१८ असार २०८१ मंगलबार
image/svg+xml
खेल

युरो कप २०२४: अपराजित एक्लो टोलीलाई जर्जियाको चुनौती

अल्बानिया, साबिक विजेता इटाली र क्रोएसियालाई पराजित गर्दै अन्तिम १६ मा पुगेको स्पेन चौथोपल्ट युरो कप जित्ने लक्ष्यमा छ। तर, सोमबार उसले प्रतिस्पर्धा गर्ने विपक्षी टोली जर्जियाको भने यो प्रतियोगितामा कथा अलिक फरक छ।

फिफा विश्व वरीयतामा ७४औं स्थानमा रहेको टोली सन् १९९६ देखि युरो कप छनोट खेल्दै आएको थियो। तर, हरेकपल्ट असफलता हात पारेको जर्जिया डेब्यु प्रतियोगितामै दमदार प्रदर्शन गर्दै विश्व फुटबलका समर्थकको मन जित्न सफल भएको छ ।

जर्जियालाई समूह ‘एफ’ को सबैभन्दा कमजोर टोली मानिएको थियो। त्यो कुरा पहिलो खेलमा टर्कीविरुद्धको ३–१ गोलअन्तरको हारको नतिजाले नै स्पष्ट देखाउँथ्यो। तर, टर्कीसँग पराजित भएको जर्जिया दोस्रो खेलबाट भने लयमा फर्कियो। एक पटक युरो कप जितिसकेको र एक पटक उपविजेता बनिसकेको चेक रिपब्लिकलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको जर्जियाले समूहचरणको अन्तिम खेलमा सन् २०१६ को विजेता पोर्चुगललाई २–० ले पराजित गर्दै नकआउट चरणसम्मको स्थान बनाउन सफल भयो।

आफ्नो समूहमा तेस्रो स्थानमा रहेर नकआउट चरणमा पुगे पनि आफू कमजोर नरहेको देखाएको जर्जियाले सन् २००६ को विश्वकप उपविजेता खेलाडी विली साग्नोलको प्रशिक्षण पाएको छ। क्लब करिअरमा मोनाको र बायर्न म्युनिखबाट मात्रै खेलेका उनी आफैंमा सफल खेलाडी हुन्।

मोनाकोलाई एक पटक लिग जिताएका उनले बायर्नबाट सबैथोक जितेका छन्। सन् २००० देखि २००७ सम्म बुन्डेसालिगा जितेका उनले जर्मन कप, जर्मन लिग कप, इन्टरकन्टिनेन्टल कप र च्याम्पियन्स लिगसँगै युरो कपका पाँच शीर्ष उपाधि उचालेको उनीसँग गर्विलो इतिहास रहेको छ। त्यसैले खेलाडी जीवनमा हासिल गरेको यो सफलतालाई यस पटक प्रशिक्षकको भूमिकामा दोहो¥याउने आशा उनीबाट गर्न सकिन्छ ।

गत संस्करणको युरो कपको सेमिफाइनलमा इटालीसँग स्पेन पेनाल्टीमा पराजित भएको थियो। निर्धारित र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवै टोलीबाट १–१ गोल भएपछि छिनोफानो पेनाल्टी सुटआउटबाट गरिएको थियो।

उक्त पेनाल्टी सुटआउटमा नायक बन्दिए इटालीका गोलरक्षक जियानलुइगी डोनारुम्मा। अल्भारो मोराटा र ड्यानी ओल्मोको प्रहार बचाउँदै उनले इटालीलाई फाइनलमा पुर्‍याए भने स्पेनलाई घर। तर, यस पटक ‘ग्रुप अफ डेथ’ बाट शीर्ष स्थानमा रहँदै नकआउट चरणमा प्रवेश गरेको स्पेन अहिलेसम्मकै प्रभावशाली टोलीमध्ये एक देखिएको छ। यस टोली समूहचरणमा कुनै गोल नखाई सर्वाधिक नौ अंक बटुल्न सफल भएको थियो। सन् २०१२ मा स्पेनले लगातार दोस्रो पटक युरो कप जितेको थियो र यसबीचमा विश्वकप पनि जित्न सफल भयो। युवा र अनुभवी खेलाडीको मिश्रण रहेको टोली यस पटक भने पुरानै लयमा फर्किने संकेत देखाएको छ।

‘हेड टु हेड’

स्पेनले यस प्रतियोगिताको छनोट चरणमा दुई पटक जर्जियाको सामना गरेको थियो। नोभेम्बर २०२३ मा भएको दुवै खेलमा स्पेन विजयी भएको थियो। पहिलो लेगमा घरेलु मैदानमै जर्जिया ७–१ गोलअन्तरले पराजित भएको थियो। अर्को लेगमा पनि स्पेन ३–१ ले विजयी भयो।

पहिलो लेगमा स्पेनका अल्भारो मोराटाले ह्याट्रिक गरे भने  १६ वर्षीय लामिन यामाल गोल गर्ने सबैभन्दा कान्छा खेलाडी बनेका थिए। विंगर यामालले सेप्टेम्बरमा मात्र स्पेनिस टोलीमा डेब्यु गरेका हुन्। तर, छोटो समयमै उनी टोलीका मुख्य खेलाडी बनिसकेका छन्।

गत सिजन क्याटलान क्लब बार्सिलोनामा डेब्यु गरेका उनले ला लिगाका ३७ खेलमा पाँच गोल गरेका थिए। खेल्ने शैलीका कारण उनलाई बार्सिलोनाका पूर्वआइकन लिओनल मेसीसँग पनि तुलना गर्ने गरिन्छ ।

सन् २०१६ मा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा स्पेनलाई १–० गोलअन्तरले पराजित गर्नु नै जर्जियाको सबैभन्दा ठूलो उपलब्धि हो। त्यसअघि सन् २०१२ मा पहिलोपल्ट भेट्दा स्पेनले  

१–० गोलअन्तरको जित हात पारेको थियो। सबैखाले प्रतियोगितामा यी दुई टोलीबीच सात पटक मात्र भेट भएको छ। ती भेटमा जर्जियामाथि स्पेन हाबी छ। स्पेनले अल्बानियाविरुद्धको समूहचरणको अन्तिम खेलमा आफ्नो टोलीमा पूरै परिवर्तन गरेको थियो भने इटालीविरुद्धको जितपछि एमेरिक लापोर्टेले आफ्नो स्थान टोलीमा सुरक्षित गरेका छन्।

टोली अहिलेसम्म प्रत्येक खेलमा ‘क्लिन सिट’ राख्न सफल भएको छ। त्यसैले मुख्य प्रशिक्षक लुइस डे ला फुएन्टेलाई डिफेन्स ‘लाइन’ टाउको दुखाइको विषय हुनेछैन। म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्री एक खेलको प्रतिबन्धबाट फर्किएका छन्।

बार्सिलोनाका युवा खेलाडी पेड्री र पेरिस सेन्ट जर्मेन (पिएसजी)का खेलाडी फाबियन रुइज टोलीमा फर्किने अपेक्षा गरिएको छ। १० वर्षअघि डेब्यु गरेका मोराटाले स्पेनका लागि ७६ खेलमा ३६ गोल गरिसकेका छन्। ४–३–३ को ‘फर्मेसन’ मा खेलिरहेको स्पेनले पहिलो नकआउट खेलमा पनि यही रणनीतिलाई आत्मसात् गर्ने सम्भावना उच्च रहेको छ। जर्जियाले यस खेलमा एक खेलाडी गुमाउनेछ।

समूहचरणको अन्तिम खेलमा पोर्चुगलविरुद्ध अन्जोर मेकवाबिश्विलीले प्रतियोगिताको दोस्रो पहेंलो कार्ड बेहोर्दा एक खेलको प्रतिबन्ध लागेको छ। ५–३–२ ‘फर्मेसन’ मा मैदान उत्रिने गरेको जर्जियाका लागि जर्ज मिकाउट्जेले तीन गोल गरेका छन् र अहिलेसम्म गोल स्कोरिङ चार्टको शीर्ष स्थानमा उनी नै छन्। ख्भिचा क्वार्तसखेलियासँग उनको जुगलबन्दी विपक्षी डिफेन्सलाई रोक्न गाह्रो साबित भइरहेको छ। क्वर्तसखेलियाले नापोलीलाई ३३ वर्षपछि पहिलो पटक सिरी ‘ए’ को उपाधि जिताउन महत्त्वपूर्ण भूमिका खेलेका थिए। लिगमा १२ गोल गरेका उनले  १० गोल गर्न सहयोगी भूमिका निर्वाह गरे। पोर्चुगिज भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई आइडल मान्दै आएका क्वार्तसखेलियाले जर्जियाबाट  सन् २०१९ मा डेब्यु गरेयता ३३ खेलमा १६ गोल गरिसकेका छन्।

प्रकाशित: १६ असार २०८१ ०६:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App