१९ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

जुम्ला-रारा अल्ट्रा म्याराथन सुरु

जुम्ला–रारा अल्ट्रा म्याराथनकाे उद्घाटनपछि कार्यक्रमलाई सम्बोधन गर्दै युवा तथा खेलकुदमन्त्री श्रेष्ठ। तस्बिर : नागरिक।

जुम्ला रारा अल्ट्रा म्याराथन २०८१ सुरु भएको छ। संघीय युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले आज बिहान म्याराथनको उद्घाटन गरेका हुन्। मन्त्री विराजभक्त श्रेष्ठले पाँचौं संस्करणको जुम्ला रारा अल्ट्रा म्याराथन राष्ट्रिय खेलकुद परिषद्को क्यालेन्डरमा वार्षिक कार्यक्रममा समेटिने बताए।

जुम्ला लगायतका कर्णालीको खेलकुद क्षेत्रमा सहयोग पुग्ने छ। मन्त्री श्रेष्ठले भने, खेलकुद क्षेत्रमार्फत कर्णालीको पर्यटन प्रवर्द्धनका लागि म्याराथन आयोजना गरिएको हो।

विश्व कीर्तिमानी धावक हरिबहादुर रोकायाको संरक्षकत्वमा स्थापित कर्णाली स्पोर्ट्स क्लब जुम्लाले आयोजना गरेको म्याराथनमा नेपालसहित फ्रान्स, डेनमार्ग, लन्डन लगायतका देशका खेलाडीसहित ४९ किलोमिटर दौडमा ५४ जनाले भाग लिएका छन्।

कर्णालीको प्रसिद्ध चन्दननाथ भैरवनाथ मन्दिरनजिकैबाट म्याराथन सुरु भएको हो। समुद्री सतहबाट दुई हजार तीन सय मिटरको उचाइमा रहेको जुम्ला सदरमुकाम खलंगाबाट सुरु हुने म्याराथन तीन हजार तीन सय मिटरको उचाइमा रहेको डाँफे लेक, चार हजार एक सय मिटरको उचाइमा रहेको चुच्चेमारा लेक हुँदै दुई हजार आठ सय ९० मिटरको उचाइमा रहेको रारा तालछेउमा पुगेर सकिने छ।

जुम्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रूपमा स्थापित गर्ने उद्देश्यले जुम्लामा निरन्तर जुम्ला रारा अल्ट्रा म्याराथन भइरहेको छ। यो वर्ष पाँचौं संस्करणको म्याराथन हो। २०७५ सालमा पहिलो म्याराथन आयोजना गरिएको थियो।

एक वर्षको फरकमा जुम्ला–रारा अल्ट्रा म्याराथन हुँदै आएको छ। ‘यो म्याराथनले कर्णालीका खेलाडीलाई प्रोत्साहित गरिरहेको छ’, कर्णाली खेलकुद क्लब जुम्लाका अध्यक्ष सरोज शाहीले बताए।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई कर्णाली भूमिमा आएर खेल प्रदर्शन गर्ने अवसर प्रदान गरेको उनको भनाइ छ। ‘यो कर्णाली चिनाउने एक राम्रो माध्यम हो’, उनले भने।

म्याराथनमा प्रथम हुनेले एक लाख नगद, स्वर्ण पदक र प्रमाण पत्र पाउने छ। द्वितीय स्थान हासिल गर्नेले ७५ हजार, स्वर्ण पदक र प्रमाण पत्र, तेस्रो स्थान हासिल गर्ने धावकले ५० हजार, स्वर्ण पदक र प्रमाण पत्र र  चौथो र पाँचौं हुनेले २०/२० हजार नगद र मेडल तथा प्रमाणपत्र पाउनेछन्।

जुम्लादेखि रारा तालसम्म पाँचवटा चेक प्वाइन्ट रहेका छन्। म्याराथनको सुरुवाती प्वाइन्ट खलंगा बजार रहेको छ। क्रमश: डाँफे लेक, न्यौरीघाट, चौथा, डाब, चुचेमारा, मिलिचौर हुँदै रारातालसम्मको रुट तय भएको छ।

म्याराथन सुरु हुनुपूर्व जुम्लामा पञ्चेबाजा र हुड्के नाच देखाइएको थियो। धावक हरिबहादुर रोकायाले कर्णाली खेलकुदको पर्याप्त सम्भावना बोकेको क्षेत्र भएको बताउँदै कर्णालीको खेल क्षेत्र प्रवर्द्धनका लागि कर्णाली सरकार गम्भीर हुनुपर्ने बताए।

यहाँ म्याराथनसँगै पाँच किमि र एक किमि दौड प्रतियोगिता आयोजना गरिएको छ। त्यसमा दुई सय ६० जनाभन्दा बढीले भाग लिएका छन्। म्याराथन पूर्व म्याराथनको रुटबारे प्रशिक्षण दिँदै खेलाडीको स्वास्थ्य जाँच समेत गरिएको थियो।

प्रकाशित: १ वैशाख २०८१ १२:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App