२८ भाद्र २०८१ शुक्रबार
image/svg+xml
खेल

दोस्रो ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लब मोरङलाई

दोस्रो आमन्त्रण ताप्लेजुङ गोल्डकपको उपाधि सगरमाथा यूथ क्लब मोरङले जितेको छ । कोसीको सगरमाथा यूथ क्लबले मधेस प्रदेशको सलहेश फुटबल क्लब सिराहालाई १–० गोल अन्तरले पराजित गर्दै उपाधिका साथ नगद ५ लाख रुपैयाँ हात पारेको छ । 

खेलको ३ मिनेटमै सगरमाथा यूथ क्लब मोरङका विजय भुजेलले टिमका लागि निर्णायक गोल गरे । मिलन राईको पासलाई उत्कृष्ट फिनिसिङ गर्दै विजयले टिमका लागि गोल गरे । उनको गोल नै सगरमाथालाई जिताउन पर्याप्त बन्यो । जोन ग्लोरी,सेवेए,कार्लोस साम र स्टेफेन गरी ४ विदेशी खेलाडी लिएर मैदान उत्रिएको सलहेश उपबिजेता मात्र बन्यो ।

उसले नगद २ लाख ५० हजार ५ सय ५५ रुपैयाँका साथ ट्रफी,मेडल र प्रमाण–पत्र पाएको छ । पासको लय मिले पनि फिनिसिङमा चुकेको सहलेशले गोल फर्काउन सकेन । मध्यान्तर पछि खेलमा दुवै टिमले आक्रामक खेल खेले । सलहेशले खेलमा फर्कन फरवार्ड खेलाडी सृजन गौतमलाई मैदान बाहिर पठाएर स्टेफेनलाई मैदान उतारेको थियो । स्टेफेनलाई फेरि बेन्चमा राखेर सुशील यादवलाई मैदान उतारियो ।

 खेलको आखिरी समयमा मोरङले सुदिप श्रेष्ठको स्थानमा बिकु तामाङ र पुनम राईको ठाउँमा भुवन बस्नेतलाई मैदान उतारेको थियो । फाइनल खेलमा मिलन राई,अशोक खवास,विवेक पौडेल,सौभाग्य राई तथा जोन ग्लोरीले फाइनल खेलमा पहेँलो कार्ड पाए । मोरङका मौसम सुब्बा सस्पेन्स भएर मैदान बाहिर बस्दा उनको ठाउँमा दोर्जे तामाङले फरवार्डमा खेलेका थिए ।

 सलहेशले सेमिफाइनलमा  झापाको बिर्तामोड युनाइटेडलाई र सगरमाथा यूथ क्लब मोरङले गृहटीम सङ्घर्ष स्र्पोटिङ क्लबलाई पराजित गरी फाइनलमा स्थान बनाएका थिए । खेलमा विभागीय टिम त्रिभुवन आर्मी,बुटवल लुम्बिनी एफसी,भारत सिलगुढीको कञ्चनजंघा फुटबल क्लब र पाँचथरको वाईवाई पाँचथर फुटबल क्लब गरी ८ टिम सहभागी थिए । 

समापन समारोहमा प्रतिनिधिसभाका सांसद तथा पूर्व मन्त्री योगेशकुमार भट्टराई,संविधानसभाका सदस्य डम्बर ध्वज तुम्बाहाम्फे,कोसी प्रदेश सरकारका पूर्व मन्त्री प्रदेशसभा सदस्यद्धय तिलकुमार मेन्याङ्वो र निर्मला तावा,प्रदेशसभा सदस्य खगेनसिंह हाङगाम,जिल्ला समन्वय समिति ताप्लेजुङ र पाँचथरका प्रमुख क्रमशः छिरिङ लामा र रामराज आङदेम्बे सहितको उपस्थिति रहेको छ ।

प्रकाशित: १० भाद्र २०८१ १६:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App