६ मंसिर २०८१ बिहीबार
image/svg+xml
खेल

त्यसपछि मैले सगरमाथा देखें

नियात्रा

भर्खर मिर्मिरे हुँदै छ। पूर्वमा लाली चढ्दै गरेको देखिन्छ। उज्यालो जमिनमा झरिसकेको छैन। सगरमाथा आधार शिविरको अन्तिम बस्ती गोरक्क्षेप अँध्यारोमा कतै हराएको छ। केही देखिँदैन अन्धकारबाहेक।

‘टर्चलाइटको उज्यालोलाई पछ्याउँदै हिँड्नुपर्छ। अबेर गर्नुहुँदैन। घाम झुल्केपछि कालापत्थरमा हुन्डरीले मान्छे उडाउँछ’ बुद्ध होटलका पेम्पा शेर्पाले हिजै राति भनेको कुरा मनन गर्दै म हिँड्ने तयारीमा छु। न्यानो लुगामा शरीरलाई गुम्स्याएपछि लट्ठी र पन्जा बोकेर म होटलको लबीमा निस्कन्छु।

‘ए, तपाईं अझै हिँड्नुभएको छैन ? अब ढिला नगर्नुस्, हिँडिहाल्नुस्।’ होटलका भाइले मलाई देख्नासाथ भन्छन्। हुन पनि अरूू अघि नै हिँडिसकेका रहेछन्। टाउकामा टर्चलाइट बाँध्छु। हातमा पन्जा लगाउँछु र लट्ठी समात्छु। आँखा नियाल्छु बाटो खोज्दै। खुट्टा हिँडाउँछु हतार गर्दै। होटलबाट बाहिर निस्कन्छु। बन्द कोठाभित्र बालिएका बत्तीको मधुरो उज्यालो देख्छु। त्यही उज्यालोले होटल र बाटो छुट्याउन सजिलो हुन्छ।

‘गोरक्क्षेपको बगर सकिएपछि पूर्वतिर एभरेस्ट बेस क्याम्प जाने बाटो आउँछ। त्यता नगई तपाईं उत्तरतिर ठाडो उकालो लाग्नुहोला है।’ होटलवाला दाइले मलाई भनेको कुरा यात्रामा याद आउँछ। परन्तु झिस्मिसेअघिको बगरमा पूर्व र उत्तर खुट्याउन नसकेर अलमलमा पर्छु। यसो नियाल्छु आफू आएको बाटो। पर निकै पर घुर्मैलो बत्तीको प्रकाशमा गोरक्क्षेप अँध्यारैमा मस्तले सुतिरहेको छ। कालो पहाडतिर हेर्छु, माथि धेरै माथि जूनकिरीजस्तै बत्तीको झिमिक्क–झिमिक्क देख्छु।

डर र खुसीले एकसाथ मलाई अँगाल्न आउँछन्। त्यतिबेला होटलवालाले मलाई गरेको माया सम्झिन्छु। उनले मप्रति देखाएको सद्भावले म गदगद हुन्छु।

‘विदेशी र भरियाको भिडमा आजसम्म तपाईंजस्तो एक्लो नेपाली यात्री नदेखेकाले, तपाईं कत्रो आँट लिएर यहाँ आइपुग्नुभयो? तपाईंप्रति माया लागेर मेरो चासो जागेको हो।’ होटलवाला शेर्पा दाजुका कुरा मेरा कानमा प्रतिध्वनित भइरहन्छन्। यस्तो बिरानो ठाउँमा यति मात्र मायाको आभास पाउनु पनि जीवनदानकै पहिचान हो भन्ठान्छु।

‘बगर सिद्धिएर उकालो आयो। कालापत्थर जाने बाटो यही हो है साथी हो’ भन्दै टुरिस्ट गाइडले आफ्ना पाहुनाहरूलाई धमाधम उकालो बाटो हिँडाएको देख्छु। अब मेरो मन ढुक्क हुन्छ। अघिसम्मको ढक्कपन एकछिनमा गायब भएर भाग्छ।

मक्ख पर्दै कालापत्थरबाट देखिने सगरमाथाको कल्पनातीत दृश्य–सौन्दर्यको परिकल्पनामा डुबुल्किँदै हिँड्छु। केहीबेरको मेरो अलमलले अब गति लिन्छ किनभने गुनगुन गर्दै आउने पदयात्रीको लर्को म उभिएकै छेउमा आएर उकालो लाग्छ। म उनीहरूका पाइला पछ्याउँदै आँखा हिँडाउँछु।

कालापत्थरको उकालो चढ्नेहरूको ताँती देखेर मेरो यायावरी मन खुसीले बुर्कुसी मार्न थाल्छ किनभने एकलासको यो एकान्त हिमाली पाटोमा चिन्नेहरू कोही नहुँदा पनि एक्लोपनको अभाव खड्किँदैन रहेछ।

‘ऊ तल हेर्नुस् त हामी आएको बाटो,’ विदेशीको हुलमा केही नेपालीमध्ये एकजनाले भनेको कुरा मेरो कानमा पर्छ। मलाई भनिएको होइन तर म त्यो कुरा सुन्छु। र, तल धेरै तल आँखा नियालेर हेर्छु– ओहो! उकालो चढेर आएको बाटो त निकै लामो रहेछ।

आधा घण्टामा निकै उकालो चढिसकिएछ। ‘अँ, लामो छ नि ज्यानमारा ठाडो उकालो बाटो। अझै बिहान भइसकेको छैन। राति नै छ। अब तलतिर हेर्ने होइन, मास्तिर आँखा तन्काउने हो है,’ फेरि तिनै नेपालीको आवाज मेरो कानमा पर्छ।

मानिसको हुलमुल छ। चिनारु चेहरा कसैको छैन। कोही पनि चिनिँदैनन्। यद्यपि मित्रमिजासको आफ्नोपन छँदै छ। टाउकामा बाँधिएको लाइटले गर्दा अनुहार देखिन्छ, तर चिनिँदैन। अँध्यारो सन्नाटाबाट सुसेलिएको आवाजमा चिनजानको बोली लाग्दैन। नचिनेको, नबोलेको मान्छेलाई देखेर स्वर र अनुहारले चिनिने कुरा भएन।

‘अब उकालो कति बाँकी छ अङ्कल ? थाकेर लखतरान परियो। एकछिन बिसाउने हो कि भनेर,’ कुनै अपरिचित भतिजले अगाडि उकालो उक्लिँदै गरेको काकासँग सोधेको कुरा पनि मेरो कानमा पर्छ।

‘अब कालापत्थर पुग्नै लागियो भतिज। अलि छिटो पाइला लम्काऊ है। बिसाउने काम छैन। थाप्लो पुगेपछि जति थकाइ मार्नु छ मारौँला। जे गर्नु छ गरौँला।’

काकाको कुरा भतिजको कानमा पस्यो पसेन कुन्नी तर मेरो कानैमा पस्यो। एक्लो यात्रामा अरूका संवाद सुनेर पनि गन्तव्य भेट्न सजिलो हुने रहेछ भन्ने ज्ञान पाउँदै छु। त्यही ज्ञानलाई शिरोधार्य गरी देशान्तरका यात्रीहरूका साथ सहयात्री बनेको छु।

‘धैर्य र साहसले मात्रै हो उकालो छिचोल्ने। रहर गरेर मात्र हुँदैन रहेछ बाबै! हामीले महिना दिनभन्दा बढी अभ्यास नगरेको भए कहाँ यति सजिलै यहाँ आइपुग्न सकिन्थ्यो र ?’ एकजना विदेशीले कुरा गरेको सुन्छु।

थाकेर हिरिक्कै हुन लागेका विदेशी समूह छन्। भारी बोकेर पनि मज्जैले हिँडिरहेका बलिया ज्यान छन्। तिनले आपसमा बोलेका कुरातिर पनि मेरो ध्यान जान्छ। तिनको विदेशी भाषालाई मुस्किलले नेपालीमा रूपान्तरण गरेर बुझ्ने कोसिस गर्छु।

अनि बुझेको भावमा सोच्छु– साँच्चै कालापत्थरको उकालो निकै कठिन र जोखिमकै हो। विदेशीहरूले कैयौं दिन अभ्यास गरेर त यहाँ कठिन महसुस गरिरहेछन् भने मैले के अभ्यास गरेँ र ? धन्न यतिका दिनसम्म कुनै गाह्रोपनको अनुभव गर्नु परेको छैन।

‘पाँच सय रुपियाँको एक बोतल मिनरल वाटर एक घुट्कोमै सकिएको पत्तै भएन। यस्तो ठाउँमा पैसाको के कुरा ? किनेर खान पाउनु पो पाउनु हो।’ नेपाली–नेपाली यात्रीको कुरा पनि मेरो कानमा पर्छ। कालापत्थर आउनेहरूमा नेपाली पथप्रदर्शकबाहेक मजस्तै तर समूह बनाएर घुम्न आएका केही नेपाली पर्यटक पनि रहेछन् भन्ने अनुमान गर्छु।

‘यस्तो ठाउँमा सबै चिज बोकेर ल्याउनुपर्छ। त्यही भएर महँगो भएको हो। हुन त पानीको मुहानमै यति साह्रो मूल्य चर्कै हो।’ तिनैले भनेको कुरा मनमा टिप्छु।

उकालोमा हिँड्दै जाँदा नसुने पनि धेरै कुरा सुनिन्छ। नसुनूँभन्दा पनि सुन्नुपर्ने हुन्छ। धेरैसँग जम्का भेट हुन्छ, भइरहन्छ। भेटुन्जेलको भेटहरू मात्र होइन, जिन्दगीभरिको पहिलो र अन्तिम भेट पनि यही हुने रहेछ। वास्तवमा ती प्रत्येक भेटका भलाकुसारीहरू सुनेर मनन–महसुस गर्दा यात्रामा निकै फलदायी साबित हुने रहेछन्।

काका–भतिजको संवादले पनि कालापत्थरको टुप्पोमा पुग्न साहस र शक्ति दिएको हो। अन्यथा अल्छी मान्दै बिस्तारै पाइला लम्किन्थ्यो। बडेमानका काला ढुङ्गालाई पैतालाले टेकेर अगाडि बढ्नु भनेको ठुलै विजयको कुरा हुने रहेछ। चिसोपनको कुनै आभास नलिई हिँड्नु भनेको पनि साँच्चैको रोमाञ्चक पदयात्रा हुँदोरहेछ।

अहिले एकैछिनमा सर्वोच्च शिखरको सौन्दर्यलाई देख्नु छ भन्ने तीव्र कौतुहलले पनि हिँडाइको गतिले वेग मार्ने रहेछ। विदेशी यात्रीलाई थकाइको एकरत्ति बोध र बोझ नभएको देखेर मलाई अचम्म लाग्छ। बोल्न र हिँड्न पनि सकेकै छन्। खानपिउन र यात्राको मज्जा लिन पनि जानेकै छन्। फोटो खिच्ने, मुभी लिने, बस्ने, बिसाउने र रोमाञ्चक पदयात्राको खास मज्जा लिनसमेत जानेका छन्।

पाइला सार्दासार्दै खुट्टा चिप्लिने जोखिममा सावधानीले पाइला चाल्नुपर्ने रहेछ। त्यस्तै चिसोले ज्यान जाने डरलाई मन र मुटु दह्रो बनाएर हिँड्नुपर्ने रहेछ। यी कुरा मैले यात्राकै क्रममा यात्रीहरूकै बोलीबाट थाहा पाउँछु। थाहा नभएको त होइन तर यस्तो कठिन परीक्षणको घडीमा आत्मबल, आत्मविश्वास निकै ठुलो कुरा हुने मैले बल्ल बोध गर्दैछु।

बाटै ढाकेर बसेका पत्थरहरू कति हो कति ? बाटो होइन पत्थरको उरुङखातजस्तो। तिनै चुच्चा, भिराला र ज्यानमारा पत्थर टेक्दै कालापत्थरको शिरमा बल्ल पुगिएछ। हामीभन्दा अघि नै कैयौँ विदेशीहरू जोखिमको कालो पत्थरमाथि उभिएर चिच्याउँदै रमाइरहेका रहेछन्। आफ्नै भाषामा गीत गाउँदै, खुसीले नाच्दै एक प्रकारले पागलजस्तै विदेशी पर्यटकहरू देख्छु।

हेर्दै डरलाग्दो, देख्दै सातो जाने हाँडीघोप्टे कालो पत्थरको थुप्रो रहेछ। त्यहाँ न बस्ने ठाउँ, न उभिएर हेर्ने सुविधा। विदेशीले भनिरहेको गुनासो सुन्छु। जुन स्वाभाविक लाग्छ– ‘यत्तिका पर्यटक ओइरिएका छन्। अलिकति सुविधा पनि छैन। कम्तीमा अलिकति बस्ने स्थान त बनाइदिनुपर्छ।’

असुविधा हुँदाहुँदै पनि पदयात्रीको घुइँचोले एकाबिहानै कालापत्थर भरिभराउ छ। मलाई अचम्म लाग्छ कि बिनासुविधा पनि यत्तिका पर्यटक यहाँ कसरी आएका होलान् ? लाग्छ, सबै जना सगरमाथाको प्रेम र सर्वोच्च चुलीको सौन्दर्यले लोभिएर यहाँसम्म आएका हुन्।

देख्छु सबैको ध्यान हिमालतिरै छ। सबैले हेर्न आएको विश्वकै सर्वोच्च चुली सगरमाथा यहींबाट नजिकै देखिन्छ। सर्वोच्च चुचुराका सौन्दर्यलाई चुमेर मायाको मिठो आभास लिनेहरूको एकाबिहानै भिडामभिड छ। प्राकृतिक सौन्दर्यको यो गहिरो प्रेम। संसारकै अग्लो हिमाल हेर्नेहरूको यो अलग्ग अनुष्ठानको थलो।

‘एकजना विदेशी बुढा अङ्ग्रेजी भाषामा भनिरहेछन्– ‘आँखा हिमालतिर मात्र होइन आफ्नो खुट्टातिर पनि राख्नुस्। लडियो भने कहाँ पुगिन्छ केही थाहा हुँदैन। यो ज्यानमारा ठाउँ हो। बाँचियो भने फेरि अर्को सिजनमा आउनुपर्छ।’

भुकभुके उज्यालोको आगमनसँगै कालापत्थरमा भेला भएका लगभग सय जनाको भिडमा बेग्लाबेग्लै भाषाको आवाज गुन्जिन्छ– सुखी र सफलता, हर्ष र प्राप्तिको ठुलो उपलब्धिपछिको दुर्लभ उपहारजस्तै। ‘माउन्ट एभरेस्ट’ सम्बोधनका साथ सबै खुसीले बुरुक्कबुरुक्क उफ्रिँदै चिच्याउन थाल्छन्।

तथापि यो कस्तो खुसी हो जुन अव्यक्त छ। यो कुन सुखीको नाउँ हो जुन भन्न सकिँदैन रहेछ। त्यसपछि मैले मेरै आँखा सामुन्ने सगरमाथा देखेँ। यतिका दिनको यात्राको अन्तिम बिसौनी यो गन्तव्यमा आएर टुङ्गिएको छ। सगरमाथाको सन्निकट दर्शन पाएर म निःशब्द भएको छु।

आहा! कति समुन्नत, सर्वाेच्च शिखर, सर्वाेच्चको सौन्दर्यले सबैलाई चुमिरहेको। सबैले सगरमाथाको सौन्दर्यपान गरिरहेको ! बतासको वेगसँगै मेरो कानमा यही आवाज गुन्जिन्छ। मलाई लाग्छ– सगरमाथा जस्तै यो शब्द उँचो छ। यो शब्द कति पवित्र र कति मिठो छ। कति शान्त, कति सुन्दर, कति मनोरम छ !

‘७८६१ मिटर उचाइको पुमोरी हिमाल कालापत्थरकै नजिक छ। ५५४० मिटरको उचाइमा अवस्थित कालापत्थरबाट सगरमाथालगायत अन्य हिमाली शृङ्खलाहरू वरिपरि घुमेर हेर्न सकिन्छ।’

अङ्ग्रेजी भाषामा एकजना विदेशी धमाधम कतै जानकारी सम्प्रेषण गरिरहेछन्। फोटो खिच्ने र खिचाउनेहरूको बेग्लै भिड छ। सगरमाथा देखेर नलोभिने को होला ? ग्वारग्वार्ती पदयात्रीको लस्कर घाम झुल्किनुअघि मात्र अत्यधिक हुने रहेछ। घाम छिप्पिएर हिमाल टल्किएपछि, हावा चम्किएपछि कालापत्थरमा बस्ने आँट कसैले नगरे हुने रहेछ। हिमाल हेर्नसमेत नसकिँदो रहेछ।

प्रकाशित: २९ असार २०८१ ०९:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App