१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
खेल

युरो कप २०२४ः इतिहास बनाउने सँघारमा स्पेन

दुई पटकको विजेता स्पेन कसरी युरो कपको फाइनलसम्म पुग्यो भनेर कसैले प्रश्न गर्‍यो भने भन्दिए हुन्छ, एकदमै कठिन परस्थिति पार गरेर।

हुन पनि हो, लुइस डे ला फुएन्टेको टोली ‘ग्रुप अफ डेथ’बाट उदाएको थियो। यो टोलीलाई प्रतियोगिताअघि कसैले यहाँसम्म पुग्छ भनेर कल्पना पनि गरेका थिएनन्। तर, यो टोलीले कल्पना गरेभन्दा कयौं गुणा उत्कृष्ट खेल प्रदर्शन गरेको छ। उसले प्रतियोगितामा सनसनी मच्चाएको जर्जिया, डिफेन्डिङ च्याम्पियन इटाली, आयोजक जर्मनी र युरो कपको प्रबल दाबेदार मानिएको फ्रान्सलाई पराजित गर्दै बर्लिनसम्मको यात्रा तय गरिसकेको छ।

आइतबार ओलम्पिया स्टेडियममा हुने फाइनल खेलमा स्पेनको कीर्तिमानी चौथो युरो कप उपाधि जित्ने लक्ष्य हुनेछ। आफ्नो खतरनाक दौडमा ‘फिनिसिङ पोइन्ट’ नजिक पुगिसकेको स्पेनिस टोली यति ढुक्क छ कि अब फाइनलमा इङ्ल्यान्ड र नेदरल्यान्ड्स जो परे पनि खासै फरक पर्ने छैन। सेमिफाइनलमा फ्रान्सलाई २–१ ले हराएपछि मुख्य प्रशिक्षक फुएन्टेले पत्रकारसँग भने, ‘म यी खेलाडीप्रति गर्व महसुस गर्छु। प्रयासबिना कुनै पनि उपलब्धि हासिल हुँदैन। मेरो टोलीमा युवा खेलाडी छन्, जसले हरेक दिन टोलीलाई नतिजा दिलाउन कठिन प्रयास गरेका छ्न्। उनीहरूले अझ बढी सुधार गर्न बाँकी छ र गरिरहेका पनि छन्। त्यसैले अब जुनसुकै टोली परे पनि हराउँछौं भन्नेमा ढुक्क छु।’

क्रोएसियालाई ३–०, डिफेन्डिङ च्याम्पियन इटालीलाई १–० र अल्बानियालाई १–० गोलअन्तरले पराजित गर्दै स्पेनले शीर्ष स्थानमा रहँदै समूहचरण पार गरेको थियो। नकआउट चरणमा पनि यो टोलीलाई विपक्षीले खासै चुनौती दिन सकेन। प्रतियोगितामा डेब्यु गरेको जर्जियाले सुरुआती अग्रता लिए पनि स्पेन ४–१ को पुनरागमन जित हासिल गर्न सफल भयो।

अतिरिक्त समयमा आयोजक जर्मनीलाई पराजित गर्दा स्पेनले खेलको ८९औं मिनेटमा बराबरी गोल फर्काएको थियो भने खेलको ११९औं मिनेटमा निर्णायक गोल गर्दै २–१ को जित निकालेको थियो। स्पेनले जारी प्रतियोगितामा यहाँसम्म पुग्दा धैर्यता देखाएको छ। फ्रान्सले खेलको नवौं मिनेटमा गोल गर्दै सुरुआती अग्रता लिए पनि स्पेनले चार मिनेटमा दुई गोल गर्दै पुनरागमन जित हासिल गरेको थियो। ‘हामी उत्कृष्ट फुटबल खेल्न सक्छौं भन्ने कुरा फ्रान्सविरुद्धको खेलबाट पनि देख्न सकिन्छ। यो टोली धेरै बहुप्रतिभाशाली छ, हामीसँग भएका खेलाडीहरूले जुनसुकै परिस्थितिमा पनि जित हासिल गर्न सक्छौं भन्ने कुरा सम्भव बनाएका छन्,’ उनले भने।

१७ वर्ष पुग्ने तरखरमा रहेका विंगर लामिन यमलले अपेक्षा गरेअनुसार नै प्रदर्शन गरेका छन्। क्याटलान क्लब बार्सिलोनाबाट खेल्दा नै उनलाई पूर्वखेलाडी तथा अर्जेन्टिनी कप्तान लिओनल मेसीको उत्तराधिकारी मानिएको थियो। त्यो कुरा उनले प्रतियोगितामा तीन गोलका लागि ‘एसिस्ट’ गर्दै प्रमाणित गरिसकेका छन्। यतिमात्रै होइन, फ्रान्सविरुद्ध गोल गर्दै उनी युरो कप इतिहासमा सबैभन्दा कम उमेरका गोलकर्ता बनेका छन्। यो खेलमा गोल गर्दा यमल १६ वर्ष ३६२ दिनमा पुगेका थिए। यसअघि सन् २००४ को युरो कपमा स्विट्जरल्यान्डका जोहान भोनलन्थेन (१८ वर्ष १४१ दिन)ले फ्रान्सविरुद्ध सबैभन्दा कम उमेरमा गोल गरेका थिए। समूहचरणमा क्रोएसियाविरुद्ध ३–० को जित हात पार्दा उनले स्पेनिस टोलीमा ‘डेब्यु’ गरेका हुन्। त्यति बेला उनको उमेर थियो, १६ वर्ष ३३८ दिन। यस क्रममा उनी युरो कप खेल्ने सबैभन्दा कान्छा खेलाडी पनि बनेका थिए। यति मात्र होइन, उक्त खेलमा गोलका लागि ‘एसिस्ट’ गर्ने कान्छा खेलाडीमा नाम लेखाए। इटालीविरुद्धको खेलमा पनि उनको प्रदर्शन उत्कृष्ट रह्यो। अल्बानियाविरुद्धको खेल भने उनले बेन्चबाट सुरु गरेका थिए। त्यसयता उनले टोलीमा स्थान बनाउन खासै संघर्ष गर्नुपरेको छैन।

ठूला टोलीविरुद्ध उनले जुझारु फुटबल खेलिरहेका छन्। पेरिस सेन्ट जर्मेन (पिएसजी) का फाबियन रुइज र चेल्सीका मार्क कुकुरेला दुवैले क्लबस्तरमा संघर्ष गरे पनि जर्मनीमा उत्कृष्ट प्रदर्शन गरेका छन्। डिफेन्डर आइमेरिक लापोर्टे अहिले क्लबस्तरमा साउदी अरबको अल नासारबाट खेलिरहेका छन्। तर, स्पेनिस डिफेन्स लाइनमा उनी चट्टानसरि उभिएका छन्। फ्रान्सविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमध्ये उनलाई एक मान्न सकिन्छ। उनले आफू जन्मिएकै देशविरुद्ध उत्रिएर खेलेका थिए। स्पेनले प्रतियोगिताको दौडान केही समस्या सामना गर्नुपरेको छैन। बराबरीको खेल कस्तो हुन्छ ? र पेनाल्टी सुटआउटमा दबाब कस्तो हुन्छ ? भन्ने अनुभव भोग्नुपरेको छैन। सबैभन्दा ठूलो कुरा त बलियो टिमसँग खेल्दा अतालिनु परेको छैन। त्यसैले फुएन्टे फाइनललाई लिएर यसरी ढुक्क हुनु स्वाभाविक हो।

‘जर्मनी र फ्रान्स उत्कृष्ट टोली हुन्। यी टोलीविरुद्ध हामीले उत्कृष्ट प्रदर्शन गरेका छौं। इङ्ल्यान्ड र नेदरल्यान्ड्स यीभन्दा अझै उत्कृष्ट टोली हुन्। तर, जति नै उत्कृष्ट भए पनि हामी उनीहरूलाई पराजित गर्न सक्षम छौं,’ उनले भने।

प्रकाशित: २७ असार २०८१ १०:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App