हुन नसकेको हो। राष्ट्रिय खेलकुद परिषदको लापरवाहीले निर्माण कार्य अधुरो रहेपछि खेल्न लायक मैदान झन बिगारेको खेलाडी बताउँछन्। बनेको मैदान भत्काइएपछि प्रतियोगिता हुन सकेको छैन। जिविस, नरपालिकाको सहयोगमा निर्माण भएको मैदान निर्माण कार्य रोकिएपछि खेल्नलायक नहुँदा जिल्लामा क्रिकेट गतिविधि सुस्ताएको छ।
तीन वर्षमा करिव ११ करोड ५० लाख लागत अनुमानसहित निर्माण हुने मैदानको काम अघि बढ्न सकेको छैन। सरकारले मैदान निर्माणको लागि रकम निकासा नगर्दा खेलमैदान अलपत्र परेको हो। मैदान सम्याउन करिव १ करोड १९ लाखमा ठेक्का भए पनि पुरै रकम निकासा नहुँदा मैदान सम्याउने काम समेत अधुरो छ। निर्माण कार्य अनिश्चित भएसँगै स्थानीय खेलाडीका लागि खेलमैदान अभाव भएको छ बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष लालबहादुर चन्दले बताए।
दुई दशक अघि बैतडीमा क्रिकेट भित्रिएसँगै सुन्दखालीमा क्रिकेट फिल्ड निर्माण गएिको थियो। यही फिल्डमा अभ्यास गर्दा गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याएका यहाँका खेलाडीको लागि मैदानको नै अभाव हुन चिन्ताको विषय भएको अध्यक्ष चन्दको भनाइ छ। सुविधासम्पन्न स्टेडियम निर्माण सुरु हुँदा उत्साहित बनेका क्रिकेट प्रेमी तथा प्रतिभावान खेलाडी अहिले चिन्तित भएकाले निर्माण कार्य अघि बढनुपर्ने स्थानीय बताउँछन्।
नियमित अभ्यासका साथै स्थानीय प्रतियोगिता संचालन गर्न नसकिने अवस्था आएकाले खेल मैदानको निर्माण सुरु हुनुपर्ने स्थानीय क्रिकेट खेलाडी मोहित भण्डारीले बताए। ‘जिल्लामा विभिन्न प्रतियोगिता हुन्थ्ये,’ उनले भने, क्षेत्रीय छनोट प्रतियोगतादेखि विभिन्न क्रिकेट प्रतियोगिता हुँदा हामी उत्साहित थियौ।’
मैदान भत्काइएपछि स्थानीय खेलाडी सदमुकामभन्दा १० किलोमिटर टाढाको देहिमाण्डौं र रातामाटाको बुड्डाबाजे मैदान जानुपर्ने बाध्यता सिर्जना भएको छ। टाढाको खेल मैदान एकातिर सानो आकारको छ, भने समय र खर्चिलो भएको खेलाडीको गुनासो छ।
अन्तर्राष्ट्रिय स्तरको क्रिकेट स्टेडियम ५५ गजभन्दा बढी खेलमैदान, डे«सिङरुम, पेभेलियन, प्रशासकीय भवन, जिम हल, प्राक्टिस हलसहितको सुविधासम्पन्न खेलमैदान बनाउने भनिए पनि निर्माण कार्य रोकिँदा खेलमैदान अलपत्र अवस्थामा छ।
प्रकाशित: १९ चैत्र २०७४ ०८:२९ सोमबार